ज्योति विकास बैंकद्वारा बेबी वार्मर मेसिन प्रदान

काठमाडौँ । ज्योति विकास बैंकले ग्रामीण तथा दुर्गम क्षेत्रका ११ वटा स्वास्थ्य केन्द्रहरूलाई बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको हो ।

नवजात शिशुहरूको शारीरिक तापक्रम उचित राखी हाइपोथर्मिया (अल्पताप) को जोखिम न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने यी जीवनरक्षक उपकरणहरू आधारभूत स्वास्थ्य सेवा तथा आवश्यक चिकित्सा पूर्वाधारको अभाव रहेका क्षेत्रहरूलाई विशेष प्राथमिकतामा राखी वितरण गरिएको हो । सुरक्षित प्रसूति सेवाको पहुँच दुर्गम क्षेत्रमा पनि सुनिश्चित गर्ने उद्देश्यले बैंकले आफ्नो शाखा नभएका स्थानहरूमा समेत यस्ता अत्यावश्यक स्वास्थ्य उपकरणहरू उपलब्ध गराउँदै आएको छ ।

विशेषगरी आधारभूत स्वास्थ्य सेवा सीमित रहेका, अस्पताल तथा विशेषज्ञ स्वास्थ्य सेवा सहज पहुँचमा नरहेका तथा नवजात शिशुहरूलाई आवश्यक उपचार सुविधा अभाव भएका स्थानहरूलाई प्राथमिकतामा राखी सहयोग गरिएको हो । उपकरण हस्तान्तरण कार्यक्रममा सम्बन्धित स्वास्थ्य चौकीका पदाधिकारीहरू तथा सम्बन्धित क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो । साथै, सोही अवसरमा अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरुलाई विज्ञ मार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो ।

चालु आर्थिक वर्ष ज्योति विकास बैंकले पाँचथर जिल्लास्थित एकतीन हेल्थ पोस्ट, खोटाङ जिल्लास्थित जनसेवा नगर अस्पताल, अछाम जिल्लास्थित भाटाकाटिया हेल्थ पोस्ट, सङ्खुवासभा जिल्लास्थित नुम प्राथमिक हेल्थ केयर सेन्टर तथा सिसुवाखोला हेल्थ पोस्ट, बझाङ जिल्लास्थित कालुखेती हेल्थ पोस्ट तथा मष्टा हेल्थ पोस्ट, बाजुरा जिल्लास्थित पुर्भुता आधारभूत स्वास्थ्य सेवा केन्द्र, पाल्पा जिल्लास्थित ज्यामिरे हेल्थ पोस्ट, रोल्पा जिल्लास्थित लिवाङ हेल्थ पोस्ट र मकवानपुर जिल्लास्थित आमभञ्ज्याङ हेल्थ पोस्टहरुलाई उक्त मेसिन प्रदान गरेको छ। यस प्रोजेक्टमार्फत बैंकले हालसम्म देशभर ७३ वटा बेबी वार्मर प्रदान गरिसकेको छ ।

प्रतिक्रिया