
काठमाडौँ । नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स)ले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो १ महिना अर्थात चालु आर्थिक वर्ष २०८२÷८३ को वैशाख महिनामा साढे २ खर्ब भन्दा बढी (रेमिट्यान्स नेपाल भित्रिएको हो । मासिक तथ्यांक हेर्दा यो रकम हालसम्मकै उच्च हो । यो वैशाख महिनामा २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्ष २०८१÷८२ को वैशाख महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रहेको थियो । चालु आवको वैशाख महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाखसम्म)मा १९ खर्ब १६ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्षको वैशाखको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ४१.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
गएको १० महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ३५ हजार ५ सय १० र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख २६ हजार ३ सय ६४ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५ हजार ६१० र २ लाख ८० हजार ३१४ रहेको थियो ।
३७ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो १० महिना (साउनदेखि वैशाखमसान्त)मा कुल विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले बढेर ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा सञ्चिति २४ प्रतिशतले बढेर २४ अर्ब १९ करोड डलर पुगेको छ । राष्ट्र बैंकका अनुसार हालको विदेशी मुद्रा सञ्चिति २२.६ महिनाको वस्तु आयात तथा १९.२ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त छ ।
सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग रहेको विदेशी मुद्रा ३२ खर्ब ९८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ भने बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति ४ खर्ब ६ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । कुल सञ्चितिमा भारतीय मुद्राको हिस्सा २०.६ प्रतिशत रहेको छ ।
शोधनान्तर स्थितिमा उल्लेख्य रूपमा
अर्को महत्वपूर्ण सूचक शोधनान्तर स्थिति पनि उल्लेख्य रूपमा सुधारिएको छ । समीक्षा अवधिमा शोधनान्तर बचत ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँ थियो। अमेरिकी डलरमा शोधनान्तर बचत ५ अर्ब ९८ करोड डलर पुगेको छ ।
त्यस्तै चालु खाता बचत पनि ७ खर्ब २९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता बचत २ खर्ब ७२ अर्ब ५३ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा चालु खाता बचत ५ अर्ब ५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
एफडीआई पनि बढ्यो
समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) पनि बढेको छ । इक्विटीतर्फको प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १० अर्ब ५८ करोड रुपैयाँभन्दा उल्लेख्य बढी हो ।
बढ्यो महँगी
२०८३ को वैशाख महिनामा महँगी बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८३ को वैशाख महिनामा महँगी बढेर ५.०४ प्रतिशत कायम भएको हो । २०८२ को सोही महिनामा मुद्रास्फीति २.७७ प्रतिशत रहेको थियो ।
वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.६३ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः १.५२ प्रतिशत र ३.४५ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२÷८३ को दश महिनाकोऔसत मुद्रास्फीति २.६६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.३९ प्रतिशत रहेको थियो । २०८३ वैशाखमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १८.६० प्रतिशत, घ्यू तथा तेलको १३.९९ प्रतिशत, तरकारीको ५.४० प्रतिशत र माछा तथा मासुको ४.१६ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.६७ प्रतिशत र मरमसलाको ०.६५ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १९.९० प्रतिशत, यातायातको १५.३० प्रतिशत, शिक्षाको ५.५४ प्रतिशत, मदिराजन्य पेय पदार्थको ४.७७ प्रतिशत र कपडा तथा जुत्ताचप्पलको ४.७३ प्रतिशतले बढेको छ ।
साढे ७९ खर्ब पुग्यो बैंकहरूमा निक्षेप
बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप परिचालन र निजी क्षेत्रमा प्रवाहित कर्जा दुवै बढेको देखिएको छ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप उल्लेख्य रूपमा बढेको हो ।
१० महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.४ प्रतिशत (६ खर्ब ८५ अर्ब ४१ करोड)ले वृद्धि भई करिब ७९ खर्ब ४९ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा निक्षेप वृद्धि ६.२ प्रतिशत मात्र थियो ।
यस अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशत (३ खर्ब १२ अर्ब) ले वृद्धि भई ५८ खर्ब ९ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा कर्जा विस्तार ७.३ प्रतिशत थियो ।
प्रतिक्रिया