पोखरामा रास्वपा अधिवेशनस्थल बाहिर जेनजी आन्दोलन पक्षधरको प्रदर्शन

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश अधिवेशन पोखरा सभागृहमा जारी रहँदा सभागृहको मुख्य प्रवेशद्वार बाहिर ‘जेनजी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह’ ले शान्तिपूर्ण प्रदर्शन गरेको छ ।

आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दा फिर्ता गर्न तथा उनीहरूलाई न्याय दिनुपर्ने माग राख्दै समूहले प्लेकार्डसहित प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दा राजनीतिक पूर्वाग्रहका आधारमा भएको दाबी गर्दै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

प्रदर्शनकारीहरूले अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण आन्दोलनको अधिकार तथा नागरिक अधिकारको सम्मान हुनुपर्ने भन्दै आन्दोलनमा संलग्न युवाहरूको मुद्दा तत्काल सम्बोधन गर्न माग गरेका छन् । उनीहरूले विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गर्दै न्याय र मुद्दा फिर्ताको पक्षमा आवाज उठाएका थिए ।

रास्वपाको प्रदेश अधिवेशन चलिरहेका बेला भएको उक्त धर्ना शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो । प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो भने धर्ना कार्यक्रमले अधिवेशनको गतिविधिमा कुनै अवरोध पुर्‍याएको थिएन ।

दबाब समूहले सम्बन्धित पक्षबाट आफ्ना मागहरूको सुनुवाइ नभए थप दबाबमूलक कार्यक्रम घोषणा गर्न सकिने चेतावनी समेत दिएको छ ।–तस्विर अर्जुन गाहा, नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया