फिल्ममा डेब्यू गर्दै पारितोषिका

काठमाडौँ । चर्चित गायिका अञ्जु पन्तकी छोरी पारितोषिका पन्तले फिल्म अभिनयमा डेब्यू गर्ने भएकी छन् । उनी निर्देशक अमरदीप सापकोटाको आगामी फिल्म ‘तीन तिघ्रे, क्या बिग्रे’मा मुख्य भूमिकाका लागि अनुबन्धित भएकी हुन् । निर्देशक सापकोटाका अनुसार पारितोषिकासँग फिल्मका लागि औपचारिक सम्झौता भइसकेको छ । उनले पारितोषिकाको नाटक ‘स्वर्णदेश’ हेरेपछि उनको अभिनय क्षमताबाट प्रभावित भएर फिल्मका लागि प्रस्ताव गरिएको बताए ।

पारितोषिकाले यसअघि मण्डला थिएटरमा अभिनयसम्बन्धी प्रशिक्षणसमेत लिएकी थिइन् । फिल्ममा उनीसँगै चर्चित गायक पशुपति शर्माले पनि अभिनय यात्रा सुरु गर्दै छन् । रघुनाथ सापकोटाले निर्माण गर्ने ‘तीन तिघ्रे, क्या बिग्रे’को छायांकन आगामी २८ असारदेखि सुरु हुने बताइएको छ । फिल्मको छायांकन कीर्तिपुर र काभ्रेको पनौती क्षेत्रमा गरिनेछ । हाल फिल्मको प्रि–प्रोडक्सनको काम भइरहेको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया