रहस्यकै गर्भमा : नमिता सुनितादेखि निर्मला पन्त हत्याकाण्डसम्म

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की निर्मला पन्तको बलात्कार र विभत्स हत्या गरिएको ८ वर्ष पुग्नै लागेको छ । एकताकाको सर्वाधिक चर्चामा रहेको जिउ नै सिरिंग हुने यो घटना धेरैले बिर्सिंदै गएका पनि होलान्, तर निर्मलाकी आमा दुर्गादेवीलाई भने दैनिक छोरी निर्मलाको याद आइरहन्छ । आमाको मन न हो घरमा मिठो मसिनो पाक्दा, कुनै चाडपर्व आउँदा अथवा निर्मलाकै उमेरका किशोरी देख्दा दुर्गादेवीलाई ८ वर्षअगाडि १० साउन २०७५ मा संसार छाडेकी निर्मलाको याद झन् ताजा बनेर आउँछ ।

बितेको ८ वर्षमा कञ्चनपुरको छेउबाट बग्ने महाकाली नदीमा धेरै पानी बगिसकेको छ, भने निर्मलाकी आमाको आँखाको भेल रोकिएको छैन । यो अवधिमा गाउँ, समाज, राज्य संयन्त्रमा धेरै परिवर्तन भइसकेको छ । पटकपटक सरकार फेरिए, गृहमन्त्री पनि फेरिए अनि सुरक्षा प्रमुख, जनप्रतिनिधि पनि फरिए तर अहिलेसम्म दोषीको पहिचान भएको छैन ।

निर्मला बुबा–आमा थकित छन् तर न्यायको पर्खाइ भने कायमै छ । पछिल्लोपटक जेनजी आन्दोलनबाट पुराना दल तथा नेताहरूको रजगज हटेर नयाँ पुस्ताको हातमा सत्ताको वागडोर आएको छ । तैपनि निर्मला पन्त हत्याको घटना प्राथमिकतामा पर्न सकेको देखिँदैन । निर्मला पन्तको हत्या हुँदा सञ्चारकर्मी रहेका रवि लामिछाने अहिले संसद्को ठुलो दल रास्वपाका सभापति छन् । उनले पटकपटक हत्यारा पत्ता लगाउने वाचा गरे पनि उनकै दलको शक्तिशाली सरकार हुँदा पनि त्यो विषयमा कहिँ कतै कुनै शब्द सुनिएको छैन ।

के थियो घटना ?

साउन १० गते दिउँसोको गृहकार्य गर्छु भन्दै नजिकै रहेको साथीको घरमा गएका बेला बेपत्ता भएकी निर्मला साउन ११ गतेको बिहान स्थानीय उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । शवको प्रकृति र शव परीक्षण रिर्पोटपछि निर्मलाको बलात्कारपछि हत्या देखिएको थियो ।

भदौ ४ गते प्रहरीले निर्मलाको बलात्कारपछि हत्या गरेको भन्दै दिलीप विष्टलाई सार्वजनिक गरेपछि घटनाले अर्कै मोड लियो । मानसिक अवस्थासमेत ठीक नभएका विष्टलाई सार्वजनिक गरेको भन्दै कञ्चनपुर प्रहरीविरुद्ध आन्दोलन चर्किएको थियो । वास्तविक दोषी बचाउन नक्कली अभियुक्त खडा गरेको भन्दै कञ्चनपुरमा आन्दोलन चर्किएको थियो । आन्दोलनले उग्र रूप लिएपछि प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका–१८ का १४ वर्षीय सन्नी खुनाको ज्यान गएको थियो ।

केन्द्रीय अनुसन्धान ब्युरो, (सिआइबी) लगायतका स्थानबाट प्रहरी अधिकारी पुगेर अनुसन्धान गर्दा पनि पत्ता लाग्न नसकेको यो घटना नेपाल प्रहरीको इतिहासमै यो सबैभन्दा पेचिलो, खर्चिलो अनुसन्धानको सूचीमा मध्येमा पर्दछ ।
घटनामा संलग्न भनिएका दिलीपको डिएनए नमिलेपछि उनी रिहा भए । योसँगै कञ्चनपुर प्रहरीले अनुसन्धानमा लापरबाही गरेको, प्रमाण नष्ट गरेका जस्ता आरोपमा तत्कालीन प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्ट, वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई बर्खास्त ग¥यो । अनुसन्धानमा खटिएका सिआइबीका तत्कालीन डिएसपी अंगुर जिसी, जिल्ला प्रहरी कार्यालयका तत्कालीन डिएपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायब निरीक्षक रामसिंह धामी, हरीसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई पनि निलम्बन गरिएको थियो ।

१२३ जनाको डिएनए परीक्षण

यो घटनामा प्रत्यक्ष र अप्रत्यक्ष गरी १२३ जनाभन्दा बढीको डिएनए परीक्षण गरियो । बहालवाला प्रहरी अधिकारीको समेत डिएनए टेस्ट गराइएको सायद यो पहिलो घटना हो । घटनाको समयमा कञ्चनपुरका कार्यरत रहेका एसपी डिल्लीराज विष्ट र उनका छोराको समेत डिएनए टेस्ट गराइएको थियो । तर कसैको पनि म्याच हुन सकेन, जसका कारण अनुसन्धान अपुरै छ ।

विभिन्न समिति गठन

निर्मला पन्तको हत्याबारे छानबिन र अनुसन्धान गर्न विभिन्न समिति गठन गरिएका थिए । २०७५ भदौ ६ मा सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पहिलो समिति बनेको थियो । त्यसपछि भदौ १४ मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) धिरु बस्न्यातको नेतृत्वमा छानबिन समिति बन्यो । सोही वर्षकै कात्तिक २७ मा राष्ट्रिय मानवअधिकार आयोगले समिति गठन गरेको थियो ।

२०७६ भदौ २६ मा डिएनए विज्ञ जीवनप्रसाद रिजालको नेतृत्वमा गठन भएको थियो । उक्त समितिले पनि घटनाबारे छानबिन गरेर सुझाव दिएको थियो । २०७६ माघ ११ मा तत्कालीन डिआइजी सुरज केसीको नेतृत्वमा बनेको पुनरवलोकन समितिले पनि प्रतिवेदन दिएको थियो ।

२०७९ पुसमा सिआइबीमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डिआइजी) दुर्गा सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । रवि लामिछाने गृहमन्त्री बनेकै दिन निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएअनुसार उक्त समिति गठन गरिएको थियो । समितिमा सिआइबीकै प्रहरी उपरीक्षक कमल थापा, प्रहरी निरीक्षक धीरेन्द्र रोकायासहित चिकित्सक सहभागी थिए । सरकार र गृहमन्त्री फेरिएपछि यो समितिले प्रतिवेदन बुझाउन पाएन ।

०००

नमिता–सुनिता हत्याकाण्ड

२०३८ जेठ २४ गते पोखराको बेगनास ताल घुम्न गएका ३ जना युवती दिउँसै हराएको घटना नेपालीहरूको मानसपटलबाट हटेको छैन । नमिता–सुनिता हत्याकाण्डको नामले चर्चित यो घटनाले तत्कालीन पञ्चायती सरकारमा समेत कम्पन ल्याएको थियो ।

सार्वजनिक भएका विवरणअनुसार काठमाडौँको लाजिम्पाटका युवतीहरू नमिता भण्डारी, सुनिता भण्डारी र नीरा पराजुली २०३८ जेठ १८ को बिहान ७ बजे पोखरा घुम्न निस्किएका थिए । उनीहरूसँग नमिता–सुनिताका दाजु (ठुलोबुबाका छोरा) बल्लभ भण्डारी, उनकी श्रीमती विजया, बहिनी शारदा र छोरा पनि थिए । जेठ २४ गते शनिबार बिहान सबेरै तीनै युवतीहरू बेगनास ताल घुम्न जाने योजना बनाएर हिँडे । तर, त्यही दिनदेखि तीनै जना बेपत्ता भएका थिए  ।

जेठ २९ गते बिहीबार सेती नदी किनारमा पृथ्वीनारायण क्याम्पसमुनिको खोँचबाट १ युवतीको शव फेला परेको थियो । निर्वस्त्र अवस्था भेटिएको शवको घाँटीमै झुन्डिएको लेडिज ब्यागमा दुवै दिदी–बहिनी (नमिता र सुनिता) को परिचयपत्र र सुनको लकेट फेला परेको थियो । उनी नमिता थिइन् ।

शवको अवस्थाले हिंसा र बलात्कारको संकेत गरिरहेको भए पनि गण्डकी अञ्चल अस्पतालको पोस्टमार्टम रिपोर्टमा ‘पानीमा डुबी श्वास लिन नसकी मृत्यु भएको’ भनिएको थियो । त्यसको ठ्याक्कै ९ दिनपछि, असार ६ मा सेती नदी किनारमा अर्की युवती सुनिताको शव फेला प¥यो । नीराको भने अझै अत्तोपत्तो छैन ।

रहस्यमय बनेको यो घटना २०५८ जेठ २९ मा पोखरास्थित तत्कालीन पुनरावेदन सरकारी वकिल कार्यालयले जिल्ला सरकारी वकिल कार्यालयलाई गोप्य पत्र पठाएर यो मुद्दा बन्द गरिएको थियो  । त्यसपछि १८ मंसिर २०६० मा फाइल काठमाडौँ पठाइयो र मुद्दा पूर्णतया बन्दको अवस्थामा छ ।

प्रतिक्रिया