न्याय कुर्दै गायक प्रविण गुरुङको परिवार

गायक प्रविण गुरुङ

काठमाडौँ । गायक प्रविण गुरुङले गाडीको ठक्करबाट ज्यान गुमाएको पनि २६ वर्ष बितिसकेको छ । तत्कालीन शाहज्यादा पारस शाहले चलाएको गाडीको ठक्करबाट काठमाडौँको दरबारमार्गमा उनको प्राण पखेरु उड्यो । लोकगायक स्व.प्रविण गुरुङको परिवारले अहिलेसम्म पनि न्याय पाएको छैन । आश्वासनको पोको च्यापेर नै यो समय बितेको उनको परिवारको गुनासो छ ।

उनको निधनमा तत्कालीन शाहज्यादा पारसको हात थियो भन्ने कुरा ऊ बेला नै जगजाहेर भएको थियो । तर शक्तिको अगाडि उनको मरणको कुनै मूल्य बनेन । त्यसैले उनलाई आश्वासनका अनेक पोका थमाइयो । राजपरिवारसँग जोडिएकाले ज्यान जोखिममा राखेर न्यायको लडाइँ लड्न नसकेको प्रविणका काइँला दाइ टेकबहादुर गुरुङ बताउँछन् । स्व. प्रविणको जन्मघर कास्कीको अन्नपूर्ण गाउँपालिका–६ लुम्लेमा सौर्यसँग(२०७९ चैतमा) कुरा गर्दै नाबालक २ छोराको पढाइलेखाइको सम्पूर्ण दायित्व लिने भनी गरेको सम्झौता पनि पारसले कार्यान्वयन नगरेको टेकबहादुरले बताए । ‘प्रविणका २ नाबालक छोराको सम्पूर्ण दायित्व लिने भनेर पारसले गरेको सम्झौता लागू भएन, उनले भने, ‘राजदरबारसँग जोडिएको घटना भएकोले हामीले पनि ज्यान जोखिममा राखेर आवाज उठाउन सकेनौँ ।’ नारायणहिटी गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र र उनको परिवार नै सखाप भएपछि त त्यो कुरा उठाउन पनि डरमर्दो भएको उनको भनाइ छ । ‘बुहारी एक्लै लड्न पनि डरै भयो, हामी पनि गाउँतिरै भयौँ’, टेकबहादुरले भने ।

२०१८ माघ १ गते जन्मेका गुरुङको गीत संगीतको क्षेत्रमा लाग्दालाग्दै २०५७ साउन २२ गते काठमाडौँमा अस्ताएका थिए । १० वर्षको उमेरमै घर छाडी सांगीतिक यात्रामा निस्केका गुरुङले डाँफे कलामन्दिर पोखरामा नृत्य साथै गायन सिकेका थिए । तत्कालीन गण्डकी अञ्चलस्तरीय गायन प्रतियोगितामा प्रथम हुन सफल गुरुङले पछि राष्ट्रिय नाचघर काठमाडौँमा पनि काम गरेका थिए ।

‘यो नानीको मिर्मिरे आँखा’, ‘सालैजो हितैको माया’, ‘फूल मायामा नभुल’, ‘माथिबाट को आयो सालको पात बजाउँदै’ लगायतका गीतहरू प्रचलित छन् । कालजयी गीतका गीतकार तथा संगीतकार स्व.प्रवीण गुरुङको मोटरसाइकललाई काठमाडौँको दरबारमार्गमा पारसले चलाएको गाडीले ठक्कर दिएको थियो । २०५७ साउन २२ गते साँझको सो घटनामा गुरुङको घटनास्थलमै मृत्यु भएको थियो ।

तत्कालीन आइजिपी अच्युतकृष्ण खरेलले निकालेको जुक्तीअनुसार नक्कली ड्राइभर खडा गरी पारसलाई जोगाइएको थियो । आइजिपी खरेलकै सल्लाहअनुसार खड्गबहादुर भुजेल नामका एक नक्कली ड्राइभर खडा गरियो र उनले दुर्घटनाकोे जिम्मा लिए । कानुनी प्रक्रियाअनुसार उनी जेल बसेर रिहा पनि भइसकेका छन् । दरबारले गर्ने भनेको कुनै पनि सहयोग नगरेको भनेर जेलबाट छुटेपछि भुजेलको गुनासो पनि त्यसैबेला सार्वजनिक भएको थियो ।

यो घटनालाई दबाउन निर्मल निवासले निकै प्रयास गरे पनि घटना सार्वजनिक भएपछि पारसलाई कारबाही गर्नुपर्ने मागसहित विद्यार्थीहरू आन्दोलनमा उत्रिए । तत्कालीन माले निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष रविन्द्र अधिकारीको नेतृत्वमा हस्ताक्षर अभियान नै चलाइएको थियो । अधिकारीको नेतृत्वमा ५ लाख २३ हजारको हस्ताक्षर दरबारमा बुझाइएको थियो ।

भलाद्मी छवि बनाएको तत्कालीन राजा वीरेन्द्रले आफू यस विषयमा गम्भीर भएको भन्दै अधिकारीलाई लिखित जबाफसमेत पठाएका थिए । तर, पारसले कारबाही भने भोग्नु परेन । केही समयपछि २०५८ सालको नारायणहिटी हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएपछि यो घटना पनि सेलाएर गयो ।

प्रतिक्रिया