
काठमाडौं । संगीत रोयल्टी संकलन समाज नेपालले आफ्नो १९औँ वार्षिकोत्सव मनाउँदै संगीत रोयल्टी वितरण कार्यक्रम सम्पन्न गरेको छ । यही जेठ २५ गते सम्पन्न भएको उक्त कार्यक्रममा संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष तथा वरिष्ठ संगीतकार सुरेश अधिकारीको अध्यक्षता रहेको थियो भने सोही संस्थाका पूर्वअध्यक्षता एवं वरिष्ठ सर्जक श्रीपुरुष ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका महासचिव तथागायक चन्द्र शर्माले गरेका थिए । प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ३९ बमोजिम स्थापित संस्था संगीत रोयल्टी संकलन समाज नेपालले आफ्नो स्थापना दिवसको अवसर पारी १९औँ वार्षिकोत्सवको अवसरमा गीतकार र संगीतकारहरुलाई रोयल्टी वितरण गरिएको संस्थाका महासचिव शर्माले जानकारी दिए ।
संगीत रोयल्टी संकलन समाज नेपालले १९औँ वार्षिकोत्सवको अवसर पारेर टिकटक तथा यातायात, रेडियो, होटेलहरु तथा देशविदेशबाट प्राप्त गरेको रोयल्टी गीतकार तथा संगीतकारलाई वितरण गरेको शर्माले बताए ।
संगीत रोयल्टी संकलन समाज नेपालमा दर्ता भएका गीत तथा डाटा रेकर्ड भएका गीतहरुको र यस संस्थामा सदस्यता लिएर आफ्नो सृजनाहरु दर्ता गराएका गीतकार र संगीतकारहरुलाई मात्र रोयल्टी प्राप्त हुने उनको भनाई थियो ।
उनले भने, ‘सदस्यता नलिएका गीतकार र संगीतकारहरुको कुनैपनि गीतहरुको डाटा तथा रेकर्ड नदेखिने भएकाले रोयल्टी प्राप्त हुँदैन, यसै कुरालाई मध्यनजर गर्दै प्रमुख कार्यकारी सागर पाण्डेको संयोजकत्वमा रोयल्टी प्राप्त गर्ने उपायसँगै कुन–कुन ठाँउबाट रोयल्टी प्राप्त गर्न सकिन्छ ।’
उक्त कार्यक्रममा अग्रज गायिका चन्द्रकला शाह, वरिष्ठ गायिका मिरा राणा, डा कृष्णहरी बराल, गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा, गायिका राधिका हमाल, देवी घर्ती मगरलगायत अग्रज गीतकार तथा संगीतकार, कलाकारहरुको सहभागीता रहेको थियो ।
साथै, सो अवसरमा संगीत रोयल्टी समाज नेपालको वेबसाइट mrcsn.org सार्वजनिक पनि गरिएको छ । उक्त संस्थाको सदस्यता लिएका गीतकार र संगीतकारहरुले वेबसाइटमा लगईन गरी आफ्नो मोबाईल नम्बर र पासवर्ड राखेर कुन गीतको के–केबाट कति रकम जम्मा भयो भन्ने जानकारी प्राप्त गर्न सकिने कार्यक्रममा जानकारी दिइयो ।
जसमा जम्मा भएको रकम आफ्नो अनुकुल अनुसार अब केही दिनमै सिधै आफ्नै बैंक खातामा जम्मा गर्न सकिने पनि व्यवस्था गरिने बताइएको छ । यसबारे विस्तृत जानकारी लिनका लागि संगीत रोयल्टी संकलन समाज नेपालको आफ्नै कार्यालय काठमाडौंको अनामनगरमा उपस्थित हुनुपर्नेछ । उपस्थित हुन नसक्ने गीतकार र संगीतकारहरुले फोनमार्फत जानकारी लिई अथवा वेबसाटबाटै आफ्नो गीतहरु दर्ता गर्न सकिने संगीत रोयल्टी समाज नेपालका अध्यक्ष सुरेश अधिकारी जानकारी दिए ।
प्रतिक्रिया