सुर्खेत जिल्ला क्रिकेट संघमा केसी

सुर्खेत । सुर्खेत जिल्ला क्रिकेट संघको अध्यक्षमा श्रीधर केसी सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार भएको पाँचौं चुनावी सभाले केसीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा रुद्रबहादुर भण्डारी, सचिवमा प्रकाश भुषाल र कोषाध्यक्षमा विदुर कटुवाल चयन भएका छन् । यस्तै सदस्यहरुमा नरेशसिंह थापा, नगेन्द्र उपाध्याय, रमेश शाही, रोशन शाही, सम्राट राई, जनकविक्रम शाही र विश्व भारती चयन भएका छन् ।

क्रिकेट रंगशाला बनाउँछौँ

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रविन्द्र चन्दले प्रदेश राजधानीभित्रै आधुनिक क्रिकेट मैदान बनाउन बजेटको व्यवस्था गरिएको बताएका छन् । उनले आफू पनि क्रिकेट खेलेरै अहिलेको पदमा पुगेको बताउँदै क्रिकेट रंगशाला निर्माणका लागि स्थान छनौटको काम भइरहेको बताए ।

जिल्ला क्रिकेट संघको वार्षिक साधारणसभाको उद्घाटन गर्दै सदस्य सचिव चन्दले हाल सञ्चालनमा रहेका दुई वटै रंगशाला स्थायी प्रकृतिका भएकाले स्थायी रंगशाला बनाउनका लागि स्थान छनोट भइरहेको बताए ।

नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष पदमबहादुर खड्काले क्रिकेट पूर्वाधारका लागि सरकारी सहयोगको खाँचो रहेको बताए । ॅखेलाडी उत्पादन, बनाएका भौतिक संरचनाहरुको हेरचाह र संरक्षण हामी गर्न तयार छौँ,’ उनले भने, पूर्वाधारमा भने सरकारले सहयोग गर्नुपर्छ ।’

उनले पछिल्लो समय क्रिकेटप्रतिको आकर्षण बढ्दै गएको बताउँदै सो अनुसार पूर्वाधार अभाव रहेको बताए ।
क्यानका केन्द्रीय प्रतिनिधि विक्रम विष्टले पूर्वाधार अभावमा पनि प्रतिभाहरु प्रष्फूटन भइरहेको बताए । उनले कर्णाली प्रदेश सरकारले गौरवको योजनाको रुपमा फुटवल रंगशाला बनाएजस्तै क्रिकेटको पनि रंगशाला बनाउनुपर्ने बताए ।

दुई खेलाडीलाई सम्मान


एसियन क्रिकेट काउन्सिलको आयोजनामा भएको अण्डर–१६ इष्टजोन कप क्रिकेट प्रतियोगीतामा सुर्खेतबाट सहभागी दुई जना खेलाडीहरुलाई वार्षिक साधारणसभाको अवसरमा सम्मान गरिएको छ ।

संघले सुर्खेतबाट प्रतिनिधित्व गर्ने खेलाडी विपिनप्रसाद शर्मा र रोशन शाहीलाई वार्षिक साधारणसभाको अवसरमा सम्मान गरेको हो ।

प्रतिक्रिया