२१औँ शताब्दी विज्ञान र प्रविधिको युग हो, जसले विश्वलाई साँघुरो गाउँ बनाएको छ । सत्यको खोजी र व्यवस्थित ज्ञान नै विज्ञान हो भने, प्रविधि मानव जीवनको सिर्जनात्मक नतिजा हो । वर्तमान वैज्ञानिक–प्राविधिक क्रान्ति औद्योगिक क्रान्तिभन्दा गुणात्मक रूपले भिन्न छ, जसले मानव सभ्यता, सामरिक शक्ति र आर्थिक विकासको मेरुदण्डका रूपमा काम गरिरहेको छ ।

आजको युग विज्ञान तथा प्रविधिको युग हो । विज्ञान तथा प्रविधिले विश्वलाई नै सानो गाउँ बनाएको छ । सञ्चार र माध्यमका विभिन्न उपकरणहरू वर्तमान समयमा उपलब्ध छन् । इमेल, इन्टरनेट, मोबाइल, फोन, एफएम रेडियो, सुविधासम्पन्न टेलिफोन र पत्रपत्रिकाले संसारलाई साँघुरो बनाएका छन् । हामी पनि वर्तमान संसारमा आएको आधुनिक प्रविधिप्रति जागरूक बन्नुपर्दछ र यसको उपयोग गर्न सिक्नुपर्दछ ।
वर्तमान २१औँ शताब्दीमा वैज्ञानिक–प्राविधिक क्रान्तिले ठुलो उथलपुथल ल्याएको छ । यसबाट हामी सम्पूर्ण मानवजाति लाभान्वित हुनुपर्दछ र समग्र विश्वको विकासका लागि तत्पर हुनुपर्दछ अनि वर्तमान वैज्ञानिक–प्राविधिक क्रान्तिलाई निरन्तरता दिनुपर्दछ । तब मात्र विज्ञान र प्रविधिको विकासले व्यापकता पाउँछ, जुन आजको युगको माग हो ।
कुनै विषय वा वस्तुको प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन र ज्ञानलाई विज्ञान भनिन्छ । विज्ञान एक व्यवस्थित ज्ञान हो, जसले ब्रह्माण्डका बारेमा परीक्षणयोग्य व्याख्या र भविष्यवाणीहरूको ज्ञानलाई स्थापित र व्यवस्थित बनाउँछ । मानव जीवन विज्ञानभन्दा अलग हुन सक्दैन । अहिले हाम्रो चिन्तन पनि वैज्ञानिक हुन थालेको छ । विज्ञान प्रमाणमा आधारित हुन्छ । विज्ञान पारदर्शी पनि हुन्छ र यो विश्वव्यापी हुन्छ । विज्ञानले झुटो बोल्दैन, यो सत्यको खोजी हो ।
विज्ञान हाम्रो जीवनको लगभग हरेक पक्ष र भाग हो । विज्ञान मनुष्य जातिको साझा सम्पदा हो । विज्ञान मानव सभ्यताको एक उल्लेखनीय उपलब्धि हो । सत्यको खोजी नै विज्ञानको प्रमुख लक्ष्य हो । विज्ञानले असाधारण कुरालाई सम्भव बनाउँछ । वास्तवमा भन्नुपर्दा विज्ञान शब्दको उपयोग प्रायः सधँै प्राकृतिक विज्ञानहरूका निम्ति गरिन्छ । यसमा भौतिकशास्त्र, रसायनशास्त्र र जीवविज्ञान पर्दछन् । प्रकृति र विज्ञानबीच गहिरो सम्बन्ध रहेको हुन्छ ।
विज्ञानमा वैज्ञानिकहरूले पहिला अवलोकन गर्छन्, अनि त्यो किन र कसरी भयो भनी प्रश्न गर्छन् । त्यसपछि परिकल्पना गर्न सुरु गर्छन् । त्यो परिकल्पनाअनुसार धेरैपटक प्रयोग वा परीक्षण गरेपछि अन्त्यमा गएर वैज्ञानिक सिद्धान्त बन्छ । वर्तमान विश्वमा विज्ञान र प्रविधिको विकास तीव्रतर गतिमा भइरहेको छ । विज्ञान र प्रविधिको विकास र विस्तारका लागि विश्व आज प्रतिस्पर्धात्मक रूपमा अघि बढेको छ ।
विज्ञान र प्रविधिको क्षेत्रमा भएको निरन्तर खोज र अनुसन्धानले यस क्षेत्रमा नयाँ नयाँ आविष्कारहरू भइरहेका छन् । त्यसो त मानिसले परापूर्वकालदेखि विज्ञान तथा प्रविधिको विकास गरेको पाइन्छ, तैपनि केही दशकयता विज्ञान र प्रविधिका क्षेत्रमा भएको विकास, विस्तार र यसको उपयोगिताले मानव जीवन सहज अनि सरल बन्दै गएको कुरा साँचो हो ।
विज्ञान तथा प्रविधिलाई विश्वको विकास र समृद्धिको मेरुदण्ड मान्नुपर्दछ । विज्ञान र प्रविधिविनाको जीवन अधुरो र अपुरो बन्न पुगेको छ । अहिले विश्व परिवेश हेर्ने हो भने जुन मुलुकले सबैभन्दा बढी विज्ञान र प्रविधिको क्षेत्रमा विकास गर्न सकेको छ, त्यही मुलुक नै अग्रणी बन्दै गइरहेको छ । जसको ज्वलन्त उदाहरणका रूपमा हामी संयुक्त राज्य अमेरिका र जनवादी गणतन्त्र चीनलाई लिन सक्दछौँ ।
भनिन्छ, विज्ञान एउटा अतृप्त आत्मा हो । मान्छे तृप्त भएको भए आविष्कारहरू हुने थिएनन् । प्रविधि भनेको अतृप्त मनहरूले उब्जाएको आविष्कार हो । प्रविधि व्यावहारिक तथा औद्योगिक कलाहरू र प्रयुक्त विज्ञानसित सम्बन्धित अध्ययन अथवा विज्ञानको समूह हो । अहिले विश्व २१औँ शताब्दीमा दौडिरहेको छ । अहिलेको समयलाई सूचना प्रविधिको युगका रूपमा लिने गरिन्छ । सूचनाको संकलन, सम्प्रेषण एवं सञ्चार गर्ने पत्रपत्रिका, कम्प्युटर, हार्डवेयर, सफ्टवेयर, नेटवर्क, इन्टरनेट लगायतका प्रविधिको समष्टिगत रूपलाई नै सूचना तथा सञ्चार प्रविधि भनिन्छ ।
अहिलेको पुस्ताको अधिकांश समय मोबाइल, ल्यापटप वा कम्प्युटरको स्क्रिनमा हेरेर बित्दछ; चाहे कसैले पढुन्, कसैले गेम खेलुन्, कसैले भिडियो हेरुन् । अहिले सबै काम इन्टरनेटबाट नै हुने गर्दछ । चाहे त्यो साथीहरू, आफन्तसँग कुरा गर्न होस् चाहे कुनै कार्यालयको काम होस्, सबै मोबाइल र ल्यापटपबाट नै गरेको पाइन्छ । प्रविधिको प्रयोगले एकदिनमा हुने काम एकछिनमा नै हुने गर्दछ । त्यस्तै विज्ञान र प्रविधिले विकास गरेको फेसबुक, युट्युब हाम्रो दैनिकी बनिसकेका छन् भने ट्विटर, इन्स्टाग्राम, भाइबर, इमो, टिकटक पनि विज्ञान प्रविधिको विकासका वर्तमान नमुनाहरू हुन् ।
सन् १९८० को दशकयता विश्वमा सूचना तथा सञ्चार प्रविधिको युग सुरु भएको मानिन्छ र यससँगै विकसित देशका अर्थतन्त्र सूचना प्रविधिमा आधारित अर्थतन्त्रका रूपमा रूपान्तरण भएका छन् । मानव मस्तिष्कको उच्चतम प्रयोग र अथक परिश्रमको प्रतिफल विज्ञान र प्रविधिको विकास तथा विस्तार अहिलेको अवस्थासम्म आइपुगेको छ । यसरी हेर्ने हो भने विज्ञान र प्रविधिको विकासका साथै सयौँ वैज्ञानिक, अन्वेषक, इन्जिनियर, सफ्टवेयर डेभलपर्स आदिका निरन्तर खोज, अध्ययन र अनुसन्धानका कारण विश्वले प्रथम औद्योगिक क्रान्तिदेखि सूचना तथा सञ्चार प्रविधिको युगसम्मको यात्रा तय गर्न सफल भएको छ ।
विगतमा कल्पनासम्म नगरिएका विषय वर्तमानमा आएर सफल र सिद्ध भएका छन् । प्रविधिले अध्ययन, अनुसन्धानमा ल्याएको व्यापक परिवर्तनका कारण मानिसको जीवनमा सिर्जनशीलता र बौद्धिकताको व्यापक विस्तार गर्नसमेत मद्दत पु¥याएको छ । वास्तवमा प्रविधि मानव जीवनको अत्यधिक सिर्जनात्मक प्रयोग हो भने यसलाई विज्ञानको सर्वोत्कृष्ट नतिजा पनि मान्न सकिन्छ ।
संस्कृत भाषाको ‘विज्ञान’ शब्द (जो भारत, नेपाल, बंगलादेशलगायत दक्षिण एसियाली मुलुकमा प्रचलित छ) का लागि अंग्रेजीमा ‘साइन्स’ को प्रयोग हुन्छ । अंग्रेजीमा यो शब्द प्रयोग हुन थालेको लामो समय भएको छैन । मध्ययुगीन अंग्रेजीमा यसलाई सिन्ज, सोयन्स, सियन्स इत्यातिका रूपमा लेखिन्थ्यो, जसको अर्थ हुन्थ्यो, ‘ज्ञान’।
जर्मन र डच भाषा पनि त्यही भाषा परिवारसँग सम्बन्धित छन्, जोसँग अंग्रेजीको सम्बन्ध छ । यी दुवै भाषामा विसेन्साफ्ट र वेटन्साप शब्दको प्रयोग गरिन्छ, जो ‘जान्नु’ क्रियाकै संज्ञा रूप हुन् । अंग्रेजीमा ‘साइन्स’ शब्दको उत्पत्ति ल्याटिनमा प्रचलित शब्द ‘साइन्टिया’ बाट भएको मान्न सकिन्छ, जसको अर्थ हो ज्ञान । विज्ञान के हो भन्नेबारे वैज्ञानिकहरूबीच कुनै असहमति छैन । तर, यसका बाबजुद, आजसम्म विज्ञानको कुनै यस्तो सन्तोषजनक परिभाषा बन्न सकेको छैन, जो सबै वैज्ञानिकलाई मान्य होस् ।
कैयौँ वैज्ञानिक र दार्शनिकहरूले आ–आफ्नो तर्फबाट यसको परिभाषा दिएका छन् । अधिकांशले विज्ञानको ज्ञान पक्षमा जोड दिएका छन् । हर्बर्ट स्पेन्सर विज्ञानको परिभाषा दिँदै भन्छन्, ‘व्यवस्थित ज्ञान नै विज्ञान हो’ अर्थात् छरिएका सूचना विज्ञान होइनन्, कुनै पनि क्षेत्र विशेषसँग सम्बद्ध व्यवस्थित सूचनाहरू नै विज्ञान हुन् । यस दृष्टिले टेलिफोन डाइरेक्टरी र पुस्तकालयको क्याटलग पनि विज्ञान हो । थोमस हक्सले ज्ञानको गुणस्तरको सट्टा त्यसको गहिराइमा जोड दिँदै भन्छन्, ‘विज्ञान भनेको प्रशिक्षित एवं सुव्यवस्थित सहज बुद्धि हो, अरू केही होइन ।’
यस परिभाषामा ज्ञान हासिल गर्न, त्यसलाई सुव्यवस्थित गर्न तथा त्यसको मूल्यांकन गर्न प्रशिक्षणमा जोड दिइएको छ । जी एन लेभिसको परिभाषाले भन्छ, ‘विज्ञान अनुभवहरूको व्यवस्थित वर्गीकरण हो’ तर प्रत्येक अनुभवको व्यवस्थित वर्गीकरणलाई पनि विज्ञान मान्न सकिँदैन । विज्ञान सूचनाहरूको वर्गीकरणभन्दा पनि परको कुरा हो । यी परिभाषाहरूबाट के पनि प्रतिध्वनित हुन्छ भने, विज्ञान यस्तो ‘गोदाम’ हो, जहाँ सूचनाहरूलाई सावधानीपूर्वक मिलाएर राखिन्छ ।
यद्यपि, हक्सले आफ्नो परिभाषामा मानव मस्तिष्कको भूमिकातर्फ पनि इंगित गर्छन् । जिडे सेन्टिलानाका अनुसार पनि विज्ञान अरू केही होइन, ‘विकसित बोध, व्याख्यायित आशय र सहज बुद्धिको स्पष्ट अभिव्यक्ति हो ।’ तर विज्ञानको यो परिभाषा कला वा मानविकीमा पनि लागू हुन सक्छ । त्यति मात्र होइन, धार्मिक मामिलाहरूमा पनि यो परिभाषा सटीक रूपले फिट हुन सक्छ ।
अन्ततः एउटा मानक शब्दकोशमा दिइएको विज्ञानको परिभाषा हेरौँ, जसमा खोजतलासको भूमिका, परिकल्पनाहरूको सृजन र नियम पनि समाहित छन्, ‘विज्ञान ज्ञानको यस्तो विभाग हो, जसमा खोजतलासका परिणामहरूलाई तर्कपूर्ण तरिकाले परिकल्पना र सामान्य नियमहरूका रूपमा व्यवस्थित अनि तिनको सत्यापन गरिन्छ ।’
प्रविधिलाई तकनिकी पनि भनिन्छ । प्रविधि व्यावहारिक तथा औद्योगिक कलाहरू र प्रयुक्त विज्ञानसित सम्बन्धित अध्ययन अथवा विज्ञानको समूह हो । धेरै मानिसहरू प्रविधि र अभियान्त्रिकी शब्दहरूलाई पर्यायवाचीका रूपमा प्रयोग गर्दछन् । मानिसहरू जसले प्रविधिको तालिम प्राप्त गरेर यसलाई व्यवसायका रूपमा लिन्छन्, त्यस्ता व्यक्तिलाई अभियन्ता भनिन्छ । आदिकालदेखि नै मानवले प्रविधिको प्रयोग गर्दै आएको हो ।
आधुनिक सभ्यतालाई विकास गरी आजको स्थितिमा ल्याउन प्रविधिको सबैभन्दा ठुलो योगदान छ । जो समाज अथवा राष्ट्र प्राविधिक रूपले शक्तिशाली छन्, तिनीहरू नै सामरिक रूपमा शक्तिशाली हुन्छन् अनि आर्थिक रूपमा अरूभन्दा सक्षम छन् ।
विगत ४ दशकदेखि चलिरहेको प्राविधिक क्रान्तिलाई विभिन्न नाम दिइएको छ, जस्तै– वैज्ञानिक–प्राविधिक क्रान्ति, नव–प्राविधिक क्रान्ति, तेस्रो प्राविधिक क्रान्ति, इलेक्ट्रोनिक वा माइक्रो इलेक्ट्रोनिक क्रान्ति इत्यादि । यी सबैमा वैज्ञानिक–प्राविधिक क्रान्ति सबैभन्दा उपयुक्त नाम प्रतीत हुन्छ, किनभने यसबाट विज्ञान तथा प्रविधि दुवै क्षेत्रहरूमा भइरहेका सबै परिवर्तनहरूको प्रतिनिधित्व हुन्छ । यो बुझ्नु अत्यन्तै महत्वपूर्ण छ कि आज चलिरहेको वैज्ञानिक–प्राविधिक क्रान्ति औद्योगिक कालका परिवर्तनहरूभन्दा गुणात्मक रूपले भिन्न छ ।
आमरूपमा मानिसहरू वर्तमान प्राविधिक क्रान्तिलाई औद्योगिक क्रान्तिकै एउटा विकसित रूप, त्यसको उच्च चरण मान्दछन् र त्यसैकारण त्यसमा उनीहरू कुनै विशेष नयाँ कुरा देख्दैनन् । हाम्रो बुझाइमा यो एउटा ठुलो गल्ती हो । नव–प्राविधिक क्रान्ति मुख्य रूपले परमाणुभित्रका शक्तिहरूमाथि, उदाहरणका लागि इलेक्ट्रोनको गति तथा अन्य प्रकारका क्वान्टम शक्तिको उपयोगमाथि आधारित छ । इलेक्ट्रोन शक्तिको प्रयोगमाथि आधारित प्रविधिलाई इलेक्ट्रोनिक वा माइक्रो इलेक्ट्रोनिक प्रविधि भनिन्छ । यस प्रकार यो त्यस औद्योगिक क्रान्तिभन्दा गुणात्मक रूपले भिन्न छ, जसले वाफ र विद्युत्को शक्तिको प्रयोग गर्दथ्यो । वर्तमान क्रान्तिलाई कम्प्युटर क्रान्ति पनि भनिन्छ ।
प्रतिक्रिया