
काठमाडौं । डेढ दशकभन्दा लामो समयदेखि नेपाली बाल शिक्षाको आधुनिकरणमा क्रियाशील शिक्षिका दिपा थापा राजधानीमा सम्मानित भएकी छन् । मुलुकको जग बलियो बनाउने प्राथमिक शिक्षा र मन्टेस्वरी प्रणालीमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै उनलाई ‘पिम नेपाल शिक्षा सम्मान २०८२’ प्रदान गरिएको हो ।
हाल ट्रस्ट एण्ड केयर मन्टेस्वरीकी फाउन्डर प्रिन्सिपल रहेकी थापालाई आइतबार आयोजित ‘नवौँ राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२६’ को विशेष समारोहमा उक्त सम्मान अर्पण गरियो ।
गीतसंगीत र कला क्षेत्रको प्रवर्द्धनका लागि आयोजित समारोहमा यस पटक शिक्षा र समाजसेवाका सारथीहरूलाई पनि उत्तिकै महत्त्वका साथ एउटै मञ्चमा जोडिएको थियो । वरिष्ठ अभिनेत्रीहरू बसुन्धरा भुषाल, भुवन चन्द, चैतदेवी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र कलाकार मोहन निरौला लगायतका प्रतिष्ठित व्यक्तित्वहरूले थापालाई फूलमाला, खादा र सम्मानपत्र सहित राष्ट्रिय सम्मान प्रदान गरेका थिए ।
पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजना र इरा प्रोडक्सन प्रालीको व्यवस्थापनमा सम्पन्न उक्त बहुभाषिक सांस्कृतिक उत्सवमा शिक्षाविद् थापासँगै समाजका अन्य खम्बा र कलासाधकहरूलाई पनि अभिनन्दित गरियो ।
जसमा संगीत पत्रकारिताका लागि शिखर जंगम श्रेष्ठ, दीर्घसाधनाका लागि निर्देशक कृष्णदेव रुपाखेती, विशिष्ट गीतकारका रूपमा सुरेश घिमिरे र सामाजिक व्यक्तित्वका रूपमा महेश राज थापा सम्मानित भए । त्यसैगरी पत्रकार विनोद देवकोटा, छायांकार सालिकराम दुलाल, युवा कलाकार सचिन भट्टराई, संगीतकर्मी रणजित कुमार झा र कला विधामा सुनिता कुवँरले आ–आफ्नो विधाको शीर्ष सम्मान ग्रहण गरे ।
माधवराज खरेलको अध्यक्षता र कमला जोशीको संयोजनमा सम्पन्न सो गरिमामय समारोहको निर्देशन सनम कठायतले गरेका थिए भने कलाकार संघका अध्यक्ष उत्तम केसी, वरिष्ठ कलाकार रबिन्द्र खड्का, निर्देशक जनकदीप पराजुली र गायक शिव परियार लगायतका दर्जनौँ कलाकर्मीहरूले कार्यक्रममा ऐक्यबद्धता जनाएका थिए ।
विभिन्न ३० वटा विधामा अवार्ड वितरण गरिएको यस समावेशी उत्सवमा सन्तोष श्रेष्ठ, जुगल डंगोल, विजयरत्न तुलाधर, साहस शाक्य, प्रकाश मिश्रा, रमेश दाहाल र आशा भुसाल सम्मिलित जुरी टोलीले निष्पक्ष मूल्यांकन गर्दै स्रष्टाहरूको छनोट गरेको कार्यक्रम निर्देशक सनम कठायतले जानकारी दिए ।
प्रतिक्रिया