काभ्रेको बुच्चाकोटमा बस दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६ स्थित बिपी राजमार्गको बुच्चाकोट (सेल्फी डाँडा) मा शुक्रबार दिउँसो भएको भीषण यात्रुवाहक बस दुर्घटनामा परी ७ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बनेपाबाट रोशी खार्पाचोक ६ सुङुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दिउँसो २ः२० बजे अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरूको पहिचान खुल्न बाँकी छ । घटनास्थलमा स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार कार्य जारी राखेका छन् । दुर्घटनामा अन्य थुप्रै यात्रु घाइते भएका र उनीहरूलाई उपचारका लागि धुलिखेल र बनेपाका विभिन्न अस्पतालहरूमा पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तीव्र गति वा प्राविधिक कारणले बस दुर्घटना भएको हुन सक्ने अनुमान गरिए पनि दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया