
काठमाडौँ । विभिन्न औद्योगिक क्षेत्रमा सञ्चालित ६३५ उद्योगले वर्षौंदेखि राज्यलाई तिर्नुपर्ने १ अर्बभन्दा बढी रकम नतिरेको पाइएको छ । औद्योगिक क्षेत्रमा सञ्चालनमा उद्योगहरूले जग्गा, भवन, विद्युत् र पानी प्रयोग गरेबापतको महसुल वर्षौंदेखि नतिरेको पाइएको हो । यसरी बक्यौता नतिर्नेमा निजी क्षेत्रका उद्योगमात्रै नभई सरकारी स्वामित्वकै आयोजना र सञ्चारगृहसमेत छन् । जग्गा, भवन, विद्युत् र पानीलगायत सेवा प्रयोग गरेबापत सरकारलाई नियमित बुझाउनुपर्ने महसुल वर्षौंदेखि नबुझाएको भन्दै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले २५ जेठमा सूचना जारी गर्दै ७ दिनभित्र बक्यौता तिर्न भनेको छ ।
व्यवस्थापनले सार्वजनिक गरेको विवरणअनुसार नेपालका प्रमुख ९ वटा औद्योगिक क्षेत्रका उद्योगसहित अन्य केहीको रकम तिर्न बाँकी छ । यसअन्तर्गत पाटन औद्योगिक क्षेत्रका ९४ वटा उद्योग र फर्मले १० करोड ९० लाख ४८ हजार रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी छ । त्यस्तै, बालाजु औद्योगिक क्षेत्रका १५१ उद्योगले ४३ करोड ९८ लाख ६७ हजार, हेटौँडा औद्योगिक क्षेत्रका १३१ उद्योगले २० करोड ९० लाख ३१ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।
पोखरा औद्योगिक क्षेत्रका ७१ उद्योगको ४ करोड ४१ लाख, बुटवल औद्योगिक क्षेत्रका ५८ उद्योगको ४ करोड ५७ लाख ८५ हजार, नेपालगन्ज औद्योगिक क्षेत्रका १६ उद्योगको १ करोड ३४ लाख २५ हजार, वीरेन्द्रनगर औद्योगिक क्षेत्रका २७ उद्योगको ६ लाख ६२ हजार, भक्तपुर औद्योगिक क्षेत्रका ३१ उद्योगको १ करोड ७१ लाख ६८ हजार र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रका २० उद्योगको ६३ लाख ३२ हजार रुपैयाँ बक्यौता छ । औद्योगिक क्षेत्रको नाम उल्लेख नभएका ३६ उद्योगले ७१ लाख ३१ हजार ६३९ रुपैयाँ तिर्न बाँकी छ ।
नाम चलेकै कम्पनीको धेरै बक्यौता
सार्वजनिक विवरणअनुसार बालाजु औद्योगिक क्षेत्रमा सञ्चालित नेपालकै नाम चलेका बहुराष्ट्रिय कम्पनी तथा ठुला व्यापारिक घराना नै सबैभन्दा बढी बक्यौता राख्ने सूचीमा छन् । करोडौँ रुपैयाँ सरकारी बक्यौता नतिर्ने प्रमुख उद्योगमा गुराँस इन्जिनियर्स प्रालिको ३ करोड ७३ लाख १९ हजार, कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रालिको ३ करोड ६९ लाख १० हजार र बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेकको २ करोड ५५ लाख ८६ हजार बक्यौता छ । त्यस्तै, बोटलर्स नेपाल लिमिटेड (कोकाकोला) को जग्गा तथा पूर्वाधार बहाल १ करोड ७५ लाख, बालाजु अटो वक्र्स प्रालिको १ करोड ४५ लाख, नेपाल ग्यास उद्योगको १ करोड ३१ लाख र कन्टिनेन्ट सर्भिसेज प्रालिको १ करोड बक्यौता छ । पाटन औद्योगिक क्षेत्रमा रहेको एग्रो थाई फुड्स प्रालिको ९ करोड ८४ लाख ३१ हजार, आन्तरिक राजस्व कार्यालयको १ करोड ६९ लाख र शान्ति फुड्स प्रालिको १ करोड ४६ लाख बक्यौता छ ।
त्यस्तै, १ करोडभन्दा बढी बक्यौता रहेका उद्योगहरूमा बुटवल औद्योगिक क्षेत्रको बुटवल धागो कारखानाको ३ करोड ९२ हजार ७० हजार, हेटौँडा औद्योगिक क्षेत्रको पशुपति पेलेट फिड प्रालिको ३ करोड ७५ लाख र गोर्खा लाहारी प्रालिको ३ करोड २० लाख रुपैयाँ बक्यौता छ । भक्तपुर औद्योगिक क्षेत्रको कृति टेक्टसाइल्सको २ करोड ८६ लाख, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको कृष्ण खाद्य उद्योगको १ करोड २२ लाख, पोखरा औद्योगिक क्षेत्रको मदन ल्यान्ड एग्रिकल्चरको १ करोड २१ लाख बक्यौता छ ।
उद्योगहरूले नियमित रूपमा जग्गा तथा भवनको बहाल र बिजुली तथा पानीको महसुल नबुझाउँदा औद्योगिक क्षेत्रमा नयाँ पूर्वाधार निर्माण गर्न, पुराना संरचना मर्मतसम्भार गर्न र साना उद्योगलाई सेवा दिन गम्भीर आर्थिक संकट परेको लिमिटेडले जनाएको छ । पटक–पटक ताकेता गर्दा पनि उद्योगीहरूले अटेर गरेपछि सार्वजनिक रूपमा नाम सार्वजनिक गर्नुपरेको लिमिटेडले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लामो समयदेखि जग्गा, भवन तथा पूर्वाधार प्रयोग गरे पनि भाडा र सेवा शुल्क नतिर्ने उद्योगहरूलाई ७ दिनभित्र बक्यौता रकम बुझाउन निर्देशन दिएको थियो ।
‘मौन संरक्षण’ अन्त्य गर्ने मन्त्रीको अडान
यसअघिका सरकारहरूले औद्योगिक प्रवद्र्धन र आर्थिक मन्दीको बहाना बनाउँदै ठुला घरानालाई करोडौँ छुट दिने वा ताकेता नगर्ने प्रवृत्तिका कारण बक्यौता धेरै पुगेको बताइएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले भनिन्, ‘यो पटक विगतको जस्तो पत्र काटेर मात्र छोडिनेछैन । ७ दिनभित्र बैंक भौचरसहित उपस्थित नहुने उद्योगको लाइन काटेर उद्योग परिसर सिल गरिनेछ । अटेर गरेमा सञ्चालकहरूविरुद्ध सीधै वारेन्ट जारी गरी राज्यको सम्पत्ति असुली प्रक्रिया अघि बढाइनेछ ।’
कहाँका उद्योगको कति बक्यौता ?
बालाजु औद्योगिक क्षेत्रः १५१ उद्योगको ४३,९८,६७,५५५
हेटौँडा औद्योगिक क्षेत्र : १३१ उद्योगको २०,९०,३१,७०३
पाटन औद्योगिक क्षेत्र : ९४ उद्योगको १०,१०,४८,९७७
बुटवल औद्योगिक क्षेत्र : ५८ उद्योगको ४,५७,८५,५६२
पोखरा औद्योगिक क्षेत्र : ७१ उद्योगको ४,४१,१९,८७२
भक्तपुर औद्योगिक क्षेत्र : ३१ उद्योगको १,७१,६८,८४५
नेपालगन्ज औद्योगिक क्षेत्र : १६ उद्योगको १,३४,२५,४७६
गजेन्द्रनारायणसिंह औद्योगिक क्षेत्र : २० उद्योगको ६३,३२,८५०
वीरेन्द्रनगर औद्योगिक क्षेत्र : २७ उद्योगको ६,६२,०७३
अन्य क्षेत्र : ३६ उद्योगको ७१,३१,६३९
प्रतिक्रिया