
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी तथा धर्मान्तरणलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा बोल्दै सांसद ज्ञानु पौडेलले भारतबाट उद्धार गरिएका ४५३ नेपाली नागरिकको विषय उठाउँदै मानव तस्करीको जालोमा नेपाली युवायुवतीहरू फसिरहेको बताइन् । उनले भारतका विभिन्न स्थानबाट ४० जिल्लाका ४५३ नेपालीको सफल उद्धार गरी नेपाल ल्याइएको र हाल घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिइन् ।
‘नेपाली नागरिकलाई विभिन्न प्रलोभनमा पारेर भारत लैजाने, ‘नेटवर्किङ’ व्यवसायमा संलग्न गराउने तथा शारीरिक र मानसिक यातना दिने कार्य भइरहेको छ’, उनले भनिन् । उद्धार कार्य सफलतापूर्वक सम्पन्न गरेकोमा उहाँले सरकारलाई धन्यवाद दिँदै मानव तस्करीमा संलग्न गिरोहविरुद्ध कडा कारबाही गर्न माग गरिन् ।
सांसद बलावती शर्माले महिलामाथि हुने हिंसाका घटना बढ्दै गएको भन्दै त्यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरिन् । उनले हिंसापीडित महिलाहरू प्रहरीमा उजुरी दिनसमेत डराउने अवस्था रहेको र उजुरी दिएपछि पनि अपेक्षित सुनुवाइ नहुने समस्या विद्यमान रहेको बताइन् ।
केही दिनअघि काठमाडौंमै ‘नेपाली ब्रो’ भनिने कुमार थापा मगरले आफ्नै शीमती ईश्वरी भुजेललाई धारीलो हतियार प्रयोग गरी निर्मम ढंगले हत्या गरेकोप्रति उनले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
त्यस्तै सांसद आरेन राईले इजरायल केयरगिभरको परीक्षा स्थगित हुँदा हजारौँ परीक्षार्थी अन्योलमा परेको बताए । उनले परीक्षासम्बन्धी अन्योल चाँडै अन्त्य गरी परीक्षार्थीको भविष्यप्रति संवेदनशील हुन सरकारसँग आग्रह गरे ।
सांसद खुश्बु ओलीले कसैलाई पनि जबर्जस्ती धर्मान्तरण गराउने कार्य स्वीकार्य नहुने बताइन् । उनले नेपालको संविधान र कानुनले व्यवस्था गरेको धार्मिक स्वतन्त्रताको सम्मान गर्दै बलपूर्वक वा प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने गतिविधि रोक्न सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरिन् ।
प्रतिक्रिया