झन्डै ३० हजार वर्ष पहिले, हिमयुगमा मध्य युरोपको सानो ओडारमा केही सिकारीहरूले आगोको वरिपरि बसेर गिलो माटोबाट बनाएको नारीको सानो मूर्तिलाई आगोको भुंग्रोमा हालिदिए । भोलिपल्ट आगो निभेपछि खरानीमा कडा र पानीले नपग्लिने मूर्ति पाए । चेक गणतन्त्रमा फेला पारेको ‘भेनस अफ डोल्नी भेस्टोनिस’ नामको यो मूर्ति नै संसारको सबैभन्दा पुरानो सिरामिक कलाकृति मानिन्छ ।

संसारका कुनै पनि कुनामा बस्ने मानिसका लागि ‘माटो’ केवल भुइँको धुलो वा खेती गर्ने माध्यम मात्र होइन । यो राष्ट्रियता, पहिचान र संवेदनासँग जोडिएको भावना हो । भान्सा, घरको सुन्दरताको लागि फूल रोप्ने गमलादेखि तिहारमा बालिने पाला, चिसो पानी भर्न प्रयोग हुने गाग्रो, सुराही, यी सबै पारिवारिक स्मृति र न्यानोपनका साक्षी हुन् । वास्तवमा सिरामिक्स मानव इतिहासकै पहिलो इन्जिनियरिङ मेटेरियल हो, जसले आजको अत्याधुनिक स्मार्टफोनदेखि लिएर रकेटसम्म योगदान गरेको छ । मानिसले धातु पगाल्ने र प्लास्टिकको आविष्कार हुनुभन्दा हजारौँ वर्ष पहिले नै सिरामिक्सको ज्ञान प्रप्त गरिसकेका थिए । प्रकृतिमा पाइने गिलो माटोलाई आगोमा तताउँदा त्यो कहिल्यै नगल्ने र नकुहिने कडा चट्टान जस्तो बन्छ भन्ने कुराको ज्ञान नै मानव इतिहासको पहिलो प्राविधिक क्रान्ति थियो । यसको महत्व यति मात्र होइन कि यसले मानिसलाई भाँडाकुँडा दियो, बरु यसले मानिसलाई प्रकृतिमाथि विजय प्राप्त गर्ने र नयाँ पदार्थ निर्माण गर्ने आँट दियो ।
अवोध बालापनमा माटोमा खेल्दै चल्ने औँलाहरू होस वा अली जान्ने भएपछिका गिलो माटाका भाँडाकुटी खेल, खेतबारीमा अन्नपात उब्जाउन चलेका हातगोडा वा माटो र औँलाको पिरती, चाउरी परेर पत्रैपत्रले भरिएको वृद्ध कुमालेको हातले चक्रमा आकार दिँदै गरेको बस्तुसँगै निरन्तर घुमिरहन्छ । पृथ्वीमा पाइने माटो, चट्टान र खनिज मध्ये माटो नै यस्तो बस्तु हो, जुन बालकदेखि वृद्धसम्म, अबोधदेखि ज्ञानीसम्म, कृषकदेखि वैज्ञानिकसम्म, मजदुरदेखि उद्योगीसम्म मात्रै होइन जन्म, जीवन र मृत्युसम्म अटुट सम्बन्ध रहन्छ । गाँस वा बासका लागि होस् वा सम्पन्नता, जसले उपयोग गर्न जान्यो, माटोमा डिजाइन र कला भर्न जान्यो, विज्ञानको फाइदा लिन जान्यो, त्यही नै सफल भयो । जबसम्म यो धरती र मानव सम्यता रहन्छ, जीवन र कलाको रूपमा माटोको मानवसँग निरन्तर सम्बन्ध रही रहन्छ, सदैव परिस्कृत र प्रगाढ बन्दै जान्छ ।

कुमालेको पुख्र्यौली पेसाको आघुनिक नाम ‘पोट्री’ भनेको माटोबाट भाँडाकुँडा र वस्तुहरू बनाउने प्राचीन शिल्प र प्रक्रिया हो । काँचो माटोका बस्तु भट्टीमा उच्च तापमा पकाउने वा पोल्ने प्रकृया प्रविधि हो । ‘पोट्री’ ले कला र उपयोगितालाई जोड्छ, जसको परिणामस्वरूप टेबलवेयर, सजावटी सामग्रीहरू र परम्परागत माटोका भाँडाहरू र मूर्तिकला जस्ता वस्तुहरू बन्छन् । बालकको बोली नफुट्दै मन लागेको आकार र रूप दिन सकिने सामान्य माटो ज्ञान, विज्ञान र प्रविधिको विकाससँगै जटिल पनि बन्दै गएको छ ।
कम तापक्रममा पोलिएको साना छिद्र भएका माटोबाट बनेका भाँडाकुँडालाई ‘अर्थवेयर’, उच्च तापक्रममा पोलिएको टिकाउ भाँडाकुँडालाई ‘स्टोनवेयर’, चम्किलो, सेतो, उच्च तापमा पोलिएकोे ‘पोरसिलिन’, माटोबाट बनेका वस्तुहरू ‘क्लेवेयर’, रातो–खैरो रंगको माटोको भाँडाकुँडा ‘टेराकोटा’, माटोका घरायसी भाँडाकुँडा र टेबलवेयर ‘क्रोकरी’, ‘चाइना क्ल’ माटोसँग सम्बन्धित थुप्रै शब्दहरू छन् । भाँडाकुँडाका लागि ‘सिरामिक्स’ जति सामान्य शब्द छ, आधुनिकतासँगै निर्माण र मेसिनरीमा यसको प्रयोगको बिस्तारसँगै सिरामिक्स जटिल पनि भएको छ ।
सिरामिक्स : पहिलो इन्जिनियरिङ सामग्री
झन्डै ३० हजार वर्ष पहिले, हिमयुगमा मध्य युरोपको सानो ओडारमा केही सिकारीहरूले आगोको वरिपरि बसेर गिलो माटोबाट बनाएको नारीको सानो मूर्तिलाई आगोको भुंग्रोमा हालिदिए । भोलिपल्ट आगो निभेपछि खरानीमा कडा र पानीले नपग्लिने मूर्ति पाए । चेक गणतन्त्रमा फेला पारेको ‘भेनस अफ डोल्नी भेस्टोनिस’ नामको यो मूर्ति नै संसारको सबैभन्दा पुरानो सिरामिक कलाकृति मानिन्छ । मेसोपोटामिया, प्राचीन इजिप्ट, र इन्डस भ्याली सिभिलाइजेसनसम्म आइपुग्दा सिरामिक्स मानव जीवनको मेरुदण्ड बनिसकेको थियो । जब मानव जाती फिरन्ते जीवन छोडेर खेतीपाती गर्न थाले, उनलाई अन्न र पानी भण्डारण गर्ने समस्या आइपर्यो । यही आवश्यकताले ‘पोट्री’ अर्थात् माटोका भाँडाकुँडाको जन्म गरायो । कुमालेको चक्र (पाङ्ग्रो) को आविष्कारले उत्पादकत्व वृद्धि गर्दै ‘मास प्रोडक्सन’ गर्ने प्रविधि दियो ।

माटोको कलात्मक अभिव्यक्ति
सिरामिक्सको क्षेत्रमा केही यस्ता अद्भुत कलाकृतिहरू बनेका छन्, जसले साधारण माटोलाई संसारकै सबैभन्दा प्रतिष्ठित र मूल्यवान् कलाको कसीमा पुर्याएका छन् । महान् चित्रकार पाब्लो पिकासोले जीवनको उत्तराद्र्धमा माटोका प्लेट र जगहरूमा चर्चित अमूर्त चित्रहरू कोरेर परम्परागत भाँडाकुँडालाई करोडौँ मूल्यमा बिक्री हुने ‘आर्ट’ मा रूपान्तरण गरिदिए । ठिक त्यसैगरी, चीनका प्रसिद्ध कलाकार आई वेइवेइले सन् २०१० मा लन्डनको टेट मोर्डन ग्यालरीमा १० करोड सूर्यमुखी फूलको गेडा जस्तो सिरामिक्सका टुक्राहरू भुइँभरि बिछ्याएर संसारलाई चकित पारिदिएका थिए । यसलाई चीनको परम्परागत सहरका १ हजार ६०० जना कालिगढहरूले साढे २ वर्ष लगाएर प्रत्येक गेडालाई हातले आकार दिँदै पेन्ट गरेर सामूहिक मानव श्रम र विशाल इन्जिनियरिङ क्षमताको प्रदर्शन गरेका थिए । चीनको मिंग राजवंशको समयमा बनेका सेतो र निलो रङका पोर्सिलेनका फूलदानीहरू आज पनि संसारका सबैभन्दा महँगा र प्रतिष्ठित कलाकृति मानिन्छन् । ‘कन्टेम्पोररी सिरामिक आर्ट’ले यसलाई ठुला–ठुला ग्यालरी र अमूर्त मूर्तिहरूसम्म पुर्याएको छ । कलाकारहरूले माटो, आगो र विभिन्न ग्लेजको प्रयोग गरेर यस्ता आधुनिक बुट्टाहरू र आकृतिहरू तयार पार्छन्, जसले मानव भावना र आधुनिक समाजको जटिलतालाई व्यक्त गर्दछ ।
सिरामिक्स हाम्रो संस्कृति र पहिचानको अभिन्न अंग हो । काठमाडौँ उपत्यकाको नेवार समुदाय र विशेषगरी भक्तपुर तथा ठिमीका प्रजापति (कुमाले) हरूले यो परम्परालाई शताब्दीऔँदेखि जीवित राखेका छन् । काठमाडौँका पुराना मन्दिरका छानामा प्रयोग गरिएका झिंगटी र इँटाहरूले हाम्रो वास्तुकलालाई संसारभरि चिनाएका छन् । ललितपुरको पाटनमा अवस्थित १३औँ शताब्दीको प्रसिद्ध महाबौद्ध मन्दिर नेपाली सिरामिक्स र टेराकोटा वास्तुकलाको उत्कृष्ट नमुना हो । हातले कुँदेको मन्दिरको इँटा र टायलमा भगवान् बुद्धको आकृति भएकाले यसलाई हजार बुद्धको मन्दिर पनि भनिन्छ र शताब्दीऔँ अगाडि नेपाली पुर्खाहरूले माटो र आगोको सही इन्जिनियरिङ मिलाएर बनाएको यो सिरामिक्स संरचना आज पनि गर्वका साथ उभिएर हाम्रो शिर पनि ठाडो पारिरहेको छ ।
सिरामिक्स पछाडिको विज्ञान
हजारौँ वर्षसम्म सिरामिक्स पुख्र्यौली ज्ञानको आधारमा घरेलु शिल्प वा हस्तकला को रूपमा मात्र रह्यो । औद्योगिक क्रान्ति पश्चात यो बुझाइ बदलियो वैज्ञानिकहरूले माटोमा पाइने सिलिका र आल्मुनियम मात्र होइन, पिरियोडिक टेबल का अन्य धेरै तत्वहरूलाई पनि सिरामिक्सको विधिबाट नयाँ पदार्थमा बदल्न सकिन्छ भनेर बुझे । परम्परागत सिरामिक्स प्राकृतिक माटो र बालुवामा निर्भर हुन्थ्यो भने आधुनिक इन्जिनियरिङ सिरामिक्स प्रयोगशालामा तयार पारिएका शुद्ध रासायनिक यौगिकहरू जस्तै आल्मुनियम अक्साइड, सिलिकन कार्बाइड, र जर्कोनियाबाट बन्न थाल्यो । यो यात्रा एउटा साधारण गाउँको कुमालेको झुपडीबाट सुरु भएर आज विश्वका ठुला–ठुला वैज्ञानिक प्रयोगशाला र उद्योगसम्म आइपुगेको छ ।
सिरामिक्स निर्माणमा कच्चा पदार्थको छनोट, आकार दिने प्रक्रिया, सुकाउने र अन्त्यमा उच्च तापक्रममा पोल्ने हुन् । कच्चा सिरामिक्सलाई १ हजार डिग्रीदेखि १ हजार ८०० डिग्री सेल्सियस्को भट्टीमा हाल्दा रासायनिक रूपान्तरण हुन्छ । माटोका कणहरू पग्लिएर एकअर्कामा टाँसिन्छन्, जसलाई ‘सिन्टरिङ’ भनिन्छ । यो प्रक्रियाले पदार्थको ‘माइक्रोस्ट्रक्चर’ अर्थात् आन्तरिक संरचनालाई पुरै बदलिदिन्छ । अणुहरू यति कडा रूपमा बाँधिन्छन् कि तिनीहरूका बीचमा कुनै पनि खाली ठाउँ रहँदैन । यही आन्तरिक संरचनाको कारणले नै सिरामिक्सले आफ्नो विशिष्ट भौतिक र रासायनिक गुणहरू प्राप्त गर्दछ । फलाम जस्ता धातुहरू १ हजार डिग्री सेल्सियसमा पग्लिने भए पनि सिरामिक्स ३ हजार डिग्री सेल्सियसमा पनि टसमस हुँदैन । यसका साथै, यसमा खिया लाग्दैन र कडा भन्दा कडा एसिड वा रसायनले पनि यसलाई नष्ट गर्न सक्दैन । घाम, पानी वा समयको बहावले नकुहिने र नगल्ने कारण हजारौँ वर्ष पुराना माटोका भाँडाहरू इतिहासको साक्षीका रूपमा जस्ताको त्यस्तै भेटिन्छन् ।

माटोका भाँडाको रैथाने स्वाद
माटोको हाँडीमा भुटेको मकै–भटमासले सिंगो गाउँ नैे मगमगाउँथ्यो । चिसो बिहानीमा पूर्वी नेपालको चोकमा माटोका भाँडाको जादु भक्का होस्, वा गोलको मधुरो तापमा बिस्तारै पाक्ने कटिया मासु–यिनीहरूको असली स्वाद माटोको स्पर्शबिना अधुरो हुन्छ । आधुनिक धातुका भाँडाले खानाको प्राकृतिक स्वादलाई बिगार्न सक्छन्, तर माटोमा हुने प्राकृतिक क्षारीय गुणले खानाको कडा अमिलोपनलाई सन्तुलित बनाउँछ । यही कारणले गर्दा, माटोको भाँडामा पाकेको खानामा एउटा छुट्टै रैथाने सुगन्ध र प्राकृतिक मिठास थपिन्छ, जसले हामीलाई आधुनिक भान्सामा रैथाने स्वाद चखाउँछ ।
बौद्ध कालीन सभ्यता र माटोका भाँडाको वैभव
झन्डै २ हजार ३०० वर्ष पहिले बौद्धकाल र सम्राट अशोकको युगमा माटोका भाँडाहरू केवल भान्साका साधन मात्र थिएनन्, ती त कला र सामाजिक प्रतिष्ठाका प्रतीक थिए । बौद्ध दर्शनको देश–देशान्तर फैलावटसँगै ‘उत्तरी कालो टल्कने भाँडा’ भनिने एक विशेष प्रकारको प्रविधि आफ्नो चरम उत्कर्षमा पुगेको थियो । मुलायम माटोलाई घुम्ने चक्रमा राखेर बनाइने, धातु झैँ टल्कने चमक दिइने यी काला कचौरा र भाँडाहरू त्यस समयका संभ्रान्त वर्ग र बौद्ध भिक्षुहरूले प्रयोग गर्थे । बौद्ध भिक्षुहरूले भिक्षा माग्नका लागि बोक्ने कचौरादेखि लिएर लुम्बिनी र कपिलवस्तु जस्ता ऐतिहासिक बौद्ध स्थलहरूमा अन्न र पवित्र जल भण्डारण गर्न प्रयोग गरिने ठुला घैँटाहरू यसै विशिष्ट प्रविधिबाट बनाइएका हुन्थे । उच्च तापक्रममा माटो पगालेर सिसा जस्तै सतह चिल्लो बनाउने पुर्खाहरूको यो कलाले बौद्ध सभ्यताको सम्पन्नता र वैज्ञानिक चेतनालाई उत्खनन्का क्रममा इतिहासको साक्षीका रूपमा पाइएको छ ।
चाँगुनारायणको माटोको कला
काठमाडौँ उपत्यकाकै सबैभन्दा पुरानो चाँगुनारायण मन्दिरमा ढुंगा र धातुका कलाकृति मात्र होइन, पाको माटो (टेराकोटा) का अनुपम कला र वस्तुहरू पनि सजिएका छन् । यस मन्दिरको तल्लो छाना परम्परागत रूपमा पोलेको माटोका झिंगटीहरूले छाइएको छ भने मन्दिर परिसर कलात्मक इँटा र मूर्तिहरूले भरिएको छ । डाँछीको बासिन्दा पनि भएकोले अन्वेषक मोहनप्रसाद खनालले चाँगुनारायण मन्दिर र यसको आसपासको क्षेत्रमा लामो समयसम्म पुरातात्विक उत्खनन्, अनुसन्धान र प्राचीन बस्तुहरूको संकलन गर्नुभएको थियो । उहाँले यस मन्दिरको कला, इतिहास र पुराना पुरातात्विक सामग्रीहरू खोज गरेर पुस्तक प्रकाशन गर्नुभएको छ । चाँगुनारायण क्षेत्रको गर्भमा रहेका प्राचीन माटोका भाँडाकुँडा, कलाकृति र सम्पदाहरू केवल साधारण ऐतिहासिक वस्तु मात्र नभएर, हाम्रो देशको गौरवमय सभ्यता र पुर्खाहरूको कलात्मक चेतनाका बलिया साक्षी हुन भन्ने कुरा प्रमाणित गरिदिनुभएको छ ।
दैवीशक्ति र माटोको पवित्रता
माटोका भाँडाकुँडा र मूर्तिहरू केवल कला मात्र होइनन्, यी त हाम्रा आस्था, धर्म र देवीदेवतासँग प्रत्यक्ष जोडिएका पवित्र कडी हुन् । दसैँको जमरा राख्ने माटोको नयाँ कलश होस् वा पूजाआजामा प्रयोग हुने दियो हाम्रा हरेक धार्मिक अनुष्ठान माटोबिना अधुरा हुन्छन् । ज्ञानकी देवी सरस्वती, शक्तिकी देवी दुर्गा र शिल्प कलाका देवता विश्वकर्माको पूजाका लागि बनाइने माटोका भव्य मूर्तिहरू हाम्रा परम्परागत कालीगढीका सर्वोत्कृष्ट उदाहरण हुन् । यही माटोको पवित्रतालाई थप अर्थपूर्ण र समयसापेक्ष बनाउँदै पछिल्लो समय गणेश चतुर्थीको पावन अवसरमा एउटा ठुलो र सकारात्मक प्रविधिगत सोचका साथ भारतको मुम्बई सहरबाट सुरु भएको ‘ट्री गणेश’ (बिरुवा बन्ने गणेश) को पर्यावरणमैत्री अवधारणा अहिले संसारभर फैलिँदै गएको छ । पहिले–पहिले केमिकल र विषाक्त रङ हालेर बनाइने मूर्तिहरूले पोखरी र नदीको पानी प्रदूषित गर्थे । तर मुम्बईका कलाकारहरूले शुद्ध प्राकृतिक रातो माटो, प्रांगारिक मल र जैविक रङको प्रयोग गरी गणेशको मूर्ति बनाउन थाले, जसको गर्भमा विभिन्न बोटबिरुवाका बिउहरू राखिन्छ । जब यस मूर्तिको पोखरी वा गमलामा विसर्जन गरिन्छ, तब माटो सजिलै पग्लिन्छ र केही दिनमै ती बिउहरूबाट नयाँ जीवन पलाएर हरियो बिरुवा उम्रिन्छ । विसर्जनपछि पोखरी प्रदूषण भयो भनी गुनासो गर्नेहरूका लागि यो नवप्रवर्तनले माटोको कलालाई नयाँ पुस्ताको वातावरणीय चेतनासँग जोडेर प्रकृति र संस्कृतिको सुन्दर सन्तुलन कायम गरिदिएको छ ।
जीवनचक्रको यात्रा : जन्म, मृत्युदेखि विश्वका ऐतिहासिक समाधिसम्म
नेपाली संस्कृतिमा नवजात शिशुलाई माटोको मकलको आगोले सेक्ने चलन छ भने मृत्युपश्चात क्रियाकर्ममा माटोकै ढिकुरो बनाउने र फुटाउने प्रचलन छ । ‘माटोको शरीर माटोमै विलीन भयो’ भन्ने जीवनको शाश्वत सत्य बुझाउने यो संस्कार जस्तै, मृत्युपछिको स्मृतिलाई अमर बनाउन माटो र ढुंगाबाट समाधिहरू बनाउने परम्परा पनि छ । काठमाडौँको ऐतिहासिक स्वयम्भू महाचैत्य र ललितपुरको अशोक चैत्य वास्तवमा बुद्धका अवशेष र पवित्र धातुहरूलाई सुरक्षित राख्न माटो र इँटाको ढिस्कोका विशाल पूजनीय स्मारक हुन् । चिहानको यो महत्व विश्वभर नै प्रसिद्ध छ; जस्तै चीनको पहिलो सम्राटको चिहान रक्षा गर्न माटोबाटै बनेका ८ हजारभन्दा बढी सिपाहीहरूको ‘टेराकोटा आर्मी’ यसका उदाहरण हुन् ।

दिगोपन र सिरामिक्सको भविष्य
२१औँ शताब्दीमा प्लास्टिक प्रदूषण र कार्बन उत्सर्जन विश्वकै सबैभन्दा ठुलो चुनौती बनेको छ । यस्तो अवस्थामा सिरामिक्स संसारभरि नै एउटा उत्कृष्ट ‘इको–फ्रेन्डली’ र दिगो सामग्री अर्थात् सस्टेनेबल मेटेरियलको रूपमा उभिएको छ । प्लास्टिक र सिन्थेटिक सामग्रीहरू सयौँ वर्षसम्म पृथ्वीमा नजलेर वातावरण प्रदूषित बनाउँछन् र जलाउँदा हानिकारक ग्यास उत्सर्जन गर्छन् । तर, सिरामिक्स पूर्ण रूपमा प्राकृतिक माटो र इनअर्गानिक तत्वहरूबाट बन्ने हुनाले यसले प्रकृतिलाई कुनै हानि पुर्याउँदैन । यसको सबैभन्दा ठुलो सबल पक्ष यसको ‘लाइफस्प्यान’ अर्थात् असाधारण दीर्घायु हो । एकपटक बनेको सिरामिक्स टायल वा भाँडाकुँडा कैयौँ पुस्तासम्म जस्ताको त्यस्तै टिक्छन्, जसले गर्दा नयाँ सामान उत्पादन गर्न लाग्ने ऊर्जा र प्राकृतिक स्रोतको बारम्बार दोहोरो खपत हुँदैन । अचेल विश्वभरि ‘ग्रिन म्यानुफ्याक्चरिङ’ को अवधारणाअन्तर्गत सिरामिक उद्योगहरूले कोइलाको सट्टा हाइड्रोजन र सौर्य ऊर्जा प्रयोग गरेर कार्बन न्यूनीकरण गरिरहेका छन् । त्यस्तै, भवन भत्किँदा निस्कने पुराना इँटा र टायलहरूलाई पुनः पिसेर नयाँ निर्माण सामग्री बनाउने ‘रिसाइक्लिङ’ प्रविधिको विकास तीव्र रूपमा भइरहेको छ । भान्सामा प्रयोग हुने प्लास्टिकका बट्टा र हानिकारक केमिकल लेप भएका धातुका भाँडाहरूलाई विस्थापित गर्दै सिरामिक्सले विश्वलाई सफा र स्वास्थ्यकर जीवनशैलीतर्फ डोर्याइरहेको छ ।
सिञ्जादेखि दाङसम्म : खस र थारू सभ्यतामा माटोको कला
नेपालको सुदूर र मध्यपश्चिम क्षेत्रको इतिहास खोतल्दा माटोको कला प्राचीन खस साम्राज्य र थारू सभ्यताको बलियो आधार खम्बाको रूपमा भेटिन्छ । जुम्लाको ऐतिहासिक सिञ्जा उपत्यका र दैलेखको दुल्लु क्षेत्रमा गरिएका पुरातात्विक उत्खनन्का क्रममा भेटिएका पोलेका माटोका प्राचीन खानेपानी पाइप, घैँटा र कलात्मक इँटाले १२औँ देखि १४औँ शताब्दीको खस मल्ल कालमै यहाँको माटो प्रशोधन प्रविधि कति उच्च थियो भन्ने कुरा प्रमाणित गर्छन् । अर्कोतर्फ, दाङ उपत्यकाका रैथाने चौधरी तथा थारू समुदायको जीवन त माटोसँगै एकाकार भएको छ । थारू महिलाहरूले आफ्नो घरका भित्ताहरूमा माटो र गोबर मिसाएर बनाउने देवीदेवता, चराचुरुंगी र फूलका सुन्दर चित्रहरू (मौलिक माटोको भित्तेचित्र कला) र अन्न भण्डारण गर्न शुद्ध माटोबाट बनाइने ठुला–ठुला डेहरी (भकारी) उनीहरूको प्राचीन हस्तकलाका अनुपम उदाहरण हुन् । दाङ र आसपासका क्षेत्रका परम्परागत कुमाले समुदायले चक्रमा घुमाएर तयार पार्ने यी माटोका घैँटा, हाँडी र कचौराहरू केवल दैनिक भान्छाका सामान मात्र होइनन्, बरु ती सिञ्जाको ऐतिहासिक वैभव र दाङको थारू संस्कृतिलाई पुस्तौँदेखि जीवित राख्ने नेपालको माटोको मौलिक पहिचान हुन् ।
नेपालमै उत्पादनको सम्भावना र रोजगारीको अवसर
नेपालमा पाइने कालीमाटी, रातो र सेतो माटो (काओलिन), बलौटे माटो (सिलिका) र क्वाट्र्ज जस्ता कच्चा पदार्थहरू आधुनिक सेरामिक्सका लागि अत्यन्तै उपयुक्त छन् । केही वर्ष अघिसम्म टायल र सेनेटरी सामानमा शतप्रतिशत परनिर्भर नेपालमा अहिले बारा, पर्सा र नवलपरासी कोरिडोरमा ठुला स्वदेशी उद्योगहरूले व्यावसायिक उत्पादन सुरु गरिसकेका छन् । कुमाले कला संकटमा परिरहेका बेला यी आधुनिक उद्योगहरूले अर्बौंको आयात प्रतिस्थापन मात्र गरेका छैनन्, बरु हजारौँ नेपालीलाई स्वदेशमै रोजगारी दिई अर्थतन्त्रमा ठुलो टेवा पुर्याएका छन् । यद्यपि, देशमा सेरामिक्स इन्जिनियरिङ र डिजाइनको औपचारिक उच्च शिक्षाको अझै अभाव छ । हामीले ब्याचलर अफ क्राफ्टस एन्ड डिजाइनमार्फत ठिमीका प्रजापती र दाङका कुमाललाई विश्वविद्यालयमै माटाको कला र सीप पढ्ने अवसर सृजना गरेका छौँ । कुनै दिन नेपाली युवाहरूले स्वदेशी माटो र प्रविधिको सही तालमेलबाट देशभित्रै विश्वस्तरीय औद्योगिक क्रान्ति ल्याउन सक्छन् ।
परम्परागत कुमाले सीपलाई आधुनिक डिजाइनमा फ्युजन गरी अन्तर्राष्ट्रिय बजारमा बिक्ने विलासी डिनर सेट र सजावटका सामानहरू, टर्बाइनमा गरिने सिरामिक्स कोेटिङ, इलेक्ट्रोनिक्सका लागि इन्सुलेटर र निर्माण क्षेत्रका लागि सेनेटरी वेयर उत्पादन गर्न देशमै सामग्री विज्ञान र इन्जिनियरहरूको नयाँ पुस्ता तयार हुनेछ ।
हजुरबाको माटो, नातिको सम्पत्ति : जोगिने कि मासिने ?
नेपालको राष्ट्रिय जनगणना सन् २०२१ अनुसार १ लाख २९ हजार ७ सय २ जनसंख्या भएको रैथाने कुमाल समुदाय र काठमाडौँ उपत्यकाका रैथाने नेवार अन्तर्गतका प्रजापतिहरूमध्ये नेपालभर करिब १० हजारभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा माटोका भाँडा (सिरेमिक्स) उद्योगमा आबद्ध छन् । पुस्तौँदेखि चल्दै आएको यो परम्परागत कलालाई जीवित राख्न यी समुदायले ठुलो योगदान पुर्याएका छन् । एउटा कथन छ ‘बाजेले गिलो बनाएको माटो नातिको पुस्तासम्म पुग्छ’, जसले माटोको दीर्घायु, यसको पुनःचक्रण क्षमता र २–३ पुस्तासम्म सजिलै हस्तान्तरण हुने परम्परागत ज्ञानको गहिराइलाई दर्साउँछ । आधुनिक प्लास्टिक र धातुका भाँडाको अतिक्रमणका कारण मात्र होइन, उद्यम र पेसाभन्दा बाजेको पालको जग्गा बेचेर बिलासी जीवन जिउने आचरणका कारण यो पेसा संकटमा परेको छ । तैपनि, नेपालका सचेत युवा पुस्ता माटोलाई आधुनिक कला र पर्यावरणमैत्री उद्योगको रूपमा व्यावसायिक रूपमा अगाडि बढाउने आशा गर्न सकिन्छ ।
माटैमा पनि कला र इन्जिनियरिङ जोडिन्छन्
सिरामिक्सको कथा वास्तवमा मानव कल्पनाशीलता र विज्ञानको सुन्दर मिलनविन्दु हो । यो एउटा यस्तो अनौठो माध्यम हो जहाँ एउटा मूर्तिकारले आफ्नो भावना पोख्न सक्छ र एउटा रकेट वैज्ञानिकले ब्रह्माण्डको यात्रा गर्ने प्रविधि भेटाउन सक्छ । यसले एकातिर हाम्रो पुरानो संस्कृति, परम्परा र पहिचानलाई जोगाएर राखेको छ भने अर्कोतिर भोलिको अत्याधुनिक डिजिटल र स्पेस–एज भविष्यको जग खडा गरेको छ । कुमालेको पांग्रोमा घुमिरहेको गिलो माटोको पिण्ड होस् वा प्रयोगशालामा तयार पारिएको जर्कोनियाको कम्प्युटर चिप, सिरामिक्सले मानिसलाई सधैँ सृजनात्मक बन्न सिकाएको छ । फुटेको हाँडी हेरेर हाम्रो त भाग्य नै फुटेको भनेर दुःखी हुने होइन, प्राचीन माटोको शिल्प पछ्याउँदै, काँचो माटोमा औँला सलबलाएझैँ इन्जिनियरिङ र प्रविधिको कुनाकाप्चामा पसेर हामी देशको समृद्धि र आत्मनिर्भरताको नयाँ कथा निरन्तर कोर्ने छौँ ।
प्रतिक्रिया