
धादिङ । धादिङको धुनिबेशी नगरपालिका–२ का किसानहरू यतिबेला माघ र चैत महिनामा रोपिएको सयपत्री फूलबारी निखार्ने तयारीमा जुटेका छन् । धान तथा विभिन्न तरकारी खेतीको सिजन सुरु हुन लागेकाले उनीहरूले फूल खेती समापन गर्दै नयाँ बाली लगाउने तयारी गरेका हुन् ।
किसानहरूका अनुसार दशैँ–तिहारको समयमा सयपत्री फूलको माग र मूल्य दुवै उच्च हुने गरे पनि अहिले अफसिजनमा मूल्य उल्लेख्य रूपमा घटेको छ । पर्वका बेला प्रतिकिलो १५० रुपैयाँसम्ममा बिक्री हुने सयपत्री फूल अहिले प्रतिकिलो ५० रुपैयाँमा बिक्री गर्न बाध्य भएको किसानहरू बताउँछन् ।
दुई वर्षदेखि व्यावसायिक फूल खेती गर्दै आएकी स्थानीय किसान फूलमाया तामाङले सिजनमा व्यापारीहरू बारीमै आएर फूल खरिद गर्ने र राम्रो मूल्य दिने गरे पनि अहिले अवस्था फरक रहेको बताइन् । उनका अनुसार अहिले फूल सिधै गाडीमार्फत काठमाडौंको कालिमाटी बजार पठाउनुपरेको छ ।
‘मूल्य पनि घटेको छ, अब फूल खेतीको अन्तिम समय भएकाले बारी निखार्ने बेला भएको छ,’ उनले भनिन् । फूलबारी खाली गरेपछि धान तथा मौसमी तरकारी खेती सुरु गरिने उनले जानकारी दिइन् ।
स्थानीय किसान सुन्तली तामाङ र उनका श्रीमान् पनि यतिबेला फूल टिप्न व्यस्त छन् । उनीहरूका अनुसार सयपत्री फूलले सिजनमा राम्रो आम्दानी दिए पनि अफसिजनमा उचित मूल्य नपाउँदा किसानहरू निराश हुने गरेका छन् ।
मनसुन सुरु भएसँगै फूल खेतीमा थप चुनौती देखिएको छ । वर्षायाममा फूलमा रोग तथा कालो दाग लाग्ने समस्या बढ्ने भएकाले उत्पादन खेर जाने गरेको किसानहरूको भनाइ छ ।
काठमाडौंको सीतापाइला देखि धादिङको धार्के सम्मको सडक सञ्जाल विस्तार भएपछि यस क्षेत्रमा आर्थिक गतिविधि बढ्दै गएको छ । सडक पहुँच सहज बनेसँगै किसानहरूले उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य कृषि उपज बजारसम्म पुर्याउन सहज भएको छ, जसले स्थानीय कृषि व्यवसायलाई थप टेवा पुर्याएको छ ।–तस्विर नेपाल फोटो लाइब्रेरी



















प्रतिक्रिया