संकटमा कांग्रेस : १५औँ महाधिवेशन र आगामी मार्गचित्र

१५औँ महाधिवेशनको संघारमा उभिएको नेपाली कांग्रेसका लागि गुटगत अहंकार त्याग्नुको विकल्प छैन । ‘विनाश काले विपरीत बुद्धि’ जस्ता आत्मघाती विवाद र चुनावी पराजयबाट पाठ सिक्दै डा.शेखर कोइरालाको नेतृत्वका लागि सर्वसम्मति कायम गर्नु र आमकार्यकर्ताले नेतृत्वलाई निरन्तर खबरदारी गर्नु नै अहिलेको प्रमुख आवश्यकता हो ।

बोर्णबहादुर कार्की


नेपाली राजनीतिक आकाशमा प्रजातन्त्रको पहिलो र संवाहक शक्तिका रूपमा स्थापित नेपाली कांग्रेस वर्तमान समयमा इतिहासकै जटिल र चुनौतीपूर्ण मोडमा उभिएको छ । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशन केवल नयाँ नेतृत्व चयन गर्ने प्राविधिक प्रक्रिया मात्र नभएर पार्टीको वैचारिक पुनर्जीवन, आन्तरिक एकता र अस्तित्व रक्षाको कडा परीक्षा बन्ने निश्चित छ । तर, महाधिवेशनको मिति जति जति नजिकिँदै गइरहेको छ, पार्टीभित्रको आन्तरिक द्वन्द्व, गुटीय ध्रुवीकरण र दाउपेच उति नै तीव्र बन्दै गएका छन् ।

वर्तमान परिदृश्यलाई नियाल्दा, आगामी महाधिवेशन विचार र नीतिको मन्थन गर्ने थलो हुनुको साटो दुई ठुला समूहबीचको भीषण ‘रणभूमि’ बन्ने र यसले पार्टीलाई विभाजनको आत्मघाती मार्गमा धकेल्ने स्पष्ट पूर्वसंकेतहरू देखा पर्न थालेका छन् । यो राष्ट्रिय राजनीति र लोकतान्त्रिक प्रणाली दुवैका लागि चिन्ताको विषय हो । कांग्रेस अब कुन बाटो र कसरी अघि बढ्छ भन्ने कुराको ठोस आकलन गर्नका लागि भने अझै केही दिन धैर्यतापूर्वक पर्खनुपर्ने देखिन्छ ।

गुटीय टकराव र पार्टीसत्ताको दाउपेच

केही समयअघि विकसित राजनीतिक घटनाक्रम र ‘जेनजी विद्रोह’ को जगमा भएको विशेष अधिवेशनले कांग्रेसभित्र ठुलो फेरबदल ल्याएको थियो । उक्त विशेष महाधिवेशनद्वारा स्थापित गगन थापा नेतृत्वको समूह आगामी १५औँ महाधिवेशनमार्फत आफ्नो शक्ति र कार्यदिशालाई दोहो¥याउने र पार्टीमा पूर्ण रूपान्तरण संस्थागत गर्ने रणनीतिमा सक्रिय छ । अर्कोतर्फ, कांग्रेसको परम्परागत राजनीतिक शक्ति र पुरानो संस्थापन पक्षको प्रतिनिधित्व गर्ने शेरबहादुर देउवा समूह यसपटक जुनसुकै मूल्यमा गगन थापा समूहलाई विस्थापित गर्ने ध्याउनमा छ । देउवा पक्ष विगतको विशेष महाधिवेशनले गुमाएको आफ्नो ‘पार्टीसत्ता’ र विरासतलाई १५औँ महाधिवेशनमार्फत पुनःस्थापित गर्न सम्पूर्ण शक्ति केन्द्रित गरिरहेको देखिन्छ ।

दुई पक्षबीचको यो चरम शक्तिसंघर्ष र अहंको टकरावले आमकार्यकर्ता र शुभेच्छुकहरूमा ठुलो संशय पैदा गरेको छ । के आगामी महाधिवेशन साँच्चै नै विचारको बहस छाडेर दुई समूहबीचको प्रतिशोध साध्ने थलो मात्र बन्ने हो ? यो आशंका आज प्रत्येक कांग्रेसजनको मनमा खेलिरहेको छ । यस्तो तीव्र ध्रुवीकरणले अन्ततः पार्टीलाई फुटतर्फ धकेल्न सक्छ भनी चिन्ता व्यक्त गर्ने एउटा तटस्थ र मध्यमार्गी समूह पनि पार्टीभित्र क्रियाशील छ । यस समूहको स्पष्ट मान्यता छ कि जुनसुकै मूल्य चुकाएर भए पनि आपसी सहमति कायम गरिनुपर्छ र पार्टीलाई फुटको दुर्भाग्यबाट जोगाउनुपर्छ । पार्टीको स्वास्थ्य, संगठनात्मक संवेदनशीलता र भविष्यका लागि यो मध्यमार्गी धारको भनाइ अत्यन्तै दूरदर्शी, परिपक्व र बुद्धिमानीपूर्ण देखिन्छ ।

नेपालको राजनीतिमा युवा पुस्ता, विशेष गरी ‘जेनेरेसन जेड’ को आक्रोश र असन्तोषले परम्परागत राजनीतिक दलहरूलाई ठुलो धक्का दियो । कांग्रेसभित्र पनि देउवा नेतृत्वको कार्यशैलीप्रति युवा पुस्ताको तीव्र असन्तुष्टि चुलिएपछि पार्टी बचाउने हेतुले विशेष महाधिवेशनमार्फत गगन थापाको अगुवाइमा नयाँ नेतृत्व अगाडि सारिएको थियो । आमकार्यकर्तामा एउटा नयाँ ऊर्जा सञ्चार भएको थियो र यही नयाँ नेतृत्वको भरोसामा पार्टी आमनिर्वाचनमा होमियो । तर, निर्वाचनको परिणाम नेपाली कांग्रेसका लागि निकै निराशाजनक र अप्रत्याशित रहन गयो । निर्वाचनमा बेहोर्नु परेको यो लज्जास्पद पराजयपछि आज केन्द्रदेखि गाउँका कुनाकाप्चासम्मका कांग्रेस नेता र कार्यकर्ता पंक्ति गहिरो निराशा र अन्योलमा डुबेका छन् ।

यो पराजयलाई लिएर पार्टीभित्र आरोप–प्रत्यारोपको शृंखला सुरु भएको छ, जसले आन्तरिक दरारलाई अझ फराकिलो बनाएको छ । संस्थापन अर्थात् देउवा पक्ष यो हारको सम्पूर्ण दोष गगन पक्षको थाप्लोमा थुपार्न चाहन्छ । चुनावको मुखमा एकपक्षीय रूपमा विशेष महाधिवेशन गरिएका कारण पार्टीको सन्तुलन बिग्रिएको र त्यसैले हार बेहोर्नु परेको भन्दै देउवा पक्ष आफ्नो बचाउ गरिरहेको छ ।

तर, यसको विपरीत गगन पक्षको ठहर बेग्लै र तथ्यपरक छ । गगन पक्षका अनुसार देउवा पक्ष लामो समयसम्म पार्टीसत्ता र राज्यसत्ताको शीर्ष स्थानमा रहँदा पनि देश र जनताको पक्षमा ठोस, दृश्यमान र सुशासनमुखी काम गर्न पूर्णरूपमा असफल भयो । वर्षौंदेखिको यही कुशासन, नातावाद, र नीतिगत विचलनका कारण जनतामा कांग्रेसप्रति चरम वितृष्णा पैदा भएको थियो, जसको सजाय पार्टीले चुनावमा भोग्नुप¥यो ।

आन्तरिक कलहको मूल्य

‘विनाशकाले विपरीत बुद्धि’ भनेझैँ, आमनिर्वाचनको ठिक पूर्वसन्ध्यामा विशेष महाधिवेशनसम्बन्धी जुन अनपेक्षित विवाद सिर्जना गरियो, त्यसले नेपाली कांग्रेसलाई अपूरणीय र ठुलो संगठनात्मक नोक्सान पु¥यायो । निर्वाचनको कमान्ड सम्हाल्ने र जनतामा एउटा बलियो राजनीतिक सन्देश लिएर जाने समयमा पार्टी आफ्नै आन्तरिक झगडा, समानान्तर कमिटी र गुटीय स्वार्थमा अल्झियो । चुनावको मुखमा घरझगडामै शक्ति खेर फाल्नु आत्मघाती सावित भयो ।

विगतको निर्वाचनको सबैभन्दा क्रूर र यथार्थपरक पक्ष के हो भने, नेपाली कांग्रेसलाई पुस्तौँदेखि बिनासर्त नियमित रूपमा मतदान गर्दै आएका निष्ठावान् र परम्परागत मतदाताहरूले समेत यसपटक कांग्रेससँग खुला विद्रोह गरे । कांग्रेस नेतृत्वको अकर्मण्यता र आन्तरिक कलहबाट वाक्क भएका ती मतदाताहरूले वैकल्पिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई खुला हृदयले मतदान गरे । फलस्वरूप, नयाँ पार्टी रास्वपाले छोटो समयमै ऐतिहासिक जनमत र सिट संख्यासहित संसद्मा आफ्नो बलियो र निर्णायक उपस्थिति दर्ता गराउन सफल भयो ।

यदि कांग्रेसका सबै समूह, गुट र उपगुटहरूले आफ्ना संकुचित स्वार्थहरूलाई त्यागेर, काँधमा काँध मिलाई, एकढिक्का भएर चुनावमा भाग लिएको भए सायद यस्तो निराशाजनक र क्षतिपूर्ण परिणाम आउने थिएन । पार्टीभित्रको अन्तर्घात र गुटबन्दीले नै कांग्रेसको जग हल्लाइदिएको हो । तर, वर्तमान कठिन परिस्थितिमा कांग्रेसजनले केवल अतीतलाई सम्झेर निराश भई अत्तालिनु वा एकापसमा हिलो छ्यापाछ्याप गर्नुभन्दा तथ्यपरक समीक्षा, गम्भीर आत्मालोचना र वस्तुनिष्ठ मूल्यांकन गरेर अघि बढ्नु नै बढी बुद्धिमानी र सान्दर्भिक हुनेछ ।

नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन, यो नेपालको लोकतान्त्रिक आन्दोलन र आधुनिक इतिहासको ‘मियो शक्ति’ हो । देशको राजनीतिलाई दिशानिर्देश गर्ने र संकटमा निकास दिने दायित्व सधैँ कांग्रेसकै काँधमा आउने गरेको छ । त्यसैले, यो पार्टी इतिहासको कुनै पनि कालखण्डमा विभाजित हुनु भनेको सिंगो मुलुकको राजनीति दिशाहीन, गतिहीन र स्थिर हुनु हो । विगतमा कांग्रेस फुट्दा देशले बेहोरेको राजनीतिक मूल्य र वर्तमानमा देखिइरहेका अराजक परिदृश्यहरू यसका अकाट्य प्रमाण हुन् ।

नेपाली कांग्रेसले देशको राजनीतिमा युगान्तकारी र आमूल परिवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको इतिहास साक्षी छ । चाहे २००७ सालको राणाशाही विरोधी जनक्रान्ति होस्, चाहे २०४६ सालको पञ्चायत विरोधी आन्दोलन होस्, वा २०६२÷०६३ का आन्दोलनहरू नै किन नहोन् – कांग्रेसले दृढ र परिपक्व नेतृत्व प्रदान नगरेको भए यी परिवर्तनहरू सम्भव हुने थिएनन् । कांग्रेसको विशेषता र सामथ्र्य नै के हो भने, यसले विभिन्न विचार बोकेका अन्य राजनीतिक शक्तिहरूलाई समेत एउटै मोर्चामा समन्वय गरेर राष्ट्रिय एजेन्डामा नेतृत्व दिँदै आएको छ । आगामी दिनहरूमा पनि मुलुकमा कुनै पनि खालको संवैधानिक, राजनीतिक वा आर्थिक संकट आउँदा सबै दल र पक्षलाई समेटेर देशलाई सही दिशा दिने क्षमता र ऐतिहासिक साख केवल नेपाली कांग्रेससँगै छ ।

परम्परागत भोट बैंकको संकट

इतिहास गौरवपूर्ण भए तापनि वर्तमानमा कांग्रेसका अगाडि चुनौतीका हिमालहरू ठडिएका छन् । कांग्रेसका सामु रहेको पहिलो र सबैभन्दा प्राथमिक चुनौती भनेको विगतको निर्वाचनमा बेहोर्नु परेको गम्भीर हारबाट कठोर पाठ सिक्नु हो । हारका कारणहरूको निर्मम समीक्षा गर्दै पार्टीलाई पुरानो, बलियो र सुदृढ स्थितिमा पु¥याउन दृढतापूर्वक अघि बढ्नु आजको आवश्यकता हो ।

तर, यो बाटो सोचेजस्तो सहज र सरल निश्चितै छैन । किनकि, नेपाली कांग्रेसको जुन परम्परागत र भरपर्दो ‘भोट बैंक’ थियो, त्यसमा रास्वपा जस्ता नयाँ दलहरूले ठुलो धक्का दिँदै कब्जा जमाइसकेका छन् । सहरी र युवा मतदाता, जो कांग्रेसका वैचारिक मेरुदण्ड थिए, उनीहरू आज परिवर्तनको खोजीमा बाहिरिइसकेका छन् । त्यो बिग्रिएको र भत्किएको जनविश्वासलाई पुनःआफ्नो पक्षमा फर्काउन कांग्रेसले आगामी दिनमा कठोर परिश्रम, नीतिगत स्पष्टता र जनतासँगको प्रत्यक्ष संवादलाई पुनर्जीवित गर्नु पर्नेछ । वर्तमान परिप्रेक्ष्यमा रास्वपाले सरकार र सदनमा आफ्नो प्रभाव जमाउँदै र कामको प्रचार गर्दै अगाडि बढिरहेको सन्दर्भमा, कांग्रेसमाथिको राजनीतिक र नैतिक संकट झन् बढी पेचिलो, जटिल र चुनौतीपूर्ण बन्दै गइरहेको छ ।

सहज निकासको सूत्र

कांग्रेसले आफूलाई राष्ट्रिय राजनीतिको पुरानो र निर्विकल्प स्थानमा पुनःस्थापित गर्ने हो भने त्यसको पहिलो र अनिवार्य सर्त भनेको ‘अन्तरपार्टी एकता’ नै हो । गुटबन्दीको रोगले थला परेको पार्टीलाई जोगाउन अब परम्परागत शैलीको जित र हारको लडाइँ प्रत्युत्पादक हुनेछ । यसै सन्दर्भमा, पार्टीलाई सम्भावित विभाजनबाट जोगाउन र दुवै धारलाई सन्तुलनमा राख्नका लागि आमकांग्रेस नेता, कार्यकर्ता र शुभेच्छुकहरूले एउटा साझा र व्यावहारिक विकल्पको चर्चा गर्न थालेका छन् । त्यो विकल्प हो – डा. शेखर कोइरालाको सर्वसम्मत नेतृत्व ।

पार्टीभित्र गगन थापा पक्ष र देउवा पक्ष दुवैका आ–आफ्ना अडान र अकांक्षाहरू छन् । यी दुई समूहबीचको टकरावले पार्टीलाई दुर्घटनातर्फ लैजाने निश्चित भएकाले, मध्यमार्गी र सन्तुलित व्यक्तित्वका रूपमा डा.शेखर कोइरालालाई १५औँ महाधिवेशनबाट सहमतिको नेतृत्व सुम्पिनु नै सबैभन्दा सुरक्षित र सहज निकास हुन सक्छ । डा.कोइरालाको शालीनता, वैचारिक स्पष्टता र कोइराला विरासतका कारण उनी पार्टीका दुवै धारका लागि स्वीकार्य बन्न सक्छन् । दुवै पक्षले आ–आफ्नो हठ त्यागेर उहाँको नेतृत्वमा सहमति कायम गरेमा एकातिर पार्टीको आन्तरिक एकता जोगिनेछ भने अर्कोतिर पार्टीले नयाँ ऊर्जाका साथ उदीयमान राजनीतिक चुनौतीहरूको सामना गर्ने सामथ्र्य प्राप्त गर्नेछ ।
अब कांग्रेसको पूर्ण विनाश वा अवसान होस् भन्ने कुरा कांग्रेसका आमदेशभक्त नेता, निष्ठावान् कार्यकर्ता र हित चाहने लाखौँ शुभचिन्तकहरू पक्कै पनि चाहँदैनन् । कांग्रेस बलियो हुनु भनेको नेपालको लोकतन्त्र र विधिको शासन बलियो हुनु हो । त्यसैले, इतिहासको यो कठिन मोडमा कांग्रेस विभाजन नहोस् र पार्टी एकताबद्ध भएर अघि बढोस् भन्ने साँचो चाहना राख्ने प्रत्येक व्यक्ति अब मूकदर्शक बनेर बस्नु हुँदैन ।

पार्टीभित्रका दुवै प्रमुख समूह, गगन थापा समूह र देउवा समूहका शीर्ष नेताहरूलाई आ–आफ्नो व्यक्तिगत महत्वाकांक्षा र गुटीय हठ त्याग्नका लागि कार्यकर्ता र शुभचिन्तक तहबाट निरन्तर दबाब दिइरहनु पर्छ । नेतृत्वका गलत कदमहरूमाथि निरन्तर खबरदारी गर्नु र उनीहरूलाई सहमतिको विन्दुमा आउन बाध्य पार्नु नै अहिलेको सबैभन्दा ठुलो र प्रमुख राष्ट्रिय आवश्यकता हो ।

अन्ततः, आगामी १५औँ महाधिवेशनलाई नेपाली कांग्रेसका विभिन्न समूहहरूले केवल आफ्नो अहंकार तुष्ट गर्ने र बदला लिने ‘द्वन्द्वको रणभूमि’ बनाउँछन्, या विगतका गल्तीहरूबाट पाठ सिकेर देश र लोकतन्त्रका लागि ‘सहमतिको महाधिवेशन’ बनाउँछन् ? यसै प्रश्नको उत्तरमा नै नेपाली कांग्रेसको भविष्य, यसको अस्तित्व र सिंगो मुलुकको राजनीतिक दिशा निर्धारण हुनेछ ।

यदि कांग्रेसका शीर्ष नेता र सबै समूहले आफ्नो व्यक्तिगत महत्वाकांक्षा, गुटीय स्वार्थ र अहम्तालाई तिलाञ्जली दिएर, आमकार्यकर्ताको भावना अनुरूप सहमतिका साथ अगाडि बढ्ने ऐतिहासिक साहस देखाए भने कांग्रेस विभाजनको त्यो दुर्भाग्यपूर्ण र आत्मघाती अवस्थाबाट जोगिनेछ । एकताबद्ध कांग्रेसले मात्रै गुमेको जनविश्वास फर्काउन सक्छ र रास्वपा लगायतका दलहरूले सिर्जना गरेको चुनौतीलाई चिर्दै देशको मियो शक्तिका रूपमा पुनरागमन गर्न सक्छ । नेतृत्वको दूरदर्शिता र कार्यकर्ताको विवेकपूर्ण खबरदारीले नै १५औँ महाधिवेशनलाई कांग्रेसको पुनर्जीवन र रूपान्तरणको ऐतिहासिक प्रस्थानविन्दु बनाउन सक्नेछ ।

प्रतिक्रिया