वास्तवमा सम्मानपूर्वक गरिने आलोचना, पूर्वाग्रहरहित प्रश्न र विषयगत खबरदारीले लोकतन्त्रलाई बलियो बनाउने मात्र नभई समाजलाई जागरुक र सचेतसमेत गराउँछ । विचार र सिद्धान्तका हिसाबले कांग्रेस–कम्युनिस्टहरू प्रियतावादी शक्तिभन्दा धेरै माथि हुन् ।

राजनीतिशास्त्रका धेरै परिभाषाहरू छन् । कतिपय सन्दर्भमा राजनीतिलाई ‘सेवा’ पनि भन्ने गरिएको सुनिन्छ । तर, राजनीति खासमा सेवा मात्र होइन, यो त जिम्मेवारी, उत्तरदायित्व, जबाफदेहिता र पारदर्शितासहितको एउटा बृहत् जागरण एवं अभियान हो । यस जागरण र अभियानको मार्गमा इमानदारीका साथ अघि बढ्नु प्रत्येक राजनीतिकर्मीको परम दायित्व हो ।
राजनीति सञ्चालनका लागि स्पष्ट सोच, विचार, दृष्टिकोण, सिद्धान्त, बलियो संगठन, असल एवं गतिशील नेतृत्व र सुविचारित कार्यक्रमहरू आवश्यक पर्दछन् । राजनीति मूलतः एउटा सामूहिक यात्रा र सामूहिक प्रयास हो । यो परिस्थितिको उपज हुनुका साथै शक्ति संघर्ष पनि हो । राजनीतिका जे–जस्ता र जतिसुकै परिभाषाहरू भए तापनि सत्ता र संविधान राजनीतिक विज्ञानका केन्द्रीय विषय हुन् भने स्वतन्त्रता र समानता लोकतन्त्रका मूल स्तम्भ हुन् । यी चार तत्वहरूको गतिशील समिश्रण नै वास्तवमा राजनीति हो ।
यससँगै विचारणीय कुरा के छ भने, राजनीतिको असली मुहान समाज र जनता हुन् । जस्तो समाज हुन्छ, उस्तै नेता जन्मिन्छन् र जस्ता नेताहरू हुन्छन्, उस्तै नेतृत्वको निर्माण हुन्छ । सत्ता र संविधानलाई जनमुखी एवं गतिशील बनाउन तथा स्वतन्त्रता र समानतासहितको समाजवादी लोकतन्त्र स्थापना गर्न बलियो पार्टी संरचना, नैतिकवान् नेतृत्व र स्पष्ट कार्यदिशा अनिवार्य हुन्छ । केवल दल, संगठन, नयाँ वा पुराना, अनि युवा वा प्रौढ आदिको नाममा वा भावनामा बगेर मात्र राजनीति चल्न सक्दैन ।
राजनीति उमेरले होइन, एजेन्डा (मुद्दा) ले गर्ने विषय हो भन्ने मान्यता समाजमा स्थापित छ, तर वर्तमान परिप्रेक्ष्यमा यस मान्यतालाई परिमार्जन गर्न आवश्यक देखिन्छ । अब राजनीति उमेर र एजेन्डा दुवैको संयोजनबाट गरिने विषय बन्नुपर्छ । त्यस्तै, राजनीतिलाई जात, धर्म वा क्षेत्रीयताको संकुचित सीमाभित्र कैद गरिनु हुँदैन । राजनीति त आवश्यकता, औचित्य र सान्दर्भिकताका आधारमा गरिने बृहत् विषय बन्नुपर्छ । राजनीतिको एउटा गौरवमय विगत थियो, जीवन्त वर्तमान छ र सुनौलो आगत (भविष्य) पनि हुनेछ । त्यसैले त राजनीतिलाई एक विशिष्ट विज्ञान मानिएको हो । संक्षेपमा भन्दा, यस विधाभित्र समाजको क्रमबद्ध अध्ययन, प्रयोग र परिणामको ठोस विश्लेषण गरिने भएकाले नै राजनीति एक विज्ञान हो, जसको निरन्तर विकासका लागि स्वस्थ, स्वच्छ र सभ्य बहस एवं छलफल अपरिहार्य रहन्छ ।
मानव सभ्यताको विकास र संस्थागत संरचनाको निर्माणमा निजी पुँजीको भूमिकालाई नकार्न मिल्दैन । तर, सीमाहीन निजत्व (व्यक्तिवाद) समाजका लागि घातक हुन्छ भन्ने कुरा पनि त्यत्तिकै स्मरणयोग्य छ । कार्ल माक्र्सको इतिहासको भौतिकवादी व्याख्या अनुसार, मानव समुदायको विकासक्रम आदिम साम्यवादी युग (लाखौँ वर्ष), दास युग (२ देखि ४ हजार वर्ष), सामन्तवादी युग (२ देखि ४ हजार वर्ष), र पुँजीवादी युग (विगत ५०० वर्ष) हुँदै अघि बढेको हो । अन्ततः साम्यवादी युग नै मानव समाजको युगीन, न्यायिक, व्यावहारिक र वैज्ञानिक युग हो भन्ने माक्र्सवादीहरूको दृढ विश्वास छ ।
