ब्राजिल र मोरक्कोबीच बराबरी, समूह ‘सी’ को प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै

विश्वकप विशेष

स्कटल्यान्डलाई पहिलोपटक नकआउट चरणमा पुग्ने अवसर

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतिक्षित खेलमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेलेका छन् । नेपाली समयअनुसार आइतबार बिहान अमेरिकाको न्युयोर्कस्थित न्यू जर्सी स्टेडियममा सम्पन्न खेलमा मोरक्कोले उत्कृष्ट प्रदर्शन गर्दै विश्व फुटबलको शक्तिशाली टोली ब्राजिललाई अंक बाँड्न बाध्य बनाएको हो । खेलको २१औँ मिनेटमा मोरक्कोका इस्माइल सैबारीले आकर्षक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ब्राजिलियन रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै उनले गोलरक्षकलाई छलाएर उत्कृष्ट फिनिसिङ गरेका थिए । त्यसपछि पहिलो हाफभरि मोरक्कोले आक्रामक खेल प्रदर्शन गर्दै ब्राजिललाई दबाबमा राख्यो ।

ब्राजिलले खेलको सुरुआती चरणदेखि नै लय समात्न संघर्ष गरेको देखियो । प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा विश्वकप जित्ने लक्ष्य राखेको टोलीले अपेक्षित प्रदर्शन गर्न सकेन । दक्षिण अमेरिकी छनोट चरणमा पाँचौँ स्थानमा सीमित भएको ब्राजिलको कमजोरी यस खेलमा पनि स्पष्ट देखियो । विशेषगरी मिडफिल्डमा मोरक्कोको दबाब सामना गर्न नसक्दा ब्राजिलले बल नियन्त्रणमा कठिनाइ भोग्नुपरेको थियो । पहिलो हाफमा कमजोर प्रदर्शन गरेका अनुभवी मिडफिल्डर कासेमिरोलाई विश्राम दिइएको थियो । उनको स्थानमा आएका खेलाडीले केही सुधार ल्याए पनि ब्राजिल पूर्ण रूपमा प्रभावशाली बन्न सकेन ।

तर, दोस्रो हाफमा ब्राजिलका स्टार फरवार्ड भिनिसियस जुनियरले आफ्नो व्यक्तिगत क्षमताको प्रदर्शन गर्दै टोलीलाई बराबरी दिलाए । ब्रुनो गुइमाराएसको पास प्राप्त गरेपछि उनले बायाँ क्षेत्रबाट बल अघि बढाउँदै रक्षकलाई छलाए र दायाँ खुट्टाले शक्तिशाली प्रहार गर्दै बललाई जाली चुमाए । मोरक्कोका गोलरक्षक यासिन बोनोलाई कुनै अवसर नदिई गरिएको उक्त गोल खेलको उत्कृष्ट क्षणमध्ये एक बन्यो । रियल म्याड्रिडबाट उत्कृष्ट लयमा रहेका भिनिसियसले यस सिजन घरेलु तथा युरोपेली प्रतियोगितामा लगातार प्रभावशाली प्रदर्शन गरिरहेका छन् । ब्राजिल विश्वकपमा अगाडि बढ्न सफल भएमा उनको भूमिका निर्णायक रहने फुटबल विश्लेषकहरूको विश्वास छ ।

यता मोरक्कोले फेरि एकपटक आफू विश्व फुटबलको उदीयमान शक्तिका रूपमा स्थापित भएको प्रमाण दिएको छ । ४ वर्षअघि विश्वकपको सेमिफाइनलसम्म पुगेको टोलीको सफलता संयोग मात्र नभएको सन्देश यस खेलले दिएको छ । अफ्रिकी राष्ट्रकप विजेताको रूपमा प्रतियोगितामा आएको मोरक्कोले आत्मविश्वासपूर्ण र संगठित खेल प्रदर्शन गर्दै ब्राजिललाई कठिन चुनौती दिएको थियो । ब्राजिलका लागि अर्को चिन्ताको विषय भनेको नेयमारको स्वास्थ्य अवस्था बनेको छ । टोलीका सर्वाधिक गोलकर्ता नेयमार अझै पनि चोटका कारण पूर्ण रूपमा फिट छैनन् ।

लामो समयदेखि पिँडुलाको समस्याबाट ग्रसित उनी सन् २०२३ पछि राष्ट्रिय टोलीबाट नियमित रूपमा खेल्न सकेका छैनन् । विश्वकप टोलीमा पुनः समावेश गरिए पनि उनको मैदानमा फर्किने समय अझै निश्चित भएको छैन । यस कारण प्रतियोगिताभर नेयमारको फिटनेसबारे चर्चा जारी रहने देखिन्छ । यस बराबरीसँगै समूह ‘सी’ को प्रतिस्पर्धा थप रोचक बनेको छ । स्कटल्यान्डले हाइटीलाई १–० ले पराजित गर्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ । अब स्कटल्यान्डले इतिहासमै पहिलोपटक विश्वकपको नकआउट चरणमा पुग्ने अवसर देखेको छ ।

यद्यपि ब्राजिल र मोरक्को अझै पनि समूहबाट अगाडि बढ्ने प्रमुख दाबेदार मानिएका छन् । तर दुवै टोलीले बराबरी खेलेकाले आगामी खेलहरू निर्णायक बन्ने निश्चित भएको छ । समूह चरणका बाँकी खेलमा प्राप्त हुने प्रत्येक अंकले अन्तिम ३२ टोलीको चरणमा पुग्ने सम्भावना निर्धारण गर्नेछ । विश्वकपको सुरुआती खेलमै ब्राजिल अपेक्षाअनुसार चम्कन नसके पनि भिनिसियसको प्रेरणादायी प्रदर्शनले टोलीलाई राहत दिएको छ । अर्कोतर्फ मोरक्कोले आफ्नो उत्कृष्ट लय कायम राख्दै प्रतियोगितामा बलियो चुनौती प्रस्तुत गर्ने संकेत दिएको छ ।

कतारलाई ऐतिहासिक अंक, अस्ट्रेलिया विजयी शनिबार मध्यराति भएको समूह ‘बी’ अन्तर्गतको खेलमा एसियाली टोली कतारले स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेल्यो । यससँगै कतारले विश्वकपमा पहिलो अंक जोडेको इतिहास रचेको छ । यो समूमा चारै टोलीले बराबरी खेलेर समान १ अंक जोडेका छन् । यसअघि आयोजक क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले पनि बराबरी खेलेका थिए । यस नतिजाले चारै टोलीको अन्तिम ३२ को लक्ष्य प्रतिस्पर्धामक बनेको छ ।

यस्तै, आइतबार भएको समूह ‘ए’को खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० ले हरायो । अस्ट्रेलियाले पनि लगातार दोस्रो पटक विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । यस समूहमा आयोजक अमेरिकाको पनि ३ अंक छ भने परिाजित भएका पाराग्वे र टर्की अंकविहीन छन् । गोलअन्तरका आधारमा अमेरिका पहिलो स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो स्थानमा छ ।

प्रतिक्रिया