१७ वर्ष जेल जीवन बिताएका मोहनचन्द्रको जीवनी सार्वजनिक

काठमाडौँ । राजनीतिक दलका नेताहरूले मोहनचन्द्र अधिकारीको जीवन नेपाली राजनीतिको प्रेरणादायी पाटो भएको बताएका छन् । ‘नेपाली नेल्सन मण्डेला’ का उपनामले परिचित वरिष्ठ नेता मोहनचन्द्र अधिकारीको जीवनीमा आधारित पुस्तक ‘जगेडा जीवन’ सार्वजनिक गर्न शनिबार आयोजित कार्यक्रममा नेताहरूले यस्तो विचार व्यक्त गरेका हुन् । पूर्वप्रधानमन्त्री झलनाथ खनालले मोहनचन्द्रको पुस्तक ७७ वर्षे कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण दस्तावेज भएको बताए ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुस्तकमा मोहनचन्द्रका थुप्रै पाटो उजागर गर्न बाँकी रहेको बताउँदै त्यसका लागि काम गर्न मोहनचन्द्र अधिकारी प्रतिष्ठानलाई अनुरोध गरे । एकपटक मोहनचन्द्रले झापा आन्दोलनको समीक्षा गरेर भन्ने र केपी ओलीले लेख्ने गरेको डायरी थियो, त्यो कता गयो खोज्नु पर्छ,’ उनले भने ।

उनका पुराना सहकर्मी पूर्वमन्त्री राधाकृष्ण मैनालीले मोहनचन्द्र झापा आन्दोलनको सुरुदेखि नै उमेर, योग्यता, जोसका हिसाबले समेत प्रेरणादायी रहेको बताए । झापा आन्दोलनका नेता सिपी मैनालीले ५५ वर्षअघि मोहनचन्द्रको जोसिलो नेतृत्वको परिणामस्वरूप आजको जनअधिकार प्राप्त भएको बताए । विमोचित पुस्तकमा मोहनचन्द्रले सञ्चारकर्मीसँग आफ्नो राजनीतिक जीवनबारे ‘टेप रेकर्ड’मा बोलेको विषयलाई उतारिएको उल्लेख गरिएको थियो । १९९४ मा जन्मिएका अधिकारी आफ्नो काका मनमोहन अधिकारीदेखि मावलतर्फका बिपी कोइरालासम्मको सामीप्य फलस्वरूप राजनीतिमा लागेका थिए ।

सुरुमै कम्युनिस्ट राजनीतिप्रति आकर्षित उनले २०११ सालमा कम्युनिस्ट पार्टीको सदस्यता पाएका थिए । राजनीतिक जीवनमा पहिलोपटक २०१५ सालमै जेल परेका उनले पटकपटक गरी १० वटा जेलमा १७ वर्ष बिताएका थिए । पुस्तक र मोहनचन्द्रको जीवनबारे बोल्दै एमाले नेता युवराज ज्ञवालीले उनी अध्यात्म र भौतिकवाद समन्वय हुनुपर्छ भन्ने र गीताको राम्रो अध्ययन गरेका कम्युनिस्ट भएको बताए ।

२०४६ सालमा रिहा भएका मोहनचन्द्रलाई आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहले त्रिचन्द्र क्याम्पसमा भएको एक कार्यक्रममा ‘नेपालको नेल्सन मण्डेला’को संज्ञा दिएका थिए । लगत्तै भारतका पूर्वप्रधानमन्त्री चन्द्र शेखरले दिल्लीको जवाहरलाल नेहेरू विश्वविद्यालयमा ‘एसियाको नेल्सन मण्डेला’ भनेपछि उहाँ नेपालको नेल्सन मण्डेलाको नामले चिनिन थालेका थिए । २०५९ सालको एमाले महाधिवेशनमा चिनियाँ क्रान्ति शैलीको नीति हुनुपर्ने विचार लिएका मोहनचन्द्र २०५० देखि २०५६ सालसम्म राष्ट्रियसभा सदस्य थिए ।

वरिष्ठ चिकित्सक सुन्दरमणि दीक्षितले मोहनचन्द्रको संघर्षबारे नयाँ पुस्तालाई थाहा दिनुपर्ने बताए । पूर्वगृहमन्त्री रमेश लेखकले एउटा पुस्ताको कठोर संघर्षबाट अहिलेको लोकतन्त्र आएको हो भन्ने कुरा बुझाउनका लागि मोहनचन्द्र जस्ता नेताको जीवनी भएका पुस्तक आउनु सकारात्मक भएको बताए । मोहनचन्द्रले कम्युनिस्ट पार्टीको नेतृत्वमा सर्वहारा नभएकाले कम्युनिस्ट आन्दोलनले सोचेको सफलता नपाएको बताए ।

प्रतिक्रिया