काभ्रे बस दुर्घटना अपडेट : मृतक मध्ये चार जनाको पहिचान खुल्यो

काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६ स्थित बिपी राजमार्गको बुच्चाकोट (सेल्फी डाँडा) मा शुक्रबार दिउँसो भएको भयानक यात्रुवाहक बस दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएका ८ जनामध्य चार जनाको पहिचान खुलेको छ ।

पहिचान खुलेकामध्य रोशी गाउँपालिका– ७ की ३४ वर्षीया फुलमाया तामाङ, रोशी गाउँपालिका–६ का ७५ वर्षीय इन्द्रबहादुर झाक्री, रोशी गाउँपालिका– ८ की ६० वर्षीया प्यारीमाया तामाङ र दैलेख, नेपाली सेनाको अमलदार ३० वर्षीय बमबहादुर भण्डारी रहेका छन् ।

शुक्रबार दिउँसो २ः२० बजे बनेपाबाट रोशी खार्पाचोक ६ सुङुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेहरू अन्यको पहिचान खुल्न बाँकी छ ।

घटनास्थलमा स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार कार्य जारी राखेका छन् । दुर्घटनामा अन्य थुप्रै यात्रु घाइते भएका र उनीहरूलाई उपचारका लागि धुलिखेल र बनेपाका विभिन्न अस्पतालहरूमा पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया