होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य सेवा, दीर्घरोग र मानसिक समस्या पहिचान

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राधास्वामी सत्संग क्षेत्रमा रहेका होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुमवासीहरूको नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सञ्चालन भएपछि उनीहरूमा रहेका विभिन्न शारीरिक तथा मानसिक स्वास्थ्य समस्याहरू पहिचान हुन थालेका छन् । थापाथलीलगायत बागमती किनारका जोखिमपूर्ण बस्तीबाट ल्याइएका सुकुमवासीहरू लामो समयदेखि असुरक्षित वातावरण, प्रदूषित पानी र न्यून स्वास्थ्य पहुँचका कारण विभिन्न रोगबाट प्रभावित रहेको तथ्यांकले देखाएको छ । स्वास्थ्य परीक्षणका क्रममा उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वाससम्बन्धी समस्या, मानसिक स्वास्थ्य समस्या तथा मांशपेशीसम्बन्धी रोगहरू उल्लेख्य मात्रामा भेटिएका छन् ।

दशरथ रंगशालामा प्रारम्भिक परीक्षण गरिएका ४९७ जनामध्ये करिब ३० प्रतिशतमा उच्च रक्तचाप, १५ प्रतिशतमा मधुमेह, १६ प्रतिशतमा मांशपेशीसम्बन्धी समस्या तथा १३.५ प्रतिशतमा ग्यास्ट्रिक समस्या देखिएको थियो । होल्डिङ सेन्टरमा थप परीक्षणपछि धेरै व्यक्तिमा अन्य स्वास्थ्य जटिलतासमेत पत्ता लागेका छन् । स्वास्थ्य समस्या पहिचानसँगै उपचार तथा परामर्श सेवा पनि निरन्तर सञ्चालन भइरहेको छ । स्वास्थ्यकर्मीहरूका अनुसार खोला किनारको असुरक्षित बसोबासले सुकुमवासीहरूको स्वास्थ्यमा गम्भीर असर पारेको छ । संकलित तथ्यांकले साढे ३८ प्रतिशत परिवारमा कुनै न कुनै सदस्यको मृत्यु बसोबासकै अवधिमा भएको देखाएको छ ।

बाढी, डुबान तथा अन्य दुर्घटनाबाट करिब ९.५ प्रतिशत, दम र निमोनियाबाट ८ प्रतिशत तथा क्षयरोग, डेंगु र टाइफाइडजस्ता सरुवा रोगबाट ८ प्रतिशत मृत्यु भएको पाइएको छ । मुटुरोग, क्यान्सर र उच्च रक्तचापजस्ता नसर्ने रोगका कारण पनि २८ प्रतिशत मृत्यु भएको चिकित्सकहरूले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाको नेतृत्वमा पाटन अस्पताल, प्रसूति गृह र मानसिक अस्पतालका विशेषज्ञसहितको टोलीले विभिन्न सेन्टरमा नियमित परीक्षण र उपचार सेवा दिँदै आएको छ । जटिल रोगका बिरामीहरूलाई आवश्यकतानुसार राजधानीका विभिन्न अस्पतालमा पठाएर उपचार गराइँदै छ ।

होल्डिङ सेन्टरमा बसोबास गरिरहेका डम्बर तामाङले नियमित स्वास्थ्य परीक्षणका कारण आफ्ना पुराना स्वास्थ्य समस्या पहिचान गर्न सकेको बताए । आँखाको रेटिनासम्बन्धी समस्या देखिएपछि उनलाई थप उपचारका लागि विशेषज्ञ अस्पतालमा पठाइएको छ । त्यस्तै अन्य परिवार सदस्यहरूको पनि स्वास्थ्य परीक्षण गरिएको छ । ५० वर्षीया पुनम मगरले सेन्टरमा आएपछि उच्च रक्तचाप, मधुमेह र नसासम्बन्धी समस्याको उपचार गराउने अवसर पाएको बताए । यद्यपि अस्पतालमा केही औषधि आफैँले खरिद गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यलाई पनि विशेष प्राथमिकता दिइएको छ । मानसिक अस्पताल पाटनका मनोचिकित्साविद् सुलभराज उप्रेतीका अनुसार लामो समय असुरक्षित वातावरणमा बसेका धेरै व्यक्तिमा मानसिक तनाव, चिन्ता तथा अन्य मनोवैज्ञानिक समस्या देखिएका छन् । ‘विशेषज्ञ टोलीले ६०० भन्दा बढी व्यक्तिसँग व्यक्तिगत परामर्श गरेको छ,’ उनले भने । मानसिक स्वास्थ्य परीक्षणमा सहभागी ५५३ जनामध्ये ८२.८ प्रतिशत परिवारसँग अन्यत्र बसोबासको विकल्प नभएकाले नदीकिनारमा बस्न बाध्य भएको पाइएको छ ।

२४.६ प्रतिशत परिवारले ३ पुस्तादेखि त्यही क्षेत्रमा जीवन बिताएका थिए । अध्ययनका क्रममा केही व्यक्तिमा आत्महत्याको सोच, मदिराजन्य समस्या तथा विशेष मनोरोग सेवाको आवश्यकता समेत देखिएको चिकित्सकहरूले बताएका छन् । मनोसामाजिक परामर्श र उपचारपछि धेरै व्यक्ति सामान्य दैनिकीमा फर्किन थालेका छन् । बालबालिकालाई नजिकका विद्यालयमा भर्ना गरिएपछि अभिभावकहरूको चिन्ता पनि केही कम भएको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी स्वकीय उपसचिव प्रकृति ढकालका अनुसार होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुमवासीहरूको रोग पहिचानमा मात्र नभई आवश्यक उपचार, परामर्श तथा जटिल बिरामीका लागि विशेष स्वास्थ्य सेवाको व्यवस्था गर्न सरकार सक्रिय छ । उनले आवश्यकताअनुसार थप उपचार व्यवस्थापन गरिने पनि जानकारी दिइन् । नियमित स्वास्थ्य सेवा र परामर्शले होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरूमा सुरक्षित र व्यवस्थित जीवनप्रति आशा जगाएको स्वास्थ्यकर्मीहरूको निष्कर्ष छ ।

प्रतिक्रिया