
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको कर कट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले ग्राहकहरूले बैंकको वेब पोर्टल वा मोबाइल बैंकिङ एपमा रहेको प्यान अद्यावधिक गर्ने विकल्पमा थिचेर आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्ने छन् ।
साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नका लागि आवेदन दिन सक्ने प्रबन्ध मिलाइएको छ । यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई विद्युतीय माध्यमबाट कर कट्टी गरिएको विवरण (ई–टीडीएस) अभिलेखमा जनाउनका लागि प्यान अत्यावश्यक रहेको छ ।
उक्त प्यान अद्यावधिक भएपश्चात निजहरूको कर कट्टीको विवरण सो प्यानमा प्रविष्टि गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा कर कट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहक महानुभावहरूलाई कर कट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य हुने बैंकले विश्वास लिएको छ ।
ग्राहकहरुले प्यान अद्यावधिक नगराएका कारणले ई–टीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने व्यहोरा समेत बैंक सम्पूर्ण ग्राहकहरूमा जानकारी गराउँदछ । साथै, यस बैंक ग्राहकहरूलाई आफ्नो खातामा इमेल ठेगाना समेत अद्यावधिक गर्न अनुरोध गरेको छ ।
बैंकका ग्राहकहरूले आफ्नो खातामा बैंकको भिडियो ग्राहक पहिचान (भिडियो केवाईसी) को आधिकारिक लिंक वा मोबाइल बैंकिङ एपमा रहेको ‘मेरो प्रोफाइल’ मा थिचेर इमेल परिवर्तन’ गर्ने विकल्प छनोट गरी आफ्नो इमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न सक्ने छन् ।
ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा इमेल ठेगाना अद्यावधिक गर्नका लागि आवेदन दिन सक्ने प्रबन्ध मिलाइएको छ । यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि कर कट्टीको विवरण समावेश नभएको वा इमेल ठेगाना अद्यावधिक नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन अनुरोध गरेको छ ।
प्रतिक्रिया