प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेलाई सारियो

काठमाडौं । प्रतिनिधिसभाको बैठक आजै दिउँसो २ बजेलाई सारिएको छ । बिहान ११ बजेका लागि निर्धारित बैठक दुई घण्टासम्म चल्न नसकेपछि बैठक बस्ने समय परिवर्तन भएको हो ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (२) बमोजिम प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे बस्ने गरी निर्धारण गरेको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।

यसअघिका बैठकमा प्रतिपक्षी दलका सांसदहरूले विरोध गर्दै आएका कारण सहमतिका लागि प्रयास जारी रहेकाले बैठक सञ्चालनमा विलम्ब भएको हो ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुख अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद गरेर अवरोध खुलाउन सहमतिको प्रयास गर्दै आएका छन् ।

विपक्षी दलले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिमा प्रश्न उठाउँदै त्यसबारे उनले नै सदनमा आएर स्पष्ट पार्नुपर्ने र विवादित अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने माग गर्दै आएका छन् । प्रतिनिधिसभाको यही जेठ १७ गतेको बैठकमा सांसदको प्रश्नको जवाफका क्रममा प्रधानमन्त्री शाहले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया