हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सकियाे

काठमाडौं । दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सम्पन्न भएको छ । हिमालयन रिम फिल्म एक्जिविसनको आयोजनामा त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा हिजो बिहीबार र अस्ति बुधबार सञ्चालन भएको प्रदर्शनीमा चिनियाँ मार्सल आट्र्स र समकालीन चलचित्र कलामा आधारित चार चलचित्र प्रदर्शन गरिएका थिए ।

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ नारासहित आयोजित प्रदर्शनीमा ब्लेड्स अफ दि गार्जियनः विन्ड राइज इन दि डिजर्ट, दि लिजेन्ड अफ दि कन्डर हिरोः दि ग्यालेन्ट्स, दि मास्टर र आइ एम ह्वाट आइ एम–२ प्रदर्शन गरिएको थियो ।

प्रदर्शनीले नेपाली र चिनियाँ चलचित्रकर्मी, प्राध्यापक, विद्यार्थी तथा दर्शकबीच सांस्कृतिक तथा सिर्जनात्मक आदानप्रदानको अवसर प्रदान गरेको आयोजकले जनाएको छ । कार्यक्रममा चिनियाँ चलचत्रि निर्देशक तथा कलाकारले अनलाइनमार्फत चलचित्र निर्माणका अनुभव र पूर्वीय कथावाचनका सम्भावनाबारे धारणा राखेका थिए ।

काठमाडौं संस्करण सम्पन्न भएसँगै प्रदर्शनीको अर्को चरण भोलिदेखि पोखरामा सुरु हुँदै छ । पोखरा विश्वविद्यालयमा आयोजना हुने प्रदर्शनी पर्सिसम्म सञ्चालन हुने छ ।

आयोजकका अनुसार प्रदर्शनीको उद्देश्य नेपाल र चीनबीचको चलचित्र, संस्कृति, प्रविधि तथा एनिमेसन कलासम्बन्धी सहकार्यलाई थप सुदृढ बनाउनु हो । गत वर्षदेखि सुरु गरिएको हिमालयन रिम फिल्म प्रदर्शनीले दुई देशबीचको चलचित्र आदानप्रदानलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया