
काठमाडौँ । नेपालको इतिहासमै अहिलेसम्मको ठुलो वित्तीय कसुरको ठुलो मुद्दा अदालतमा पुगेको छ । ५ महिना लामो अनुसन्धान पछि एकैपटक ४ वटा अभियोग धितोपत्र, बिमा, बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणको मुद्दा ३ वटा अदालतमा पुगेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागको संयुक्त टोलीले गरेको अनुसन्धानका आधारमा ३ वटा अदालतमा मुद्दा दायर गरिएको हो ।
इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल तथा उपाध्यक्षद्वय सुलभ र साहिल अग्रवाल लगायतका व्यापारी तथा उद्योगी र तिनको सञ्जालमा जोडिएकाहरूविरुद्ध ३ वटा अदालतमा मुद्दा दायर गरिएको छ ।
विचौलिया दीपक भट्ट, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, व्यवसायी शाहिल अग्रवाल, शुलभ अग्रवाल, नेपाल उद्योग परिसंघका उपाध्यक्षत्रय राजबहादुर शाह, रोहित गुप्ता र अमित मोरलगायत ९१ जनाविरुद्ध विभिन्न प्रकृतिका कसुरमा बिहीबार जिल्ला अदालत काठमाडौँ, उच्च अदालत पाटन र विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
दायर गरिएका मुद्दामा सम्पत्ति शुद्धीकरण, धितोपत्र बजारमा चलखेल, बिमा कम्पनीहरूको रकम अपचलन तथा बैंकिङ कसुर गरी ४ फरक प्रकृतिका अभियोग समावेश छन् । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल तथा उपाध्यक्षद्वय सुलभ र साहिल अग्रवाल र इन्फिनिटी होल्डिङ्सका अध्यक्ष तथा विचौलिया दीपक भट्टविरुद्ध ४ वटै कसुरमा मुद्दा दायर गरिएको छ ।
उनीहरूले बैंकबाट प्राप्त कर्जा दुरुपयोग गर्ने, बिमा कम्पनीहरूको रकम गैरकानुनी रूपमा सेयर बजारमा प्रयोग गर्ने, कृत्रिम कारोबारमार्फत सेयर मूल्य प्रभावित गर्ने तथा त्यसबाट प्राप्त रकम विभिन्न माध्यमबाट शुद्धीकरण गरी वैध देखाउने काम गरेको अभियोगपत्रमा उल्लेख छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा धितोपत्र कसुरमा ८१ र बिमा कसुरमा ४२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । सम्पत्ति शुद्धीकरण कसुरमा ३९ जनाविरुद्ध विशेष अदालत र बैंकिङ कसुरमा ४ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ । बिमा ऐनअन्तर्गतको कसुरमा ३ अर्ब ७३ करोड ८५ लाख २४ हजार २२७, धितोपत्र ऐनबमोजिम कसुरमा १ अर्ब १४ करोड ८६ लाख ९ हजार ९०० रुपैयाँ बिगो दाबी गर्दै मुद्दा चलाएको हो ।
विषेश अदालतमा दायर गरिएको सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट र सुलभ अग्रवाललगायत ३९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ । भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख, अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख र शेखर गोल्छाविरुद्ध ५२ करोड रुपैयाँ बिगोको मागदाबी गरिएको छ ।
प्रतिक्रिया