
काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आइतबार भएको खेलमा ४ पटकको विश्वकप विजेता जर्मनीले नवप्रवेशी कुरासाओको पोस्टमा गोल वर्षा गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा सम्पन्न समूह ‘ई’को खेलमा जर्मनीले क्यारेबियन राष्ट्र कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । जर्मनीले पहिलो हाफमा ३ गोल ग¥यो भने खेलको दोस्रो हाफमा ४ गोल थप्यो । जर्मनीका लागि काई हाभाट्र्जले २ तथा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसिएला, नाथनियल ब्राउन र डेनिज उन्डाभले समान १–१ गोल गरे ।
एनमेचाले खेलको छैटौँ मिनेटमै गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको २१औँ मिनेटमा कुरासाओका लिभानो कोमेनेन्सियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । यो कुरासाओको विश्वकप इतिहासकै पहिलो गोल थियो । कुरासाओ विश्वकपको पहिलो खेलमै गोल गर्न सफल हुँदा समर्थक खुसी भएका थिए । यद्यपि, लगत्तै जर्मनीका निको स्लोटरबेकले खेलको ३८औँ मिनेटमा गोल गर्दै खेललाई २–१ को अग्रता बनाए ।
त्यसपछि खेलको पहिलो हाफको अत्तिरित्त समयमा हाभाट्र्जले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को अग्रता दिलाए । त्यसैगरी मुसिएलाले खेलको ४७औँ मिनेटमा गोल गर्दा ब्राउनले खेलको ६८औँ मिनेटमा अर्को गोल थपे । त्यस्तै खेलको ७८ औँ मिनेटमा उन्डाभले गोल गरे भने काई हाभाट्र्जले खेलको ८८ औँ मिनेटमा अर्को गोल थपे । यसअघि जर्मनीले सन् २००२ को विश्वकपमा साउदी अरेबियालाई ८–० ले हराएको थियो भने २०१४ को सेमिफाइनलमा घरेलु टोली ब्राजिललाई ७–० ले हराएको थियो । जमैनीले आइतबार राति अर्को फराकिलो जित दर्ता गरेको हो । यस जितसँगै जर्मनीले शीर्ष ३ अंक जोडेको छ ।
आइभरी कोस्टको विजयी सुरुआत
यस्तै, आइभरी कोस्टले विश्वकपमा विजयी सुरुआत गरेको छ । आइतबार फिलाडेल्फिया स्टेडियममा सम्पन्न खेलमा आइभरी कोस्टले इक्वेडरलाई १–० गोलअन्तरले पराजित गर्दै महŒवपूर्ण ३ अंक हासिल गरेको हो । खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोली गोलरहित बराबरीमा रहेका थिए । तर खेल सकिन केही क्षण मात्र बाँकी रहँदा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका अमाद डियालोले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए । उनले पेनाल्टी क्षेत्रभित्रबाट प्रहार गरेको बायाँ खुट्टाको सट इक्वेडरका गोलरक्षक हर्नान गालिन्देजलाई छलाउँदै जाली चुमेको थियो । उक्त गोलका लागि विल्फ्रिड सिंगोले दायाँ भागबाट उत्कृष्ट आक्रमण निर्माण गरेका थिए ।
म्यानचेस्टर युनाइटेडका विंगर डियालो ५६औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । खेलभर दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि सफलता भने पाउन सकेका थिएनन् । खेलका क्रममा दुवै टोलीका खेलाडीहरूले ३ पटकसम्म बल क्रसबारमा प्रहार गरेका थिए । आइभरी कोस्टका एलिये वाहीले ५२औँ मिनेटमा क्रसबारमा बल हानेका थिए भने इक्वेडरका जोन येबोआह र निल्सन आंगुलोले पहिलो हाफमा यस्तै अवसर खेर फालेका थिए ।
सन् २०१४ पछि पहिलोपटक विश्वकपमा सहभागी भएको आइभरी कोस्टका लागि यो जित नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाउने महŒवपूर्ण नतिजा बनेको छ । टोली विश्वकपको इतिहासमा पहिलोपटक नकआउट चरणमा पुग्ने लक्ष्यमा रहेको छ । अर्कोतर्फ, पाँचौँपटक विश्वकप खेलिरहेको इक्वेडरले घरेलु समर्थकसरहको समर्थन पाए पनि त्यसको लाभ उठाउन सकेन । खेल हेर्न उपस्थित अधिकांश ६८ हजारभन्दा बढी दर्शक इक्वेडरको पहेँलो जर्सीमा देखिएका थिए ।
दोस्रो हाफमा गोन्जालो प्लाटाले गरेको शक्तिशाली प्रहार आइभरी कोस्टका गोलरक्षक याहिया फोफानाले बचाएका थिए । अब समूह ‘ई’ अन्तर्गत आइभरी कोस्टले आगामी जुन २० मा ४ पटकको विश्वकप विजेता जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै इक्वेडरले आफ्नो अर्को खेलमा कुरासाओको सामना गर्नेछ ।
जापानको सानदार पुनरागमन
त्यस्तै, विश्वकपअन्तर्गत समूह ‘एफ’ को उद्घाटन खेलमा जापानले २ पटकपछि परेको अवस्था उल्टाउँदै नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी खेलेको छ । टेक्सासमा नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न खेलमा करिब ६९ हजार २८५ दर्शकको उपस्थितिमा जापानले खेलको अन्तिम समयमा गोल गर्दै महŒवपूर्ण १ अंक सुरक्षित गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्यो । ५१औँ मिनेटमा नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइकले उत्कृष्ट हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । लिभरपुलका सहकर्मी रायन ग्राभेनबेर्चको सटिक क्रसमा भान डाइकले आकर्षक हेडर प्रहार गर्दै गोल गरेका हुन् ।
तर नेदरल्यान्ड्सको खुसी धेरैबेर टिक्न सकेन । जापानका केइतो नाकामुराले केवल ६ मिनेटपछि गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि ६४औँ मिनेटमा नेदरल्यान्ड्सका विंगर क्रिसेन्सियो समरभिलले बायाँ खुट्टाबाट सुन्दर कर्लिङ सट प्रहार गर्दै पुनः टोलीलाई अग्रता दिलाए । खेल नेदरल्यान्ड्सकै पक्षमा समाप्त हुने संकेत देखिए पनि जापानले अन्तिम समयमा उत्कृष्ट पुनरागमन ग¥यो । ८८औँ मिनेटमा प्राप्त कर्नर अवसरलाई सदुपयोग गर्दै दाइची कामाडाले गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो । गोल गर्ने क्रममा बल डिफेन्डरमा ठोक्किएर दिशा परिवर्तन भएपछि गोलरक्षकले बचाउन सकेनन् ।
खेलको सुरुआतदेखि नै नेदरल्यान्ड्सले आक्रामक प्रदर्शन गरेको थियो । डोनेल मालेनले सुरुआती मिनेटमै गोल गर्ने अवसर सिर्जना गरे पनि जापानी गोलरक्षक जियोन सुजुकीले उत्कृष्ट बचाउ गरेका थिए । मालेनले खेलभरि केही महŒवपूर्ण अवसर पाए पनि गोलमा परिणत गर्न सकेनन् । जापानका समर्थकहरू स्टेडियममा उल्लेखनीय संख्यामा उपस्थित थिए र खेलभर आफ्नो टोलीलाई निरन्तर हौसला प्रदान गरेका थिए । जापानले हारबाट जोगिँदै महŒवपूर्ण १ अंक जोडेको छ भने नेदरल्यान्ड्सले जित नजिक पुगेर पनि अन्तिम समयमा अंक बाँड्न बाध्य भएको छ ।
समूह ‘एफ’ मा दुवै टोलीलाई प्रतियोगिताको सम्भावित ‘डार्क हर्स’ मानिएको छ । ३ पटक विश्वकपको उपविजेता बनिसकेको नेदरल्यान्ड्स उपाधिको खोजीमा छ भने जापान पहिलोपटक अन्तिम १६ भन्दा माथिको यात्रा तय गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ ।
ट्युनिसियाको पोस्ट स्विडेनको झण्डै आधा दर्जन गोल
यसैगरी, विश्वकपअन्तर्गत समूह ‘एफ’को खेलमा स्विडेनले ट्युनिसियामाथि जित निकालेको छ । यस क्रममा ट्युनिसियाको पोस्ट स्विडेनको झन्डै आधा दर्जन गोल बर्साएको छ । मेक्सिकोको मोन्टेरे रंगशालामा सोमबार बिहान भएको खेलमा स्विडेनले ट्युनिसियामाथि ५–१ गोलको जित निकालेको हो । स्विडेनका लागि यासिन अयारीले २ गोल गर्दा अलेज्यान्डर इसाक, भिक्टोर ग्योकेरेस र माथिएस स्भानवर्गले समान १–१ गोल गरे । ट्युनिसियाका लागि ओमार रेकिकले १ गोल फर्काए ।
खेल सुरुआती सातौँ मिनेटमा यासिन अयारीले गोल गर्दै स्विडेनलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ३०औँ मिनेटमा अलेज्यान्डरले गोल गर्दै स्विडेनको अग्रता दोब्बर पारे । खेलको पहिलो हाफको ४३औँ मिनेटमा ट्युनिसियाका ओमारले १ गोल फर्काए । यसैगरी खेलको ५९औँ मिनेटमा भिक्टोरले स्विडेनका लागि तेस्रो गोल गरे । खेलको ८६औँ मिनेटमा स्विडेनका लागि माथिइस स्भानवर्गले १ गोल थपे ।
त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा यासिनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ गोल गरेपछि स्विडेनले ट्युनिसियमाथि ५–१ गोलको जित निकाल्यो । जितपछि स्विडेनले शीर्ष ३ अंक जोडेको छ । समूहको पहिलो खेलमा नेदरल्यान्ड्स र जापानले २–२ को बराबरी खेल्दै समान १–१ अंक बाँडेका थिए ।
प्रतिक्रिया