पहिलो जितको खोजीमा ब्राजिल, हाइटीविरुद्ध बलियो प्रदर्शनको अपेक्षा

काठमाडौँ । अमेरिकाको फिलाडेल्फियास्थित लिंकन फाइनान्सियल फिल्डमा नेपाली समयअनुसार शनिबार बिहान हुने फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को महŒवपूर्ण खेलमा ब्राजिलले हाइटीसँग प्रतिस्पर्धा गर्दै छ । प्रतियोगिताको पहिलो जित हासिल गर्ने लक्ष्यसहित मैदान उत्रने ब्राजिलमाथि समर्थकहरूको ठुलो अपेक्षा रहेको छ । प्रसिद्ध प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा रहेको ब्राजिल हाल समूह ‘सी’ को तेस्रो स्थानमा छ । पहिलो खेलमा मोरक्कोसँग बराबरी खेलेपछि ब्राजिलले १ अंक जोडेको थियो ।

समान अंक भए पनि गोल अन्तरका आधारमा मोरक्को दोस्रो स्थानमा छ भने स्कटल्यान्ड २ अंकको अग्रतासहित समूहको शीर्ष स्थानमा रहेको छ । अर्कोतर्फ, पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको हाइटी अंकविहीन अवस्थामा समूहको पुछारमा रहेको छ । मोरक्कोविरुद्धको खेलमा ब्राजिलले आफ्नो वास्तविक स्तरअनुसार प्रदर्शन गर्न सकेन । यद्यपि, भिनिसियस जुनियरले गरेको उत्कृष्ट गोलको मद्दतले टोलीले महŒवपूर्ण १ अंक जोगाउन सफल भयो । विश्व फुटबलको शक्तिशाली टोली मानिने ब्राजिललाई प्रतियोगिताको उपाधि दाबेदारमध्ये एकका रूपमा हेरिएको छ ।

र पहिलो खेलको प्रदर्शनलाई आधार मान्ने हो भने टोलीले थप सुधार गर्नुपर्ने आवश्यकता स्पष्ट देखिएको छ । ब्राजिल विश्वकप इतिहासकै सबैभन्दा सफल राष्ट्र हो । उसले हालसम्म सर्वाधिक ५ पटक विश्वकप उपाधि जितिसकेको छ । तर सन् २००२ पछि ब्राजिलले विश्वकप ट्रफी उचाल्न सकेको छैन । अझ सन् २०१४ यता टोली क्वार्टरफाइनलभन्दा माथि उक्लन नसकेको तथ्यले पनि यसपटकको अभियानलाई विशेष महŒव दिएको छ । ब्राजिलले समूह चरणको अन्तिम खेल जुन २४ मा स्कटल्यान्डविरुद्ध खेल्नेछ । यदि हाइटीविरुद्धको खेलमा अप्रत्याशित हार बेहोर्नुपरेमा ब्राजिललाई नकआउट चरणमा पुग्न अन्तिम खेलमा सकारात्मक नतिजा निकाल्न दबाब पर्नेछ । यद्यपि हैटीले ब्राजिललाई पराजित गर्ने सम्भावना निकै कम मानिएको छ ।

इतिहास पनि ब्राजिलकै पक्षमा छ । यी २ टोलीबीच हालसम्म ३ पटक प्रतिस्पर्धा भएको छ र सबै खेलमा ब्राजिल विजयी भएको छ । विशेषगरी सन् २०१६ को कोपा अमेरिका प्रतियोगितामा ब्राजिलले हाइटीलाई ७–१ गोल अन्तरले पराजित गरेको थियो । त्यसअघि भएका २ मैत्रीपूर्ण खेलमा पनि हैटीले क्रमशः ४–० र ६–० को हार बेहोरेको थियो । यसरी हेर्दा हैटीले ब्राजिलविरुद्ध खेलेका ३ खेलमा कुल १७ गोल खाइसकेको छ । हाइटीले भने आफ्नो पहिलो खेलमा स्कटल्यान्डविरुद्ध केही सकारात्मक संकेत देखाएको थियो । खेलभर संघर्षपूर्ण प्रदर्शन गरे पनि टोली १–० ले पराजित भयो । स्कटल्यान्डका जोन म्याकगिनले पहिलो हाफमा गरेको गोल नै खेलको निर्णायक बन्यो । त्यस खेलमा देखाएको आत्मविश्वासले हाइटीलाई ब्राजिलविरुद्ध पनि प्रेरणा दिने अपेक्षा गरिएको छ ।

यदि हाइटीले ब्राजिलसँग हार बेहोरेको अवस्थामा मोरक्कोले स्कटल्यान्डलाई पराजित गर्यो भने हैटी समूह चरणबाटै बाहिरिने निश्चित हुनेछ । त्यसैले हैटीका लागि यो खेल ‘गर या मर’ को अवस्थामा रहेको छ । हाइटीले यसअघि सन् १९७४ मा मात्र विश्वकप खेलेको थियो र त्यसबेला ३ वटै खेलमा हार बेहोरेको थियो । यसपटक समूह चरणमा कम्तीमा १ अंक जोड्न सके पनि टोलीले इतिहास रच्नेछ । ब्राजिलको टोलीमा स्टार खेलाडी नेयमारको फिटनेस अझै पूर्ण रूपमा स्पष्ट भइसकेको छैन । उनी खेल्न सक्ने वा नसक्ने विषय अन्तिम समयमा मात्र टुंगो लाग्ने अपेक्षा गरिएको छ ।

यद्यपि टोलीका अन्य अधिकांश खेलाडी पूर्ण रूपमा फिट छन् । प्रशिक्षक एन्सेलोटीले पहिलो खेलको टोलीमा केही परिवर्तन गर्न सक्ने संकेत दिएका छन् । रक्षापंक्तिमा डानिलो र एलेक्स सान्द्रोलाई अवसर मिल्न सक्ने अनुमान गरिएको छ । त्यस्तै फाबिन्हो, लुइज हेनरिके र माथेउस कुन्हालाई पनि सुरुआती रोजाइमा राख्न सकिन्छ । क्यासेमिरो, लुकास पाकेटा र इगोर थियागो भने बेन्चमा बस्न सक्ने सम्भावना छ । आक्रमणतर्फ राफिन्हा र भिनिसियस जुनियरले आफ्नो स्थान कायम राख्ने अपेक्षा गरिएको छ भने गाब्रियल मागाल्हाएस रक्षापंक्तिको प्रमुख आधार बन्ने निश्चित छ ।

हाइटीतर्फ जोसुए कासिमिरलाई सुरुआती टोलीमा मौका दिइन सक्ने चर्चा छ । फ्रान्ट्ज्डी पिएरोट भने बेन्चमा बस्न सक्नेछन् । ५ अन्तर्राष्ट्रिय खेलमा २ गोल गरिसकेका विल्सन इसिडोरले अग्रपंक्तिको जिम्मेवारी सम्हाल्ने अपेक्षा गरिएको छ । लुइसियस डिड्सन पनि टोलीको महŒवपूर्ण हिस्सा रहनेछन् । अनुभवी गोलरक्षक जोनी प्लासिडेले आफ्नो ८४औँ अन्तर्राष्ट्रिय खेल खेल्ने सम्भावना रहेको छ । दुवै टोलीका लागि यो खेल अत्यन्त महŒवपूर्ण मानिएको छ । ब्राजिल पहिलो जित निकालेर समूहको शीर्ष स्थानतर्फ उक्लिने लक्ष्यमा छ भने हाइटी प्रतियोगितामा जीवित रहने आशासहित मैदानमा उत्रनेछ । त्यसैले फिलाडेल्फियामा हुने यो भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया