
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनको निमन्त्रणामा सन् २०२६ जुन १ (२०८३ जेठ १८) मा ५ दिने औपचारिक भ्रमणका लागि भारततर्फ प्रस्थान गरेका थिए । उनी आफ्नो भ्रमण दलसहित ५ दिनको बसाइ पूरा गरी जुन ५ (तदनुसार जेठ २२) मा स्वदेश फर्किइसकेका छन् ।
५ दिने भारत भ्रमणका क्रममा सभापति लामिछाने मुख्य गरी भारतको राजधानी नयाँ दिल्लीमा केन्द्रित रहे । नयाँ दिल्लीमा कूटनीतिक र राजनीतिक भेटघाटहरू सम्पन्न गरेपछि उनले उत्तर प्रदेशको ऐतिहासिक एवं धार्मिक नगरी अयोध्याको समेत भ्रमण गरे । नयाँ दिल्लीमा रहँदा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरे । साथै, उनले भारतीय गृहमन्त्री अमित शाह, विदेशमन्त्री डा.एस. जयशंकर र भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग द्विपक्षीय हितका विषयमा छलफल गरे । सोही क्रममा उनले अमेरिकी विशेष दूत सर्जियो गोरसँग पनि महत्वपूर्ण भेटवार्ता गरेका थिए ।
सभापति लामिछानेले गरेको यो भ्रमणले नेपालको राजनीति पछिल्ला केही वर्षयता तीव्र परिवर्तनको चरणबाट गुज्रिरहेको छ भन्ने कुरालाई पुष्टि गरेको छ । किनकि परम्परागत राजनीतिक शक्तिप्रति जनविश्वास घट्दै गएको र नयाँ राजनीतिक शक्तिहरूको उदय भइरहेको अवस्थामा रास्वपा र त्यसका सभापति लामिछाने नेपाली राजनीतिको केन्द्रबिन्दु बन्न सफल भएका छन् । यही सन्दर्भमा उनको भारत भ्रमण र भारतीय राजनीतिक नेतृत्वसँग भएको भनिएको उच्चस्तरीय भेटघाटले नेपालमा मात्र होइन, दक्षिण एसियाली कूटनीतिक वृत्तमा समेत व्यापक चासो उत्पन्न गरेको छ ।
यदि कुनै नेपाली राजनीतिक दलका सभापतिलाई भारत सरकारले र भारतीय जनता पार्टीले विशेष महत्वका साथ स्वागत गरेको हो भने त्यसलाई सामान्य राजनीतिक भ्रमणका रूपमा मात्र हेर्न मिल्दैन । नेपाल र भारतबीचको सम्बन्ध इतिहास, भूगोल, संस्कृति, अर्थतन्त्र र जनस्तरको सम्बन्धले अत्यन्तै गहिरो रहेको छ । त्यसैले नेपालका उदाउँदा राजनीतिक नेताहरूप्रति भारतको चासो स्वाभाविक रूपमा रहने गर्छ । तर कुनै नयाँ राजनीतिक शक्तिका नेतृत्वकर्ताप्रति देखाइएको विशेष रुचिले भविष्यको राजनीतिक समीकरण र कूटनीतिक प्राथमिकताबारे अनेक प्रश्न जन्माउने गर्दछ ।
नेपालको राजनीतिमा रवि लामिछानेको उदय परम्परागत राजनीतिक अभ्यासप्रतिको असन्तुष्टिबाट भएको हो । भ्रष्टाचार, सुशासनको अभाव, बेरोजगारी, युवापलायन र राजनीतिक अस्थिरताबाट दिक्क भएका नेपाली मतदाताले वैकल्पिक शक्तिको खोजी गरिरहेका बेला रास्वपाले आफूलाई एउटा नयाँ विकल्पका रूपमा स्थापित गर्न सफल भयो । यही कारणले गर्दा आज रवि लामिछाने केवल एउटा पार्टीका सभापति मात्र होइनन्, परिवर्तनको अपेक्षा बोकेका लाखौँ नेपालीको आशा र भरोसाका पात्र पनि बनेका छन् ।
यस्तो अवस्थामा भारतले रवि लामिछानेलाई दिएको महत्वलाई अनेक कोणबाट विश्लेषण गर्न सकिन्छ । पहिलो, भारतले नेपालमा देखापरेको नयाँ राजनीतिक शक्तिलाई नजिकबाट बुझ्न खोजिरहेको हुन सक्छ । नेपालमा राजनीतिक सत्ता परिवर्तन भइरहने र गठबन्धनहरू छिटोछिटो बन्ने तथा भत्किने अवस्थाले भारतलाई पनि नयाँ नेतृत्वसँग सम्बन्ध विस्तार गर्न प्रेरित गरेको हुन सक्छ । भारतका लागि नेपाल केवल एउटा छिमेकी देश मात्र होइन, रणनीतिक दृष्टिले महत्वपूर्ण साझेदार पनि हो । त्यसैले भविष्यमा निर्णायक भूमिका खेल्न सक्ने सम्भावित नेतृत्वसँग सम्बन्ध निर्माण गर्नु कुनै अस्वाभाविक विषय होइन ।
दोस्रो, यो भ्रमणले नेपालको आन्तरिक राजनीतिमा पनि विशेष सन्देश दिन सक्छ । परम्परागत रूपमा नेपाली राजनीतिमा भारतसँगको सम्बन्धलाई निकै संवेदनशील विषयका रूपमा हेरिन्छ । कुनै नेताले भारतसँग अत्यधिक निकटता देखाउँदा आलोचना पनि खेप्नुपर्छ, तर अर्कोतर्फ भारतसँग सन्तुलित र सम्मानजनक सम्बन्ध कायम गर्न सक्ने नेताले कूटनीतिक क्षमता प्रदर्शन गरेको मानिन्छ । त्यसैले रवि लामिछानेले भारत भ्रमणका क्रममा राष्ट्रिय हितलाई केन्द्रमा राखेर आफ्नो धारणा स्पष्ट गर्न सके भने त्यसले उनको राजनीतिक परिपक्वता प्रमाणित गर्न सक्छ ।
तेस्रो, नेपाल–भारत सम्बन्ध अहिले पनि विभिन्न मुद्दाका कारण बेला–बेलामा चर्चामा आउने गर्छ । सीमा विवाद, व्यापार असन्तुलन, ऊर्जा सहकार्य, जलस्रोत, पूर्वाधार विकास, सुरक्षा सहकार्य र श्रम आप्रवासनजस्ता विषयहरू दुवै देशका साझा चासोका क्षेत्र हुन् । यस्ता विषयमा औपचारिक सरकारी संयन्त्रसँगै राजनीतिक दलहरूबीचको संवाद पनि महत्वपूर्ण मानिन्छ । त्यसैले कुनै नेपाली राजनीतिक दलका शीर्ष नेताले भारतीय नेतृत्वसँग संवाद गर्नु २ देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने अवसरका रूपमा पनि हेर्न सकिन्छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिपछि दुवै देशमा विभिन्न प्रकारका प्रतिक्रिया देखिएको चर्चा भइरहेको छ । यस्ता संवेदनशील विषयहरूमा राजनीतिक नेतृत्वले राष्ट्रिय भावना र कूटनीतिक यथार्थबीच सन्तुलन कायम गर्नुपर्ने हुन्छ । सीमा, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमान नेपाली जनताका लागि अत्यन्तै संवेदनशील विषय हुन् । त्यसैले भारतसँग सम्बन्ध सुदृढ बनाउने प्रयास राष्ट्रिय हितको संरक्षणसँगै अगाडि बढ्नुपर्छ भन्ने अपेक्षा स्वाभाविक हो ।
सभापति लामिछानेको भ्रमणले अर्को महत्वपूर्ण प्रश्न पनि उठाएको छ, के नेपालमा नयाँ राजनीतिक पुस्ता अब क्षेत्रीय कूटनीतिमा सक्रिय भूमिका खेल्न तयार हुँदै छ ? विगतमा नेपाली राजनीति केही सीमित व्यक्तित्व र दलहरूको वरिपरि केन्द्रित थियो । तर अहिले नयाँ पुस्ताका नेताहरू उदाइरहेका छन् । उनीहरू अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीति, प्रविधि, लगानी र विश्वव्यापी सहकार्यका विषयमा पुरानो पुस्ताभन्दा फरक दृष्टिकोण राख्ने गर्छन् । यदि यो भ्रमण त्यस दिशाको संकेत हो भने यसले नेपालको राजनीतिक संस्कृतिमा पनि नयाँ अध्यायको सुरुआत गर्न सक्छ ।
यद्यपि कुनै पनि भ्रमणको वास्तविक मूल्यांकन त्यसबाट प्राप्त हुने ठोस परिणामका आधारमा गरिनुपर्छ । स्वागत, सम्मान र उच्चस्तरीय भेटघाट आफैँमा महत्वपूर्ण भए पनि अन्ततः त्यसले नेपाललाई के फाइदा पुग्यो भन्ने प्रश्न सबैभन्दा महत्वपूर्ण हुन्छ । के यसबाट व्यापार विस्तारमा सहयोग पुग्छ ? के नेपाली युवाका लागि अवसर सिर्जना हुन्छ ? के ऊर्जा, पर्यटन र पूर्वाधार क्षेत्रमा नयाँ सहकार्यको ढोका खुल्छ ? के नेपालले आफ्नो राष्ट्रिय हितलाई अझ प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्छ ? यिनै प्रश्नहरूको उत्तरले भ्रमणको सफलताको वास्तविक मापन गर्नेछ ।
नेपाल आज आर्थिक चुनौती, राजनीतिक अस्थिरता र युवापलायनजस्ता समस्यासँग जुधिरहेको छ । यस्तो अवस्थामा देशका राजनीतिक नेताहरूले अन्तर्राष्ट्रिय सम्बन्धलाई राष्ट्रिय विकाससँग जोड्न सक्नुपर्छ । विदेश भ्रमण केवल औपचारिकता वा राजनीतिक प्रदर्शनका लागि नभई देशको हितका लागि हुनुपर्छ । यदि रवि लामिछानेको भारत भ्रमणले नेपालका लागि नयाँ अवसरहरू सिर्जना गर्न सहयोग पु¥याउँछ भने त्यसलाई सकारात्मक उपलब्धिका रूपमा लिन सकिन्छ ।
नेपाल र भारतबीचको सम्बन्ध कुनै एक नेता, एक सरकार वा एक दलमा सीमित छैन । यो सम्बन्ध इतिहासले निर्माण गरेको, भूगोलले मजबुत बनाएको र जनस्तरको आत्मीयताले जोगाइरहेको सम्बन्ध हो । तर बदलिँदो राजनीतिक परिवेशमा नयाँ नेतृत्व र नयाँ शक्तिहरूको उदयसँगै कूटनीतिक सम्बन्धका नयाँ आयामहरू पनि खुल्दै जान्छन् । सभापति लामिछानेको भारत भ्रमणलाई यही व्यापक परिप्रेक्ष्यमा हेर्न आवश्यक छ । यसले केवल एउटा भ्रमणको कथा मात्र होइन, नेपालमा उदाउँदै गरेको नयाँ राजनीतिक शक्तिको अन्तर्राष्ट्रिय स्वीकार्यता, क्षेत्रीय कूटनीतिक चासो र भविष्यका सम्भावित राजनीतिक समीकरणहरूको संकेत पनि दिन सक्छ । समयसँगै यस भ्रमणका वास्तविक प्रभावहरू अझ स्पष्ट हुँदै जानेछन्, तर यसले नेपाली राजनीति र कूटनीतिक वृत्तमा एउटा नयाँ बहस अवश्य जन्माएको छ ।
नेपाल र भारतबीचको सम्बन्ध केवल २ सार्वभौम राष्ट्रबीचको कूटनीतिक सम्बन्ध मात्र होइन, यो इतिहास, संस्कृति, सभ्यता, धर्म, भाषा, व्यापार र जनस्तरको आत्मीय सम्बन्धले जोडिएको अद्वितीय सम्बन्ध हो । खुला सीमा, पारिवारिक नाता, धार्मिक आस्था तथा आर्थिक सहकार्यका कारण नेपाल–भारत सम्बन्ध विश्वका अन्य छिमेकी राष्ट्रहरूबीचको सम्बन्धभन्दा फरक र विशेष मानिन्छ । हजारौँ वर्षदेखि विकसित हुँदै आएको यो सम्बन्ध आधुनिक विश्वको बदलिँदो राजनीतिक, आर्थिक र रणनीतिक परिवेशसँगै नयाँ स्वरूपमा अगाडि बढिरहेको छ ।
यही सन्दर्भमा सभापति लामिछानेको भारत भ्रमणलाई केवल एउटा दलका नेताको विदेश भ्रमणका रूपमा मात्र हेर्न मिल्दैन । यो भ्रमणलाई नेपाल–भारत सम्बन्धको समकालीन आयाम बुझ्ने अवसरका रूपमा समेत लिन सकिन्छ । विशेषगरी भारतीय जनता पार्टीको निमन्त्रणामा भएको भ्रमण, भारतीय नेतृत्वसँग भएका भेटघाट र भारतीय पक्षबाट गरिएको स्वागतले नेपालको राजनीतिक वृत्तमा समेत व्यापक चर्चा पाएको छ ।
लामिछाने आज नेपालको राजनीतिमा एउटा स्थापित नाम बनेका छन् । केही वर्षअघि मात्र राजनीतिमा प्रवेश गरेका उनले छोटो अवधिमै ठुलो जनसमर्थन प्राप्त गर्न सफल भएका छन् । उनको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी संघीय संसद्मा उल्लेखनीय उपस्थिति भएको दल हो । पुराना राजनीतिक दलप्रति नागरिक असन्तुष्टि बढिरहेका बेला वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले नेपाली राजनीतिमा नयाँ बहस र आशा जन्माएको छ । त्यसैले लामिछानेको व्यक्तित्व अब कुनै एक व्यक्तिमा मात्र सीमित छैन, उनी नेपालका लाखौँ मतदाताको प्रतिनिधित्व गर्ने राजनीतिक नेतृत्वका रूपमा स्थापित भइसकेका छन् ।
यही कारणले भारतले उनलाई दिएको सम्मान र स्वागतलाई धेरैले केवल व्यक्तिगत सम्मानका रूपमा होइन, नेपाल र नेपाली जनताप्रतिको सम्मानका रूपमा पनि हेरेका छन् । जब कुनै छिमेकी राष्ट्रले अर्को देशका प्रभावशाली राजनीतिक नेतालाई उच्च महत्व दिन्छ, त्यसले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पु¥याउँछ । कूटनीतिमा सम्मानको भाषा अत्यन्त महत्वपूर्ण हुन्छ । कहिलेकाहीँ औपचारिक सम्झौताभन्दा पनि आत्मीय व्यवहारले सम्बन्धलाई थप गहिरो बनाउने गर्दछ ।
नेपाल र भारतबीच पछिल्ला केही वर्षमा विभिन्न विषयमा मतभेद पनि देखिएका थिए । सीमा विवाद, व्यापारिक असन्तुलन, राजनीतिक टिप्पणी तथा केही कूटनीतिक घटनाहरूले सम्बन्धमा केही असहजता सिर्जना गरेका थिए । तर यस्ता समस्याहरू स्थायी होइनन् । दुई देशबीचको सम्बन्धको जग यति बलियो छ कि सामान्य उतारचढावले यसलाई कमजोर बनाउन सक्दैन । बरु यस्ता भ्रमणहरूले आपसी विश्वास पुनः मजबुत बनाउन मद्दत पु¥याउँछन् ।
राजनीतिक दलहरूबीचको सम्बन्ध पनि आधुनिक कूटनीतिक अभ्यासको महत्वपूर्ण पक्ष बनेको छ । विगतमा सरकार–सरकारबीच मात्र सम्बन्ध रहने परम्परा थियो भने अहिले राजनीतिक दल, नागरिक समाज, विश्वविद्यालय, व्यावसायिक क्षेत्र तथा सांस्कृतिक संस्थाहरूबीच पनि सम्बन्ध विस्तार भएका छन् । त्यसैले कुनै दलका शीर्ष नेताको विदेश भ्रमणलाई अस्वाभाविक रूपमा लिनु हुँदैन । विश्वका लोकतान्त्रिक देशहरूमा यस्ता भ्रमणहरू नियमित रूपमा भइरहेका हुन्छन् । लामिछानेको भारत भ्रमणले पनि यही सन्देश दिएको देखिन्छ । उनले भारतीय नेतृत्वसँग गरेको संवादले भविष्यमा नेपाल–भारत सम्बन्धका नयाँ सम्भावनाहरू खोज्न मद्दत गर्न सक्छ ।
नेपालमा युवा पुस्ताको प्रतिनिधित्व गर्ने नेतृत्वसँग भारतले सम्बन्ध विस्तार गर्न खोज्नु आफैँमा महत्वपूर्ण विषय हो । किनभने राजनीति निरन्तर परिवर्तनशील प्रक्रिया हो र भविष्यका नेतृत्वहरूसँग समयमै सम्बन्ध निर्माण गर्नु कुनै पनि देशको स्वाभाविक कूटनीतिक रणनीति हुन्छ । भारत नेपालको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो । नेपालको अधिकांश वैदेशिक व्यापार भारतमार्फत हुने गर्दछ । पेट्रोलियम पदार्थदेखि दैनिक उपभोग्य वस्तुसम्म भारतसँग नेपालको निर्भरता अझै उच्च छ । ऊर्जा, जलस्रोत, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि जस्ता क्षेत्रमा समेत सहकार्यका विशाल सम्भावनाहरू छन् । यस्ता सम्भावनालाई वास्तविकतामा रूपान्तरण गर्न निरन्तर संवाद र विश्वास आवश्यक हुन्छ । रवि लामिछानेको भ्रमणले त्यही विश्वास निर्माणको प्रक्रियामा एउटा सानो तर सकारात्मक योगदान दिएको मान्न सकिन्छ ।
कतिपयले भ्रमणका क्रममा भएका केही गतिविधिप्रति प्रश्न उठाउन सक्छन् । लोकतन्त्रमा आलोचना स्वाभाविक हो । सार्वजनिक जीवनका व्यक्तिहरूका हरेक गतिविधि जनचासोको विषय बन्छन् । कुनै भ्रमणमा भएका सबै कुरा सबैलाई मन पर्छन् भन्ने पनि हुँदैन । केही विषयमा असहमति वा आलोचना हुन सक्छ । तर आलोचनाभन्दा पनि समग्र चित्रलाई हेर्न आवश्यक हुन्छ । यदि कुनै भ्रमणले २ देशबीचको सम्बन्धलाई सकारात्मक दिशामा अघि बढाउने सम्भावना बढाउँछ भने त्यसको स्वागत गर्नुपर्छ ।
नेपालको परराष्ट्र नीतिको आधार सधैँ सन्तुलित र स्वतन्त्र सम्बन्ध रहँदै आएको छ । नेपालले सबै छिमेकी र मित्र राष्ट्रसँग समान सम्मानका आधारमा सम्बन्ध विस्तार गर्न चाहान्छ । भारतसँगको सम्बन्ध विशेष भए पनि नेपालले आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर सम्बन्ध अगाडि बढाउनुपर्छ । त्यसका लागि संवाद, समझदारी र पारस्परिक सम्मान अपरिहार्य छन् ।
आजको विश्वमा कूटनीति केवल विदेश मन्त्रालयको विषय मात्र रहेन । राजनीतिक दल, सांसद, युवा नेतृत्व, व्यवसायी तथा नागरिक समाजसमेत कूटनीतिक सम्बन्धका महत्वपूर्ण पात्र बनेका छन् । त्यसैले लामिछानेजस्ता प्रभावशाली राजनीतिक नेताहरूको अन्तर्राष्ट्रिय सम्पर्क विस्तार हुनु स्वाभाविक र आवश्यक प्रक्रिया हो । यसले नेपालका विषयहरू अन्तर्राष्ट्रिय मञ्चमा पु¥याउन तथा नेपालप्रति सकारात्मक धारणा निर्माण गर्न पनि सहयोग पु¥याउन सक्छ ।
अन्ततः, नेपाल र भारत घनिष्ठ मित्र राष्ट्र हुन् । इतिहासले जोडेको सम्बन्धलाई भविष्यले अझ मजबुत बनाउनुपर्ने आवश्यकता छ । २ देशबीच समय–समयमा सरकारी तहमा, राजनीतिक दलहरूको तहमा तथा जनस्तरमा यस्ता भ्रमणहरू भइरहनुपर्छ । संवाद बढ्दा गलतफहमी घट्छ, विश्वास बढ्छ र सहकार्यका नयाँ ढोका खुल्छन् । रवि लामिछानेको भारत भ्रमणलाई पनि यही व्यापक परिप्रेक्ष्यमा हेर्नुपर्छ । भ्रमणका केही पक्षमाथि बहस हुन सक्छ, आलोचना हुन सक्छ, तर समग्र रूपमा हेर्दा यो भ्रमण नेपाल–भारत सम्बन्धलाई थप आत्मीय, आधुनिक र भविष्य उन्मुख बनाउन सक्ने सकारात्मक पहलका रूपमा स्मरण गरिने सम्भावना देखिन्छ ।
प्रतिक्रिया