रास्वपा मुगुको सभापतिमा बिर्खबहादुर मल्ल

मुगु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । मंगलबार सम्पन्न निर्वाचन प्रक्रियामार्फत सभापति पदमा बिर्खबहादुर मल्ल विजयी भएका छन् ।

निर्वाचन समितिका संयोजक सुशील कुमार भामका अनुसार मल्लले ४३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी मनोज कुमार शाहीले ६ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपसभापति पदमा राजेन्द्र शाही ३५ मतसहित निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी विजय कुमार मल्लले १३ मत प्राप्त गरेका छन् । सचिव पदमा रामु विक २५ मतसहित विजयी हुँदा नन्दबहादुर मल्लले २१ मत प्राप्त गरेका छन् ।

सदस्य पदतर्फ जयधर्म जैसी ३९ मत, गोर्खबहादुर कुमाई ३० मत र लालचन्द्र रोकाया ३० मतसहित निर्वाचित भएका छन् । सदस्य पदका अर्का उम्मेदवार खडकबहादुर शाहीले २९ मत प्राप्त गरेका थिए ।

रास्वपा मुगुको प्रथम जिल्ला अधिवेशनमा दुई दिनसम्म नेतृत्व चयनका लागि सहमतिको प्रयास भए पनि सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गरिएको पार्टीले जनाएको छ ।

नवनिर्वाचित नेतृत्वले जिल्लामा पार्टी संगठन विस्तार, सुदृढीकरण तथा जनतासँगको सम्बन्धलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया