र्‍याप गाएकै शैलीमा सदनमा उपस्थित हुँदा प्रधानमन्त्रीको गरिमा ध्वस्त भयो : नेता भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिले पदको गरिमा कमजोर बनाएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर रोष्ट्रमबाट सम्बोधन गर्दै उनले प्रधानमन्त्री शाहले जेठ १७ गते संसदमा ‘र्‍याप शैली’ मा जवाफ प्रस्तुत भएको टिप्पणी गर्दै संसद्को रोस्ट्रम र्‍याप ब्याटलको मञ्च नभएको बताए ।

उनले प्रधानमन्त्रीको शैलीप्रति आफू प्रशंसक भए पनि संसद्मा व्यक्त गरिएका भनाइले प्रधानमन्त्रीको गरिमामाथि नै प्रश्न उठाएको जिकिर गरे । उनले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको प्रभावबारे हेक्का नराखेको आरोप समेत लगाए । जेठ १७ गते प्रधानमन्त्रीको सदनमा उपस्थित प्रधानमन्त्रीको एकलौटी र एकपन भएको आङ्देम्बेको भनाइ थियो ।

नेता आङ्देम्बे आफूहरूले त्यसबेला प्रधानमन्त्री चिप्लिएको महसुस गरे पनि साँच्चिकै शंकास्पद ढंगले अभिव्यक्ति दिएको आरोप लगाए । आङ्देम्बेले संसदमा आएर प्रधानमन्त्रीले त्यो कुरा फिर्ता लिनुपर्ने माग समेत गरे । साथै, नेता आङ्देम्बेले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकाले त्यसलाई फिर्ता ल्याउने विषयमा नेपाल सरकारको स्पष्ट धारणा आउनुपर्ने बताए ।

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १७ गते संसदमा प्रश्नोत्तरका क्रममा राखेको अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्ट पारेपछि नेता आङ्देम्बेले नेपालको मिचिएको भूमि फिर्ता ल्याउन कूटनीतिक पहल गर्नुपर्ने बताएका हुन् ।

आङ्देम्बेले सरकारले गरेका राम्रा काममा विपक्षीको साथ रहने तर देशको भूमिका विषयमा अस्पष्ट जवाफ दिने प्रवृत्ति गलत भएको बताए । कांग्रेसले राष्ट्रिय स्वाभिमान र संकटका समयमा पार्टीको लाभ हानी नहेरी देशको लाभ हानी हेरेर निर्णय गर्दै आएको स्मरण गर्दै अहिले सरकारका सवालमा पनि त्यही नीति लागु हुने स्पष्ट पारे ।

प्रतिक्रिया