होटल र स्पाको आवरणमा बाल शोषणको जोखिम बढेपछि गोकर्णेश्वरमा चलाइयो अभियान

काठमाडौं । मनोरञ्जन क्षेत्र, होटल र स्पा व्यवसायको विस्तारसँगै १८ वर्षमुनिका बालबालिकाहरू यौन व्यवसाय र श्रमको उच्च जोखिममा पर्न थालेपछि गोकर्णेश्वर नगरपालिका– ५ मा एउटा फरक र आक्रामक जनचेतनामूलक अभियान सञ्चालन गरिएको छ ।

‘अब लुक्दैन, हरेक आँखा क्यामेरा, हरेक मान्छे रिपोर्टर’ भन्ने मूल नाराका साथ बागमती करिडोरको खुला चौरमा आयोजित उक्त कार्यक्रमले समाजका विकृतिविरुद्ध प्रत्येक नागरिकलाई नै ‘रिपोर्टर’ वा सूचना अधिकारीको भूमिकामा उभ्याउने प्रयास गरेको छ ।

बढ्दो सहरीकरण र व्यवसायको आवरणमा लुकेर हुने बाल बेचबिखन तथा बाल अधिकार उल्लंघनका घटनाले समुदायको सुरक्षा र सामाजिक सद्भावमा गम्भीर धक्का पुर्‍याइरहेको निष्कर्ष निकाल्दै सरोकारवालाहरूले अब सरकारी निकायको मुख मात्र ताक्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्ने वक्ताहरूले समाजको हरेक सचेत नागरिकले आफ्नो आँखालाई क्यामेरा जस्तै चनाखो बनाउने र शंकास्पद गतिविधि देखिनासाथ सम्बन्धित निकायमा उजुरी गर्ने हो भने बाल शोषणका घटना स्वतः नियन्त्रण हुने विश्वास व्यक्त गरे ।

गोकर्णेश्वर नगरपालिका मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिकी संयोजक एवं वडा सदस्य लक्ष्मी पुडासैनीको सभापतित्वमा सम्पन्न उक्त अभियानमा नगर प्रवक्ता नारायण सुवेदी प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

स्थानीय तह र कानुन कार्यान्वयन गर्ने निकायबिचको बलियो सहकार्यले मात्र यस्ता अपराध रोक्न सकिने सन्देश दिँदै कार्यक्रममा वडा सदस्य धर्म थिङ लामा, बौद्ध प्रहरी वृत्तका प्रमुख सन्तोष रोक्का र सामुदायिक प्रहरी जोरपाटीका सदस्य भवनाथ पाठकले अपराधमुक्त समाज निर्माणमा प्रहरी र नागरिक हातेमालोको आवश्यकता औँल्याए ।

विभिन्न क्लब, टोल विकास संस्था तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरूको व्यापक सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन सम्झना पौडेलले गरेकी थिइन् । खुला चौरमा जम्मा भएका सहभागीहरूले बाल श्रम र यौन शोषणविरुद्ध सामूहिक आवाज उठाउने र आफ्नो टोल–छिमेकमा हुने बालबालिकामाथिका अन्यायविरुद्ध नलुकीकन सशक्त रूपमा प्रस्तुत हुने प्रतिबद्धता समेत जनाएका थिए ।

प्रतिक्रिया