विश्वकपको अनधिकृत लाइभ स्ट्रिमिङ रोक्न ३५ वेबसाइट तथा एपमाथि प्रतिबन्ध

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरू अनधिकृत रूपमा लाइभ स्ट्रिमिङ हुन सक्ने भन्दै ३५ वटा वेबसाइट तथा मोबाइल एपमाथि प्रतिबन्ध लगाएको छ । प्राधिकरणले देशभरका सबै इन्टरनेट सेवा प्रदायक तथा मोबाइल सेवा प्रदायकलाई ती प्लेटफर्महरू तत्काल ब्लक गर्न निर्देशन दिएको छ । सूचना तथा सञ्चार मन्त्रालयको पत्रका आधारमा जारी गरिएको निर्देशनअनुसार यी वेबसाइट तथा एपहरूले आधिकारिक प्रसारण अधिकारबिना विश्वकपका खेलहरू नेपालभित्र निःशुल्क वा अवैध रूपमा प्रसारण गर्ने तयारी गरिरहेको आशंका गरिएको छ । त्यसलाई रोक्न र बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्न यो कदम चालिएको प्राधिकरणले जनाएको छ ।
नेपालका लागि विश्वकप फुटबलको आधिकारिक प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क (हिमालय स्पोट्र्स) र डिसहोम डिजिटल प्रालि (डिगो–डिसहोम गो) को संयुक्त उपक्रम एचटिभी–डिजिओ ब्रोडकास्टिङ कन्सोर्टियम जेभीले प्राप्त गरेको छ । आधिकारिक प्रसारण अधिकार सुरक्षित गर्न तथा पाइरेसी नियन्त्रण गर्न सरकारी निकायहरू सक्रिय बनेका हुन् । प्राधिकरणका अनुसार अनधिकृत स्ट्रिमिङ वेबसाइटहरूले प्रसारण अधिकार उल्लंघन मात्र नभई आधिकारिक ब्रोडकास्टरको व्यावसायिक हितमा समेत नकारात्मक असर पार्ने देखिएको छ ।

त्यसैले इन्टरनेट सेवा प्रदायकहरूलाई ती साइटहरू ब्लक गर्न कडाइका साथ निर्देशन दिइएको हो । प्राधिकरणले चेतावनी दिँदै यदि सेवा प्रदायकहरूले तोकिएका वेबसाइट तथा एपहरू ब्लक नगरे कानुनी कारबाही हुने जनाएको छ । साथै, यस्तो किसिमको पाइरेटेड सामग्री वितरण वा पहुँच प्रदान गर्नु कानुनअनुसार दण्डनीय हुने पनि स्पष्ट गरिएको छ । यस कदमसँगै नेपालमा विश्वकप २०२६ को प्रसारण अधिकार संरक्षण र डिजिटल पाइरेसी नियन्त्रणमा थप कडाइ हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया