
सिरहा । सहरी विकासमन्त्री सुनिल लम्सालले आगामी असार २५ गतेभित्रै कमला पुल सञ्चालन हुने गरी काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । शनिबार पुलको अनुगमन गर्दै उनले निर्माण कम्पनीलाई भासिएको स्ल्याबको काम पूर्ण रूपमा सम्पन्न गरी महिना दिनभित्रै पुल सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् । मन्त्री लम्सालले पुल निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न सरकार तयार रहेकाले कुनै समस्या नहुने बताए ।
निरीक्षण टोलीमा सिरहा–१ का सांसद बब्लु गुप्ता, क्षेत्र–२ का सांसद शिवशंकर यादव, हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका योजना प्रमुख कृष्णकुमार महतो र सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललगायत थिए । यसअघि स्थानीय बासिन्दाले आव २०८३÷८४ को बजेटमा सरकारले कमला पुलको पुनर्निर्माणका लागि आवश्यक बजेट विनियोजन नगरेको भन्दै गुनासो पोख्दै आएका थिए । पुल समयमै नबन्दा यस क्षेत्रका जनताले वर्षौंदेखि आवतजावतमा सास्ती भोग्दै आएका छन् ।
स्थानीय युवा तथा रास्वपा औरही गाउँपालिका सभापति सन्तोष यादवले मन्त्री लम्सालको निर्देशनबारे जानकारी दिँदै भने, ‘मन्त्रीले कमला पुलको निरीक्षण गरी ठेकेदारलाई काम चाँडो सक्न निर्देशन दिनुभएको छ । उहाँले आर्थिक समस्या नहुने भन्दै प्रतिबद्ध भएर काम गर्न निर्देशन दिएकाले स्थानीयमा केही आशा जागेको छ । पुल निर्माण भएमा वर्षौंदेखिको सास्ती हट्नेछ ।’
२०६८ सालमा ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरी काम थालिए पनि पटक–पटक म्याद थपेर २०७८ असारमा पुल निर्माण अन्तिम चरणमा पुगेको थियो । लगत्तै सोही असारमा आएको बाढीले दुइटा पिलर भासिएर ४ वटा स्ल्याबमा गम्भीर क्षति पु¥याएपछि पुल सञ्चालनमा आउन सकेन । निर्माण कम्पनी लुम्बिनी बिल्डर्सले आगामी असार मसान्त अर्थात् तोकिएको समय सीमाभित्रै काम सक्ने लक्ष्यका साथ आफूहरू लागिरहेको बताएको छ ।
प्रतिक्रिया