कलना : उत्पीडित वर्गको मुक्तिचेतना

विपेन आदिमा

ध्रुवसत्य परियारद्वारा लिखित कलना ‘मन्त्र’, ‘दमिनी’ देउती’, ‘नैनाशोभाको सुपारी’, ‘कथालिका’, ‘गुरु’, ‘बुटी’, ‘अमृताश्री’, ‘पुरानो पुल’ र ‘डिएनए’ गरी ९ ओटा लामाछोटा कथाहरूको सँगालो हो । प्राचीन, अलौकिक, रहस्यमय पात्र र परिवेशको प्रयोगका साथै वर्तमान समाज व्यवस्थाका विकृती र विसंगतिको यथार्थ चित्रण यसभित्रका कथाहरूमा पाइन्छ । अधिकांश कथामा इतिहास र मिथकीय पुनर्सिर्जनामार्फत वस्तुसत्यलाई उद्घाटन गरिएको छ । साथै स्वैरकल्पनाको प्रयोग गरी अयथार्थ, रहस्य र असत्यको भ्रान्तिमार्फत वर्तमान यथार्थसत्यलाई प्रस्तुत गरिएको छ । समाज, राजनीति, इतिहास, अन्तरजातीय प्रेम, धर्म, वर्ग, वर्ण र जात व्यवस्था, लैंगिकता, पर्यावरण आदि कलनाभित्रका कथाका मूलभूत विषय हुन् । कलनाभित्र निहित चेतना यस्ता छन् :

१. वर्णव्यवस्था, जातव्यवस्था र बाहुनवादको उन्मूलन

हिन्दु वर्णव्यवस्था र त्यसैमा आधारित जात व्यवस्था अनि बाहुनवादले समाजमा चरम जातीय विभेद, अन्याय, अत्याचार गरेको हुँदा समतामूलक समाज बनाउने हो भने वर्णव्यवस्था, जातव्यवस्था र बाहुनवादको उन्मूलन गर्नै पर्छ भन्ने विचार कलनाभित्रका ९ ओटै कथामा प्रस्तुत गरिएको छ ।

– समाजका वैश्य र शूद्रहरू ब्रह्माको जाँघ र पैतलाबाट उत्पन्न भएका हुन् भन्नु ब्राह्मण–क्षत्रीले सत्ता र धर्मलाई आफ्नो पेसा बनाउन रचेको प्रपञ्चको कथा मात्रै हो (गुरु, पृ. १२७) ।

– म बाहुन–क्षत्रीको विरिधी होइन, ब्राह्मणवाद विरोधी हुँ । जातको मृत्युको घोषणा गरेर हिँडेको मान्छे, जाबो जातका आधारमा आफूलाई ठुलो ठान्ने व्यक्तिको किन विरोध गरौँ ? (पुरानो पुल, पृ. २०३) ।

– अभावमा रहेकालाई खाना दिएर मात्र हुँदैन, पहिले त्यहाँको वर्ण विभेद हटाउनु पर्छ (गुरु, १२०) ।

२. वर्गहरूको अन्त्यको चाह

वर्गीय समाजमा उच्चवर्गले सधैँ निम्नवर्गका मानिसहरूलाई चरम शोषण, दमन, विभेद गरी उत्पीडनमा पारेको छ । यसर्थ वर्गीय मुक्तिको लागि वर्ग व्यवस्थाको अन्त्यको विकल्प नभएको विचार ९ ओटै कथामा प्रष्ट देखिएका छन् ।
– गरिबलाई कनिका बाँडेर हुँदैन, खेत बाँड्नु पर्छ, सुविधा बाँड्नु पर्छ (पुरानो पुल, पृ. २०१) ।

३. पितृसत्ता र लैंगिक उत्पीडनको अन्त्य

पुरुषसत्ताले महिलामाथि चर्काे उत्पीडन गरेको हुँदा पितृसत्ता र लैंगिक उत्पीडनबाट मुक्ति पाउन यसको अन्य गर्नैपर्ने विचार कलनामा प्रस्तुत छ ।

– पुरुषसत्तात्मक समाजको सट्टा मातृसत्तात्मक ‘मातंगीपुरी’ राज्यको कल्पना (गुरु कथा)

– वर्ण र लिंग भेदलाई उन्मूलन गर्नु हाम्रो जीवनको लक्ष्य हुनुपर्छ (गुरु, पृ. १२९) ।

– यो समाजमा मातृवंश परम्परालाई सम्मानित गराउने अभ्यास पनि हामीले गर्नु परेको छ (गुरु, पृ. ११५)

– नारी शक्ति र रजस्वला रेखायुक्त मातंगापुरी राज्यको कल्पना (गुरु कथा )

४. ईश्वरीय शक्ति, भाग्य र आत्माप्रति अविश्वास

– देउता र पुजाआजा भन्नू सबै भ्रम हुन् । मानसिक शक्ति बढाउन हामीले प्रकृति र सामूहिकतामा भर पर्नुपर्छ, विश्वास गर्नुपर्छ (कथालिका, पृ. १०४) ।

– मृत्युपछि मानिसको आत्माले कुनै रूप, रङ र क्रिया देखाउन सक्दैन; सक्ने भए अन्यायमा परेर मरेका सबैका आत्माले प्रतिशोध साँध्ने थिए । आफ्ना आफन्तको मृत्यु भई गम्भीर शोक परेको अवस्थामै मानिसले अजर आत्माको परिकल्पना गरेका हुन् (दमिनी देउती, पृ. ६६) ।

– मरेपछि मानिसको शरीर माटोमा मिल्छ भने चेतना ताराहरूको प्रकशमा मिल्छ, किनभने यो सृष्टिको मूल आधार प्रकाश नै हो, यद्यपि त्यसरी प्रकाशमा मिलेको चेतनाको छुट्टै अस्तित्व रहँदैन (मन्त्र, ४७) ।

– ब्राह्माण्डको गति र ऊर्जाभन्दा ठुलो अर्का केही छैन (मन्त्र, ४७) ।

– सोझा जनतामाथि शासन गर्ने प्रमुख हतियार नै धर्म हो (अमृतश्री, पृ. १७७) ।

– मानिसलाई आफ्नै मनलाई नियाल्ने र लगाम लगाउने जुन चेतना छ, शरीरबिना यसको कुनै अस्तित्व छैन (मन्त्र, ४६) ।

५. सांस्कृतिक परिवर्तन र वैज्ञानिक तथा भौतिकवादी संस्कृति निर्माणको चाह

– मानवताको अहितमा रहेका हाम्रा आदिम आस्था र संस्कृतिलाई हामीले त्याग्नुपर्छ र हितमा रहेका आस्था र संस्कृतिको जगेर्ना गर्नुपर्छ, मानव हितका नयाँ नयाँ संस्कृति निर्माण गर्नुपर्छ (गुरु, पृ. १४२) ।

६. निजी सम्पत्तिको उन्मूलन, पुँजीवादको विरोध, सामुहिक उत्पादन प्रक्रिया र जीवनशैलीमा जोड

– पुँजीवादले थिचेको यो दुनियाँमा निजी सम्पत्तिको उन्मूलनको सम्भावना नदेख्नु भनेको सुधारवादी मात्रै हुनु हो; यसले उत्पीडित वर्गको मुक्ति दिँदैन (मन्त्र, पृ. ४५) ।

– गणराज्यको स्थापनापछि ब्रह्मपुरमा वर्ण विभेद हटेको, सामुहिक उत्पादन र आम्दानीको समान वितरण, समान शिक्षादीक्षा दिइने (गुरु, पृ. १३७) समाजवादी व्यवस्था कायम भएको कल्पना ।

७. राजनीतिक नेताको बेइमानी, झुट, भ्रष्टता आदि प्रवृतिप्रति तीव्र आक्रोश र व्यंग्य प्रकट

– व्यवस्था बदलिए पनि आफ्नो र आफू जस्ताको अवस्था नबदलिई नेताको मात्रै वर्गोत्थान भएको देख्दा आफ्नै नेताको विरुद्ध हतियार उठाएर आफूलाई योग्य सावित गर्न मन लाग्छ (पुरानो पुल, पृ. २०८) ।

८. समतामूलक समाज निर्माणको चाह

– राज्यका सबै व्यक्ति समान हुने; जन्म, पेसा र वासस्थानका आधारमा कसैले कसैलाई उँच र नीचको व्यवहार गर्न नहुने; गरेमा दण्डको भागिदार हुनुपर्ने (कथालिका, पृ. ८३) समाजको कल्पना ।

यसका साथै प्रकृति नै मानवको संहारक र संरक्षक हो भन्ने विचार कलनाभित्र आएको छ ।

प्रस्तुत कथासंग्रहभित्रका कथाहरूमा वर्तमान नेपाली समाजका अन्तरविरोधहरूलाई देखाइएको छ र उक्त अन्तरविरोधहरूको समाधान गर्ने अचुक उपाय ‘सहअस्तित्वको स्वीकार’ र ‘सहबोध’ हो भन्ने विचार ९ ओटै कथामा उल्लेख गरिएको छ । तर नेपाली समाजमा यो लागू हुन्छ त ? – हुँदैन, किनभने पहिलो, उच्चजात, वर्ण र वर्गका मानिसलाई यो आवश्यक नै छैन । गरिब, महिला, दलित तथा उत्पीडित वर्ग÷समुदायमाथि चरम दमन, शोषण गरेर नै आफूलाई उच्च कोटीमा राख्न पाएका हुन् । अब निम्न, तुच्छ, अपवित्र बनाइएका वर्गसँग एकाकार भएर आफ्नो भागमा आफैँ खुट्टा हाल्न कोही चाहँदैनन् । दोस्रो, मानिसहरू शिक्षित भएर चेतनाको स्तर बढेर उत्पीडन हट्थ्यो भने आज जति शिक्षित र चेतनशील मानिस कुनै कालखण्डमा थिएनन् । उल्टै शिक्षित र चेतनशील भनिएका मानिसहरूले नै बढी उत्पादनमा पारेको देखिन्छ । यसर्थ समाजमा स्वतस्फूर्त रूपमा सहअस्तित्वको स्वीकार र सहबोध होला र सारा उत्पीडनबाट मुक्ति पाइएला भनेर बस्नु हाँस्यास्पद मात्रै हो ।

यदि समाजमा सहअस्तित्वको स्वीकार नभएको परिस्थितिमा उत्पीडकहरूको विरोधमा संघर्ष गर्नै पर्छ । कथाकारले गुरु, कथालिका लागायतका कथाहरूमा आन्दोलन गरेर गणराज्य स्थापना गरेको परिवेशको त चित्रण गरेका छन् तर उक्त गणराज्यमा विभेद हट्नुको सट्टा व्यवहारमा झन् चर्काे रूपमा बढेको (कथालिका, पृ. १००) बताएका छन् । यसर्थ आन्दोलनबाट गणराज्यको स्थापना गरेर सहअस्तित्वको खोज गरे तापनि यावत् विभेद नहटेपछि अब के गर्ने ? भन्ने स्पष्ट बाटो देखाएका छैनन् ।

‘उत्पीडित वर्ग र उत्पीडक वर्गका प्रगतिशील हिस्सा मिलेर संगठित रूपमा सशक्त संघर्षबिना तमाम सामाजिक अन्तरविरोधको हल गर्न तथा उत्पीडित वर्गको मुक्ति सम्भव छैन’ भन्ने कुरालाई कथाहरूमा उल्लेख गर्न लेखक किन लरबराएका हुन् ?

भाषाशैली

कलनाका सबै कथाहरू आधुनिक लिखित कथाहरू नै हुन् । तर यसका ‘पुरानो पुल’ र ‘डिएनए’ बाहेक अरू कथामा प्रयुक्त शैली लोक कथाको जस्तो छ । कथा पढ्दै जाँदा लाग्छ ः एउटै कथाभित्र पनि कथाकार आफूलाई जाँगर चल्दा घटना र विषयवस्तुको डिटेलमा व्याख्या गर्छन् र जब अल्छी लाग्छ स्वाट्टै स्किप गरेर भाग्छन् । यस्तै एउटै कथामा सबैथोक अटाउन पाए हुन्थ्यो जसरी घटना र विषयवस्तुको चाङ किन लगाएका होलान् ?

कथामा वर्तमान समाज व्यवस्थाको मात्रै चर्चा नगरी प्राचीन समय र परिवेशमा पात्रहरूमार्फत घटनाको चित्रण गरिएको छ । ‘मन्त्र’ कथामा १३ सय वर्षअगिको र ‘दमिनी देउती’ कथामा प्राचीन खससाम्राज्यका राजकाल ‘नैनाशोभाको सुपारी’ कथामा १९९९ भन्दा अगि, ‘गुरु’ र ‘बुटी’ कथामा प्राचीन समयावस्थाको चित्रण गरिएको छ । तर यी कथाहरूमा प्रयुक्त भाषा भने आधुनिक मानक नेपाली छ । यो हलुवामा बालुवा भने जस्तो भएन र ! यसो गर्नुको साटो प्राचीन समय, पात्र र परिवेश सुहाउँदो भाषिक आञ्चलिकताको प्रयोग गरेको भए कथाहरू अझै सुन्दर र सशक्त हुन्थे कि ?

जे होस् कलनाभित्रका कथाहरूमार्फत ध्रुवसत्यले नेपाली समाज व्यवस्थाको अन्तरविरोधपूर्ण सत्यलाई चित्रण गर्न सफल छन् । साथै उनले कथाका पात्रहरूमार्फत् भौतिकवादी तथा वैज्ञानिक जीवनदृष्टि, वर्ण, वर्ग, जात व्यवस्था, पितृसत्ता, खराब धर्मसंस्कृति र पुँजीवादको उन्मूलन; सामुदायिक उत्पादन प्रक्रिया र समान वितरणयुक्त जीवनशैलीबाट समतामूलक समाज निर्माण गर्न सकिने विचार व्यक्त गरेका छन् । यस कलना कथासंग्रह र लेखकको लेखन उत्पीडन विरोधी र मुक्तिकामी चेत प्रवाह गर्ने सशक्त सिर्जना बन्न पुगोस्, हार्दिक शुभकामना !

प्रतिक्रिया