
नेपालको राजनीतिक इतिहासमा एउटा कालो दिनका रूपमा लिने गरिन्छ, दासदुंगा घटनालाई । २०५० जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मुग्लिन–नाराणयगढ खण्डमा पर्ने दासढुंगामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको थियो । घटना भएको ३३ वर्ष पूरा भएको छ । यो बीचमा एमाले पटकपटक सत्तामा पुग्यो तर दासढुंगा घटनाको वास्तविकता अहिले पनि रहस्यकै गर्भमा छ ।
अहिले यति बेला बालेन नेतृत्वको सरकारमा दोस्रोपटक गृहमन्त्री बनेका सुधन गुरुङले कार्यभार सम्हाल्दै गर्दा २५ वर्ष पुरानो दरबार हत्याकाण्डबारे छानबिन गर्ने घोषणा गरेसँगै दासढुंगा घटनामा चिन्ता र चासो राख्नेहरूमा आशा जागेको छ । तर, सरकारले दरबार हत्याकाण्ड जस्तै गर्भमा रहेका अरू काण्डको छानबिन गर्ने वा नगर्ने बारेमा बोलेको छैन । दरबार हत्याकाण्डको फाइल खोल्ने हो भने, त्यस्तै रहस्यमय अन्य घटनाका फाइल खोल्दा के हुन्छ ?
जेठ ३ गते मदन–आश्रित पार्टीको बा.अ.च ८७९३ नम्बरको जिपमा पोखराबाट नारायणगढका लागि निस्किए । पजेरो चालक थिए, अमर लामा । पोखराको कार्यक्रमकै क्रममा कुनै अपरिचित व्यक्तिले भण्डारीलाई फोन गरी चितवन आउन आग्रह गरेको बताइन्छ । पोखराको सम्मेलनमा सम्बोधनलगत्तै उनीहरू चितवनका लागि निस्किए । सो क्रममा ड्राइभर लामा भने विदेशीसित कुराकानी गरिरहेको र अलि असामान्य व्यवहार देखाएको कतिपय छानबिन आयोगका प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सरसर्ती हेर्दा दुर्घटनाजस्तो देखिए पनि घटनाबारे प्रशस्त प्रश्न उठेका छन् । गाडी त्रिशूलीमा खस्दा चालक लामा कसरी सुरक्षित ? प्रश्न गर्ने ठाउँ देखिन्छ । घटनापछि लामा नेताको खोजीमा नलागेर बा.अ.ज.२६०४ नम्बरको सेतो भ्यान चढेर चितवन पुगे किन ? लामाकै जानकारी पछि खोजी गर्दा ८ बजे राती मृतअवस्थमा आश्रितसहित गाडी भेटियो । आश्रित भेटिए पनि भण्डारीको पत्ता लागेन । आश्चर्यजनक कुरा के भने, गाडीको ढोका बन्द थियो । ढोका बन्द गाडीबाट भण्डारी कसरी बाहिर निस्के ? यो र यस्ता प्रश्नको उत्तर अहिले पनि छैन ।

घटनाको तेस्रो दिन जेठ ५ गते बिहान सवा ८ बजे दासढुंगादेखि करिब ३२ किलोमिटर तल चितवनको गुञ्जनगरमा भण्डारीकोे शव भेटियो । भण्डारीको शव घोप्टो परेको अवस्थामा थियो । उनको शरीरका विभिन्न भागमा चोट लागेको थियो । दुवैको मृत्यु पानीमा डुब्नु अगावै भएको पोष्टमार्टम रिपोर्ट आयो । तर, कसरी भन्ने जबाफ आएन । भण्डारीको दोस्रोपटक पोस्टमार्टम गरियो । डा.सुधांशु शर्मा, डा.विजयलाल श्रेष्ठ, डा.धनमान बज्राचार्य, डा.सरला मल्ल, डा.हरिहर बस्ती, डा.रामप्रसाद उप्रेती र डा.प्रमोद श्रेष्ठ रहेको बोर्डले भिसेराको जाँच, घटनास्थल तथा गाडी र शवको अध्ययन गरेर प्रतिवेदन तयार पारेको थियो । जसमा उनको मृत्यु चोटहरूको संयुक्त प्रभावबाट भएको उल्लेख छ ।
उक्त घटनाबारे अनुसन्धान गर्न एमालेले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा आयोग गठन गरिएको थियो । आयोगले प्रतिवेदन पार्टीसमक्ष पेस ग¥यो । सो प्रतिवेदनमा लामाले सुनियोजित ढंगले काम गरेको उल्लेख छ । लामा एक्लैले सो षड्यन्त्र गर्न नसक्ने जनाउँदै ओली आयोगले मदन–आश्रितको उच्च प्रविधियुक्त जाँच गर्न सिफारिस गरेको थियो ।

०००
दासढुंगा घटनाको एक मात्र साक्षी एवं चालक लामाको २०६० सालमा हत्या भएपछि मदन–आश्रित काण्ड थप ओझेलमा परेको छ । लामाको हत्या कसले ग¥यो त्यो पनि रहस्यमा नै छ । हालसम्म घटनाको यथार्थ बाहिर आएन । चालक अमर लामा प्रहरी हिरासतमा रहँदा उनको व्यवहार र बयान पनि चित्तबुझ्दो थिएन । त्यत्रो दुर्घटनामा उनी कसरी सकुशल रहे ?, चालक अमर लामाले जिपसँगै म पनि नदीमा खसेँ भनेका थिए । तर उनलाई कुनै चोटपटक लागेको थिएन । सडकबाट करिव ५० मिटर तल गुल्टिँदै गएको जिपको ड्राइभर कसरी सकुशल रहन सक्छ ? त्यसको चित्तबुझ्दो जबाफ पनि आएको छैन ।
यो ३३ वर्षको अवधिमा एमाले पटकपटक गरेर दर्जनौँपटक सरकारमा गयो । भण्डारी पत्नी विद्यादेवी भण्डारी दुईपटक राष्ट्रपति भइन् । तर आफ्ना नेताको रहस्यमय मृत्युको कारण खोज्ने काम गरेको पाइन्न । दासढुंगा घटनापछि देशव्यापी आन्दोलन भयो । आन्दोलनका क्रममा जनधनको क्षति भयो, ठुलो दबाब दिइयो । तर, कुनै सुनवाइ भएन । सरकारको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरेका थिए । निकै महिनापछि बल्ल सरकारले सर्वोच्च अदालतका न्यायाधीश प्रचण्डराज अनिलको अध्यक्षतामा एउटा न्यायिक छानबिन आयोग गठन ग¥यो । तर त्यो आयोगको प्रतिवेदनलाई एमालेले स्वीकारेन ।
जनस्तरबाट पद्मरत्न तुलाधरको नेतृत्वमा अर्को आयोग बन्यो । उक्त आयोगले दासढुंगा काण्डलाई षड्यन्त्र नै ठहर ग¥यो । अनिल आयोगको प्रतिवेदनको एमालेले विरोध गरेपछि सर्वाेच्चकै न्यायाधीश त्रिलोकप्रताप राणाको अध्यक्षतामा अर्को आयोग गठन भयो । त्यो आयोगले पनि घटनाको यकिन गर्न सकेन । कतिलाई दोष लगाइयो, शंकाका धेरमा धेरै परे तर ३३ वर्षअघिको यो घटनाको रहस्य अझैसम्म खुल्न सकेको छैन । अहिले सरकारले दरबार हत्याकाण्डको फाइल घोषणा गर्दा दासढुंगा काण्डको पनि अनुसन्धान होला ? नेपाली समाज एकपटक तरंगित भएको छ ।
प्रतिक्रिया