प्राकृतिक, वैचारिक, सैद्धान्तिक र दार्शनिक रूपमा समाजको संरचना र संस्थागत विकासक्रमको इतिहासलाई नजरअन्दाज गरेर वर्तमान अघि बढ्न सक्दैन । विगत र वर्तमानबिना आगत (भविष्य) को बलियो आधार निर्माण हुन सक्दैन । त्यसैले राजनीतिमा अग्रजहरूको सम्मान गर्नु नयाँ पुस्ताको अनिवार्य राजनीतिक संस्कार ठहरिन्छ । खासगरी, नेपालको राजनीतिक परिवर्तनका आन्दोलनहरूमा विकट अवस्थाको सामना गर्दै अघिल्लो पुस्ताले गरेको योगदान अतुलनीय छ । वर्तमानको ठोस र वस्तुपरक विश्लेषण गर्नु नयाँ पुस्ताको बुद्धिमत्ता एवं सचेतता हो भने भविष्यको बारेमा चिन्तन–मनन गर्नु उनीहरूको दायित्व हो । राजनीतिमा अघिल्लो पुस्ताका नेताहरूको बदनाम गरेर स्थापित हुन खोज्नु वा अरूलाई हिलो छ्यापेर आफू सफा देखिन खोज्नु लेनिनले भनेझैँ ‘सारसंग्रहवादी आचरण’ मात्र हो ।
सिद्धान्ततः ‘म’ भन्नु पुँजीवादी प्रवृत्ति हो भने ‘हामी’ भन्नु समाजवादी विचारधारा हो । अर्को कुरा, समाजवाद ९० प्रतिशत व्यवहार हो भने १० प्रतिशत मात्र सिद्धान्त र विचार हो । अर्थात्, सामान्य भेटघाटदेखि विशिष्ट मञ्चसम्मका संवाद, बोलचाल, अभिव्यक्ति, लेखन, खानपान र उठबससँगै कुनै पनि विषयलाई सोच्ने र प्रस्तुत गर्ने तरिकाले नै व्यक्तिको राजनीतिक उचाइ निर्धारण गरिरहेको हुन्छ ।
तर, नेपाली राजनीतिमा के नयाँ, के पुराना – सबै नेता र दलहरू घोर आत्मकेन्द्रित एवं ‘मवादी’ प्रवृत्तिले ग्रस्त देखिन्छन् । प्राकृतिक सिद्धान्तलाई नै चुनौती दिने गरी नेपालका दल र तिनका शीर्ष नेताहरू प्रस्तुत भइरहेका छन् । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, राजमो, नेमकिपा जस्ता पुराना पार्टीका शीर्ष नेताहरूसँग उमेर मात्र होइन, एजेन्डासमेत नभएको अवस्था छ । मोहनविक्रम सिंह, मोहन वैद्य, चित्रबहादुर केसी, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ हरूसँग न त नयाँ उमेर छ, न त समसामयिक एजेन्डा ।
राजनीति केवल उमेरले मात्र गर्ने कुरा त होइन, तर हाम्रा अधिकांश नेताहरूसँग उमेर र जनमुखी एजेन्डा दुवैको अभाव देखिन्छ । यहाँ ‘म भए हुने, अरू भए नहुने’, ‘मैले मात्र सक्छु, अरूले सक्दैनन्’, ‘म मात्रै योग्य, म नै सर्वेसर्वा हुँ’, ‘मेरो मान्छे, मेरो जात, मेरो धर्म र मेरो समाजले मात्र राज गर्नुपर्छ’, तथा ‘मैले मात्र सारा कुरा जानेको छु’ जस्ता मवादयुक्त अहंकारले नेपाली राजनीति ग्रसित छ; जुन एक प्रकारको घमण्डी र पाखण्डी राजनीति हो ।
२०८२ भदौको ‘जेनजी विद्रोह’ पछि सत्ताच्युत बनेका केपी शर्मा ओली हालै (जेठ २० गते) एउटा कार्यक्रममा निकै कडा रूपमा प्रस्तुत भएको सुनियो । यतिखेर अध्यक्ष ओली पार्टी सचिवालयमा घोर अल्पमतमा छन् र एमालेभित्र नेतृत्व हस्तान्तरणको मुद्दा जबरजस्त रूपमा उठिरहेको छ । तर, उक्त विद्रोहपछि पहिलोपटक सार्वजनिक रूपमा भाषण गर्दै ओलीले आफू २०८२ पुसमा पुनः अध्यक्ष चयन भएको जिकिर गर्दै नेतृत्व हस्तान्तरण नगर्ने संकेत गरेका छन् ।
ओलीले भनेका छन्, ‘मेरो टाउको दुखेको थाहा पाएपछि अब मर्छ भनेको धेरै समय भइसक्यो । त्यसकारण म अब स्वस्थ छु ।’ यो तहको तर्क गर्ने ओलीले सजिलै र समयमै नेतृत्व हस्तान्तरण गर्छन् भनेर कसरी विश्वास गर्ने ? केपी ओलीले २०७४ सालको निर्वाचनपछि आजसम्म पार्टी सत्ता र राज्य सत्ता आफूकेन्द्रित गरेकै कारण एमालेले यो निर्मम पराजय भोग्नुपरेको सत्य हो । जति समयसम्म ओली एमालेको नेतृत्वमा रहिरहन्छन्, त्यति समयसम्म पार्टी ओरालो यात्रामा हिँडिरहनेछ भन्ने कुरा एमालेभित्रका नेता–कार्यकर्ताले बुझेका पनि छन् । तर, केपी ओली अझै पनि ‘म’ मात्र भनिरहेका छन् । ओलीले ‘म’ को अहं नत्यागेसम्म एमालेले नयाँ र गतिशील नेतृत्व पाउने सम्भावना क्षीण छ ।
सोचमाथि प्रतिबन्ध किन ?
पूर्वीय साहित्य र दर्शनलाई कतिपय सन्दर्भमा प्रश्न गर्ने भन्दा पनि पूजा गर्ने वा विनाबहस स्वीकार्ने दर्शनका रूपमा व्याख्या गरिन्छ, जसको प्रभाव आजको नेपाली राजनीतिमा पनि प्रस्ट देखिन्छ । उसो त पश्चिमा दर्शनमा पनि स्थापित राज्यसत्ताका विरुद्ध युवाहरूलाई उचालेको र भ्रमित पारेको आरोपमा एथेन्सको तत्कालीन प्रजातान्त्रिक सरकारले महान् दार्शनिक सुकरातलाई विषपान गराएको ऐतिहासिक तथ्य भुल्न मिल्दैन । खासगरी नेपालका स्थापित भनिने कांग्रेस र कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू आफ्ना विरुद्ध गरिएका प्रश्न, आलोचना र विरोधलाई कत्ति पनि सहन सक्दैनन् । वैकल्पिक र नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निम्ति पनि आन्तरिक लोकतन्त्र र आलोचनाको स्वीकारोक्ति निकै टाढाको विषय बन्नु अर्को दुर्भाग्य हो ।
वास्तवमा सम्मानपूर्वक गरिने आलोचना, पूर्वाग्रहरहित प्रश्न र विषयगत खबरदारीले लोकतन्त्रलाई बलियो बनाउने मात्र नभई समाजलाई जागरूक र सचेतसमेत गराउँछ । विचार र सिद्धान्तका हिसाबले कांग्रेस–कम्युनिस्टहरू प्रियतावादी शक्तिभन्दा धेरै माथि हुन् । बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र मदन भण्डारी जस्ता दिग्गज नेताहरूको वैचारिक विरासत बोकेका दलहरूको वर्तमान अवस्था अत्यन्तै दुःखद् छ । यो आजको निर्मम सत्य हो । यसको अर्थ नयाँ भनिएका प्रियतावादी शक्तिहरू पूर्ण रूपमा असल छन् भन्न खोजिएको भने होइन ।
आजको दिनमा के नयाँ, के पुराना ? सबै दलभित्र आन्तरिक लोकतन्त्र मृतप्रायः छ । नयाँ पुस्ताले गर्नुपर्ने मुख्य चिन्ता, चासो र चिन्तनको विषय नै दलहरूभित्र हराउँदै गएको आन्तरिक लोकतन्त्र हो । पार्टीभित्र नयाँ विचारको उत्पादन र पुनरोत्पादन नभएकै कारण सारसंग्रहवाद र प्रियतावादको सुनामीले नेपालमा मात्र नभई विश्वकै राजनीतिलाई कब्जा गर्न थालेको देखिन्छ । नेताहरूमा निष्ठा, त्याग, समर्पण, इमानदारी, दृढ इच्छाशक्ति, पारदर्शिता र विचार अनुकूलको व्यवहार नदेखेका कारण नै आज अघिल्लो पुस्ताका नेताहरूमाथि गम्भीर प्रश्नहरू उब्जिएका हुन्, जुन कुरा घाम जत्तिकै छर्लंग छ ।
वर्तमान समयमा कुनै पनि पार्टीका मुख्य नेताहरू आरोपमुक्त छैनन् । यस्तो निराशाजनक अवस्थामा नेपाली राजनीतिमा आशावादको दियो कसरी बल्न सक्छ ? युवाहरूको आक्रोश वर्तमान नेतृत्वले पटक–पटक अवसर पाउँदा पनि अपेक्षित परिणाम दिन नसक्नुतिर केन्द्रित छ । मुख्य नेतृत्वदेखि दोस्रो तहका नेताहरूका लागिसमेत पार्टीमा युवाहरूको हस्तक्षेपकारी उपस्थिति भारी बनिरहेको देखिन्छ । ‘आजका युवाहरू भविष्यका कर्णधार मात्र होइनन्, वर्तमानका हिस्सेदार र सहयोद्धा हुन्’ भन्ने शाश्वत सत्यलाई स्वीकार गर्न पुराना नेताहरूलाई निकै गाह्रो परिरहेको छ । तर, आज जसले युवा र ‘जेनजी’ को नाममा भुइँ छोडेर राजनीति गरिरहेका छन्, उनीहरूले पनि एक दिन आफू बुढो हुनुपर्छ र नयाँ पुस्तालाई ठाउँ छाड्नुपर्छ भन्ने कुरा भुल्नु हुँदैन ।
पुनः केपी ओलीकै सन्दर्भ जोडौँ । ओलीले आजका दिनमा पनि आफ्ना कमजोरीहरूलाई सच्याएर अघि बढ्नुपर्छ भन्ने आत्मबोध गरेका छैनन् । उल्टै एमालेभित्र नेतृत्व परिवर्तन र हस्तान्तरणको कुरा गर्नेहरूलाई पार्टीबाट निष्कासन गर्ने धम्की दिइरहेका छन् । हाम्रा शीर्ष नेताहरू कार्यकर्ताको सोचमाथि नै प्रतिबन्ध लगाउन खोज्छन् । उनीहरूको मनोविज्ञान कस्तो देखिन्छ भने, ‘यदि तिमी कुनै नयाँ कुरा सोचिरहेका छौ भने नसोच, तिमीले सोच्न पाउँदैनौ, तिमी अर्को गुटको कार्यकर्ता हौ, तिमी अल्पसंख्यक वा सिमान्तकृत जातिको मान्छे हौ, तिमी फलानो धर्म वा समुदायको हौ, तिमी कमजोर वर्गको हौ, त्यसैले तिमीले नेतृत्व दाबी गर्न मिल्दैन ।’
यस्ता संकुचित टिप्पणी र प्रवृत्तिका कारण ओलीलगायतका शीर्ष नेताहरूको अहंकारको घैँटो भरिइसकेको छ । यस्तो खालको बुझाइ र दृष्टिकोण राजनीतिक रूपमा पूर्णतः खारेजयोग्य छ । वैचारिक सोचमाथि प्रतिबन्ध लगाइँदा एमालेको जुन कन्तविजोग भएको छ, त्यसको भान स्वयं ओलीलाई नहुनु दुःखको कुरा हो । कांग्रेस र माओवादी केन्द्रको आन्तरिक व्यथा पनि एमालेको भन्दा भिन्न छैन ।
पुराना दलहरूको यो हविगत वर्तमानमा राज्यसत्ता सञ्चालन गरिरहेको नयाँ पार्टी रास्वपाका निम्ति गतिलो पाठ हुन सक्छ । राजनीति ‘म’ होइन, ‘हामी’ भन्ने सामूहिक भावनाले सञ्चालन हुँदा मात्र विधिको शासन र कानुनी राज्य स्थापित हुन्छ भन्ने कुरा रास्वपाले बुझ्न आवश्यक छ । ओलीहरूको दम्भ, घमण्ड र ‘मवाद’ ले निम्त्याएको राजनीतिक प्रलय रास्वपाका निम्ति जीवित पाठ बन्न सक्छ । निषेध र विभेदको राजनीतिले अन्ततः पार्टी र देश दुवैलाई खरानी नै बनाउने हो । यदि राजनीतिक रूपमा खरानी हुनबाट जोगिने हो भने ‘हामी’ भन्नुको विकल्प छैन । विषयगत रूपमा स्थानीय शासन र सार्वजनिक प्रशासनको विद्यार्थी हुनुको नाताले म दृढताका साथ भन्न सक्छु, ‘जब राज्यको सत्ता, शक्ति र सम्पत्ति गलत व्यक्तिको हातमा पुग्छ, तब त्यसको चरम दुरुपयोग निश्चित छ ।’ यसप्रति सम्पूर्ण समाज र नयाँ पुस्ता सदैव सचेत र जागरुक बन्नै पर्छ ।
प्रतिक्रिया