
काठमाडौं । नेपाली लोकसंस्कृतिको प्रवर्द्धन र नवप्रतिभा पहिचानका लागि आगामी जेठ २९ देखि ३१ गतेसम्म नुवाकोटको विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा ‘नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ । उक्त प्रतियोगिता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा हुन लागेको हो ।
प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रिता थापा मगरको नेतृत्वमा हुन लागेको यस बृहत् सांस्कृतिक महोत्सवको कूल अनुमानित बजेट ६८ लाख ४० हजार रुपैयाँ रहेको छ । आर्थिक र व्यवस्थापकीय हिसाबले निकै ठूलो मानिएको यस प्रतियोगिताले मोफसलको आर्थिक र सांस्कृतिक पर्यटनमा समेत टेवा पुर्याउने अपेक्षा प्रतिष्ठानले गरेको प्रतिष्ठानकी अध्यक्ष थापा मगरले बिहीबार पत्रकार सम्मेलनमार्फत बताइन् ।
उनका अनुसार यस पटकको प्रतियोगिताले आन्तरिक प्रतिस्पर्धालाई मात्र नभई अन्तर्राष्ट्रिय सञ्जाललाई समेत समेटेको छ । प्रतियोगितामा देशका सातै प्रदेशबाट छानिएका १४ समूह र उपत्यका समन्वय समितिका २ समूहसँगै विदेश शाखाबाट प्रतिनिधित्व गर्ने २ समूह गरी कूल १८ उत्कृष्ट टोलीले राष्ट्रिय रनिङ शिल्डको उपाधिका लागि प्रतिस्पर्धा गर्ने अध्यक्ष थापाले जानकारी दिइन् ।
यसले नेपाली लोकदोहोरीको क्रेज स्वदेशमा मात्र नभई प्रवासमा रहेका नेपालीहरूमाझ पनि कति बलियो छ भन्ने कुरालाई पुष्टि गर्ने उनले दाबी गरिन् । प्रतिष्ठानले यस त्रिविसीय कार्यक्रमलाई प्रत्यक्ष रूपमा रंगशालामै पुगेर करिब २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरेको छ भने विभिन्न डिजिटल प्लेटफर्म र सञ्चार माध्यममार्फत संसारभर छरिएर रहेका करिब ५० लाख नेपालीभाषी दर्शकमाझ पुर्याउने लक्ष्य राखेको छ, जसले यसलाई प्रविधिमैत्री र विश्वव्यापी बनाउने विश्वास लिएको उनले बताइन् ।
कलाकारहरूको सम्मान र प्रोत्साहनका लागि आयोजकले पुरस्कार राशिमा पनि विशेष ध्यान दिएको अध्यक्ष थापाको भनाई छ । प्रतियोगिताको मुख्य उपाधि जित्ने विजेता समूहले नगद ३ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २ लाख र तृतीय स्थान हासिल गर्ने समूहले १ लाख रुपैयाँ हात पार्ने छन् । त्यसैगरी, सान्त्वना पुरस्कारस्वरूप ५० हजार रुपैयाँको व्यवस्था गरिएको छ ।
सामूहिक प्रतिस्पर्धाबाहेक व्यक्तिगत प्रतिभाको कदर गर्दै उत्कृष्ट गायक, गायिका, नवगायक, नवगायिका, अनुशासित कलाकार तथा मौलिक भेषभूषा प्रदर्शन गर्ने कलाकारहरूलाई समेत विशेष पुरस्कारबाट सम्मानित गरिने उनले जानकारी दिइन् ।
प्रतिक्रिया