
काठमाडौं । नेपाली लोक कला र संस्कृतिको जर्गेना गर्ने उद्देश्यका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा तेस्रो एकल लोक गायन प्रतियोगिता सम्पन्न भएको छ । यही जेठ २३ गते आइतबार आयोजित उक्त विशेष समारोह संगीत क्षेत्रका दिग्गज स्रष्टा, कलाकार र सञ्चारकर्मीहरूको उत्साहजनक उपस्थितिका बीच सम्पन्न भएको हो ।
ललितपुर समितिकी अध्यक्ष बेलिमाया पुलामीको अध्यक्षता तथा प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रीता थापा मगरको प्रमुख आतिथ्यतामा भएको यस कार्यक्रममा संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ, वरिष्ठ लोक गायक एवं चलचित्र निर्देशक नारायण रायमाझी, र इन्द्रेणी फाउन्डेसनका कृष्ण कँडेल लगायतका प्रतिष्ठित व्यक्तित्वहरूको विशेष उपस्थिति थियो ।
उपत्यका समन्वय समिति अन्तर्गतका १० वटा समितिहरूबीच भएको भिडन्तमा चाबहिल समितिका दिनेश परियारले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गर्न सफल भए । उनले पुरस्कार स्वरूप नगद ३० हजार रुपैयाँ प्राप्त गरे, जसको प्रायोजन ललितपुर समितिका संस्थापक अध्यक्ष एवं संरक्षक उदय भट्टराईले गरेका थिए ।
त्यसैगरी, कडा प्रतिस्पर्धाका बीच अनामनगर समितिकी खुश्बु सुनार द्वितीय र ठमेल समितिका जिपी सुन्दास तृतीय बने । उनीहरूले क्रमशः नगद २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाए। यी पुरस्कारहरूको प्रायोजन क्रमशः बराह ज्वेलर्सकी सञ्चालिका मनिषा कार्की र ब्रेभ गोर्खा म्यान पावर सर्भिसले गरेका थिए ।
यसै विशेष अवसरमा नेपाली लोक संगीत क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै वरिष्ठ लोक गायिका शर्मिला गुरुङलाई ‘राष्ट्रिय लोक स्रष्टा सम्मान’ द्वारा विभूषित गरियो। साथै, संस्थालाई विभिन्न समयमा सहयोग पुर्याउने ललितपुर समितिका सल्लाहकारहरू, पूर्व अध्यक्षहरू, संरक्षकहरू, समाजसेवी, कलाकार तथा पत्रकारहरूलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
प्रतियोगितालाई निष्पक्ष र मर्यादित बनाउन प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष राजु ढकालको संयोजकत्वमा बलियो निर्णायक मण्डल गठन गरिएको थियो, जसमा केन्द्रीय सचिव देवी घर्ती मगर, सहकोषाध्यक्ष जुना श्रीष मगर, निवर्तमान अध्यक्ष अर्जुन थापा मगर र चर्चित गायक राम कुमार नेपाली रहेका थिए ।
सन्देश अधिकारीले वाद्यवादन र प्रथम उपाध्यक्ष प्रकाश बराइली (अभिव्यक्ति) ले मिडिया व्यवस्थापनको कमान्ड सम्हालेको उक्त कार्यक्रमको औपचारिक सत्र भरत परियार र प्रतियोगिता सत्र पूर्वअध्यक्ष राज कुमार रायमाझीले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया