
रौतहट । रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुरस्थित गरुडा–समनपुर सडकखण्डमा अज्ञात सवारी साधनको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यका अनुसार नम्बर नखुलेको सवारी साधनले साइकल यात्रीलाई ठक्कर दिँदा उनको टाउकोमा गम्भीर चोट लागेको र घटनास्थलमै ज्यान गएको हो । मृतकको पहिचान हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान करिब ६ बजे स्थानीयवासीले सडक किनारमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पाउनासाथ डीएसपी आचार्यसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रारम्भिक अनुसन्धानमा मृतक पुरुषको उमेर करिब ४० देखि ४५ वर्षको बिचमा हुन सक्ने अनुमान गरिएको छ । शव सडक छेउमा लडिरहेको अवस्थामा फेला परेको र मृतकको बायाँ खुट्टा साइकलको भागमा अड्किएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाउनुका साथै आवश्यक प्रमाण सङ्कलन गरिसकेको छ ।
प्रतिक्रिया