
काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत सोमबार राति र मंगलबार बिहान विभिन्न समूहका खेलहरू बराबरीमा सकिँदा प्रतियोगिताको सुरुआती चरण नै अत्यन्त प्रतिस्पर्धात्मक बनेको छ । विशेषगरी समूह ‘एच’ मा युरोपेली च्याम्पियन स्पेनलाई केप भर्डेले गोलरहित बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ भने साउदी अरेबिया र २ पटकको विजेता उरुग्वेले पनि अंक बाँडेका छन् । यता समूह ‘जी’ का दुवै खेल बराबरीमा सकिँदा चारै टोली समान १–१ अंकका साथ समूह तालिकामा रहेका छन् ।
समूह ‘एच’ अन्तर्गत सोमबार राति सम्पन्न खेलमा फुटबल महाशक्ति स्पेनलाई केप भर्डेले ०–० को बराबरीमा रोक्दै विश्व फुटबलमा ठुलो सन्देश दिएको छ । खेलभरि बलमाथि स्पष्ट नियन्त्रण राखेको स्पेनले थुप्रै अवसर सिर्जना गरे पनि गोल गर्न असफल रह्यो । स्पेनका आक्रमणहरूलाई केप भर्डेका गोलकिपर भोझिन्हाले बारम्बार विफल बनाएका थिए । उनले आधा दर्जनभन्दा बढी उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीलाई हारबाट जोगाए ।
स्पेनका फरवार्ड फेरान टोरेसको एक प्रहार क्रसबारमा लागेर फर्किएपछि स्पेन अग्रता लिनबाट झनै वञ्चित भयो । खेलको उत्तरार्धमा स्पेनिस समर्थकहरू टोलीको प्रदर्शनप्रति असन्तुष्ट देखिए । खेलाडीहरूले लगातार पास खेलिरहँदा रंगशालामा उपस्थित समर्थकहरूले ‘बू’ गर्दै आफ्नो निराशा व्यक्त गरेका थिए । खेलको अन्तिम चरण निकै रोमाञ्चक रह्यो । ८९औँ मिनेटमा डानी ओल्मोको सटिक पासमा मिकेल ओयार्जाबलले गरेको शक्तिशाली भली प्रहारलाई केप भर्डेका डिफेन्डर पिको लोप्सले शरीरले रोकेर सम्भावित गोल हुनबाट बचाएका थिए ।
उनको त्यो बचाउ केप भर्डका लागि गोलसरह सावित भयो । इन्जुरी समयमा समेत दुवै टोलीले अवसर पाए पनि स्कोर परिवर्तन हुन सकेन । अन्तिम सिटी बज्नासाथ केप भर्डका खेलाडी र समर्थकहरूले ऐतिहासिक उपलब्धिको उत्सव मनाएका थिए । यसै समूहको अर्को खेलमा साउदी र उरुग्वेले १–१ को बराबरी खेल्दै अंक बाँडे । मियामीमा सम्पन्न खेलमा पहिलो हाफमा साउदी अरबले उत्कृष्ट प्रदर्शन गर्दै ४१औँ मिनेटमा अब्दुलइलाह अल अम्रीको गोलमार्फत अग्रता लिएको थियो । पहिलो हाफभरि साउदी टोलीले उरुग्वेको आक्रमणलाई सफलतापूर्वक नियन्त्रणमा राखेको थियो ।
दोस्रो हाफमा भने उरुग्वेले खेलमा पुनरागमन गर्ने प्रयासलाई तीव्र बनायो । त्यसको परिणामस्वरूप ८०औँ मिनेटमा म्याक्सी अराउजोले गोल गर्दै खेल बराबरीमा ल्याए । फेडरिको विनासको हेडर साउदी गोलरक्षक मोहम्मद अल ओवेसले बचाए पनि रिबाउन्ड बललाई अराउजोले सदुपयोग गरेका थिए । त्यसपछि उरुग्वेले जितका लागि निरन्तर दबाब सिर्जना गरे पनि साउदी गोलरक्षक अल ओवेसले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई अंक दिलाए । विशेषगरी इन्जुरी समयको अन्त्यतिर फेडरिको भाल्भर्डेको शक्तिशाली प्रहार बचाउनु खेलको निर्णायक क्षण बनेको थियो ।
समूह ‘एच’ का दुवै खेल बराबरीमा सकिएपछि स्पेन, केप भर्डे, उरुग्वे र साउदी सबै टोलीले समान १–१ अंक जोडेका छन् । यसले समूहको आगामी प्रतिस्पर्धालाई अझ रोमाञ्चक बनाएको छ । यता समूह ‘जी’ मा पनि दुवै खेल बराबरीमा सकिएका छन् । इजिप्ट र बेल्जियमबीच भएको खेल १–१ को बराबरीमा टुंगिएको थियो । खेलको सुरुआतदेखि नै आक्रामक देखिएको इजिप्टले १९औँ मिनेटमा अग्रता लिएको थियो । कप्तान मोहम्मद सलाहको पासमा इमाम आशुरले करिब २० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार बेल्जियमका गोलरक्षक थिबाउट कोर्टुवालाई छलाउँदै जाली चुमेको थियो ।
पहिलो हाफमा इजिप्टले उत्कृष्ट प्रदर्शन गर्दै बेल्जियममाथि दबाब कायम राख्यो । तर दोस्रो हाफमा बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले अनुभवी स्ट्राइकर रोमेलु लुकाकुलाई मैदानमा उतारेपछि खेलको लय परिवर्तन भयो । ६६औँ मिनेटमा थोमस मुनिएरको लो–क्रसलाई रोक्ने प्रयासमा इजिप्टका डिफेन्डर मोहम्मद हानीले आफ्नै पोस्टमा बल छिराएपछि बेल्जियमले बराबरी गोल प्राप्त ग¥यो ।
इजिप्ट विश्वकप इतिहासको पहिलो जित नजिक पुगे पनि अन्तिम समयमा अवसर सदुपयोग गर्न सकेन । मोहम्मद सलाहको उत्कृष्ट हेडरलाई कोर्टुवाले सानदार बचाउ गरे भने बेल्जियमका केभिन डे ब्रुएनको फ्रि–किक पोस्टमा लागेर बाहिरिएको थियो । त्यससँगै खेल बराबरीमा समाप्त भयो ।
समूह ‘जी’ को अर्को खेलमा इरान र न्युजिल्यान्डले २–२ को रोमाञ्चक बराबरी खेले । लस एन्जलसमा सम्पन्न खेलमा न्युजिल्यान्डले २ पटक अग्रता लिएको थियो तर इरानले दुवै पटक पुनरागमन गर्दै महŒवपूर्ण अंक सुरक्षित ग¥यो । खेलको सातौँ मिनेटमै इलाइजा जस्टले गोल गर्दै न्युजिल्यान्डलाई अग्रता दिलाएका थिए । क्रिस वुडको पासमा उनले उत्कृष्ट फिनिस गरेका थिए । तर ३२औँ मिनेटमा रामिन रेजाइयानले गोल गर्दै इरानलाई बराबरीमा ल्याए । दोस्रो हाफको ५४औँ मिनेटमा जस्टले व्यक्तिगत दोस्रो गोल गर्दै न्युजिल्यान्डलाई पुनः अग्रता दिलाए ।
यद्यपि इरानले हार मानेन । ६४औँ मिनेटमा रेजाइयानकै क्रसमा मोहम्मद मोहेब्बीले हेडमार्फत गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले जितका लागि प्रयास गरे पनि थप गोल निस्कन सकेन । खेलभरि इरानले १७ तथा न्युजिल्यान्डले १४ प्रहार गरे पनि नतिजा बराबरीमै सीमित रह्यो । समूह ‘जी’ मा इजिप्ट, बेल्जियम, इरान र न्युजिल्यान्ड सबै टोलीले समान १–१ अंक जोडेकाले समूहको प्रतिस्पर्धा खुला बनेको छ । प्रारम्भिक खेलहरूबाट कुनै पनि टोलीले स्पष्ट वर्चस्व स्थापित गर्न नसकेपछि आगामी खेलहरू निर्णायक हुने देखिएको छ ।
विश्वकपको सुरुआती चरणमै लगातार बराबरीका नतिजा आएपछि प्रतियोगिता थप रोमाञ्चक बनेको थियो । अपेक्षाकृत कमजोर मानिएका टोलीहरूले बलिया राष्ट्रहरूलाई कडा चुनौती दिएका छन् भने प्रतिष्ठित टोलीहरू दबाबमा परेका छन् । यसले आगामी खेलहरूलाई अझ चाखलाग्दो बनाउने संकेत गरेको छ ।
प्रतिक्रिया