काठमाडौं–शेन्जेन सिधा उडान सुरु, एकै दिन आए १७५ जना चिनियाँ पर्यटक

काठमाडाैं । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले जुन ४, २०२६ देखि नेपालको राजधानी काठमाडौं र चीनको प्रविधि हब मानिने सहर शेन्जेनबीच ऐतिहासिक सिधा उडान सेवा सुरु गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र शेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलबीच साप्ताहिक रूपमा दुई सिधा उडानहरू सञ्चालन गर्ने गरी यो सेवा प्रारम्भ गरिएको हो । यस ऐतिहासिक मार्गको उद्घाटन उडानमार्फत नै एकै दिन १७५ जना चिनियाँ पर्यटकहरू नेपाल भित्रिएका छन् ।

कम्पनीको नियमित तालिका अनुसार काठमाडौंबाट शेन्जेनका लागि प्रत्येक मंगलबार र बिहीबार राति उडानहरू हुनेछन् भने शेन्जेनबाट काठमाडौंका लागि प्रत्येक बुधबार र शुक्रबार बिहान जहाजहरू फर्कने छन् । पहिलो उद्घाटन उडान (H9 ९८५) जुन ४ मा काठमाडौंबाट प्रस्थान गरी जुन ५ को बिहान चिनियाँ समय अनुसार ०४:१७ बजे शेन्जेनमा अवतरण भएको थियो ।

सोही दिन शेन्जेनबाट फर्किएको विमान चिनियाँ समय अनुसार बिहान ०६:१२ बजे १७५ जना यात्रुसहित उडान भरी नेपाली समय अनुसार बिहान ०८:२६ बजे काठमाडौंमा सफलतापूर्वक अवतरण गरेको हो । यो नयाँ हवाई मार्गको सुरुवातसँगै नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा जनस्तरको सम्पर्क थप बलियो हुने विश्वास गरिएको छ ।

खासगरी चिनियाँ पर्यटकका लागि नेपाल आगमन सहज बनाउन र नेपालको पर्यटन प्रवर्द्धनमा यसले ठुलो टेवा पुर्‍याउने एयरलाइन्सले जनाएको छ । सन् २०१४ मा नेपाल-चीन संयुक्त साझेदारीमा स्थापित हिमालय एयरलाइन्स हाल ४ वटा विमानमार्फत मध्यपूर्व र दक्षिण एसियाका विभिन्न मुलुकहरूमा उडान भरिरहेको छ ।

प्रतिक्रिया