क्रमभंगता – हाम्रो राज्य व्यवस्थाको तदर्थवादी निरन्तरता

परिवर्तन संसारी पद्धति हो, प्रकृतिको आवृत्ति बदलिन्छ र त्यसको पुनरावृत्ति आगमन–गमन एवं पुनरागमन पनि भइरहन्छ । राजनीतिमा पनि बदलाव भइरहन्छ, आलोपालो चलिरहन्छ, सासूपछि बुहारीको पनि पालो आउँछ ।

उपेन्द्र प्रेमी

बित्दै, गुज्रँदै आएको व्यतीत ७६ वर्षको हाम्रो राज्य प्रणाली, हाम्रो विधि पद्धति र राजकाजी व्यवस्था निरन्तर अस्थिर, अनित्य, नित्यशः परिवर्तित एवं तदर्थवादी धाराका रूपमा प्रवाहित छन् । बिपी कोइराला गृहमन्त्री भएदेखि सुधन गुरुङ गृहमन्त्री भएसम्म, मातृका, के.आई. सिंह, प्रचण्ड हुँदै वालेन्द्र शाहसम्मका पात्रहरू प्रधानमन्त्री भएसम्मका यी सबै अवधि त्यस्तै–त्यस्तै क्रमभंगता वा प्रयोगवादी तदर्थताबाट गुज्रँदै गइरहेका छन् ।

प्रयोग अनि प्रयोग, अभ्यास अनि फेरि अर्को अभ्यास, क्रम उपक्रम अनि अर्को खालको क्रमभंगता, मान्यता–परम्परा–तर त्यसको परित्याग, अर्को खालको आँफूखुसी अर्को खालको तौरतरिका । हो यही शृंखला चलिरहेको र यस्तै प्रवाह बगिरहेको विचित्र अवस्था हाम्रो ‘राज्य–व्यवस्था’ को ।

१९९७ देखि २०८१र०८२ सालसम्मका हाम्रा राज्य व्यवस्थाका निम्ति प्रस्तुत क्रान्तिकारिता, आन्दोलन, विद्रोह र युद्धका शैली पनि गजब गजब र अलग अलग खालका छन् । खुलेआम देखिएर, हाँकिएर, भूमिगत भएर, विदेशिएर देशभित्र परिवर्तनका लहर ल्याउने ती प्रहरका परस्पर फरक फरकका दृश्य देखिन्छन् । अरूको आड लिएर, अरूबाट विध्वंसका ओट साधन बटुलेर, अरूबाट गाइडेड भएर, सामाजिक सञ्जालबाट उफ्रिएर वा उफारिएर पटकपटक, अमुक भनौँ प्रत्येक एक–डेढ दशकको अन्तरालमा हामीकहाँ राज्य प्रणाली, राजकाजी पद्धति तथा शासनसत्ता हत्याउने प्रवृत्ति हुँदै आएको छ । परिवर्तन संसारी पद्धति हो, प्रकृतिको आवृत्ति बदलिन्छ र त्यसको पुनरावृत्ति आगमन–गमन एवं पुनरागमन पनि भइरहन्छ । राजनीतिमा पनि बदलाव भइरहन्छ, आलोपालो चलिरहन्छ, सासूपछि बुहारीको पनि पालो आउँछ । जीवन जगतको हरियो र सुक्खा चक्र राजनीतिभित्र पनि चलिरहन्छ ।

२००७ सालको प्रजातन्त्र, २०१५ सालको कांग्रेसी आदर्श, तत्पश्चात्को पञ्चायत, गाउँ फर्क, अनि विकासका लागि राजनीतिको मन्त्र, शान्ति क्षेत्र, जनमत संग्रह, ४७ सालको संविधान, माओवादी जंगली विद्रोह, छलाङ वा सारा कुराको ब्रेक थ्रु, गणतन्त्र, पर्यायी लोकतन्त्र, संघीयता, ५ विकास क्षेत्रको सट्टा ७ प्रदेश, राजारहित राष्ट्रपति, उपराष्ट्रपति आदि आदि अनेक विषय विधि हुँदै, गणतन्त्र दिवस, घण्टी वादन, प्री–इलेक्सन हुँदै अहिले हामी त्यही निरन्तरताको क्रमभंगताको शृंखलामा ‘वालेन्द्र सत्ता’ उपक्रममा छौँ । सबै क्रान्तिकारिता र परिवर्तनको चुरो कुरो नै सत्ता हो, तर आवरणमा ‘नो नट एगेन’ र पुरानो फेरि नयाँ कुराको कोकोहोलो मात्रै हो ।

काम नास्ति कुरा अति

हामीकहाँ परिवर्तन, नयाँ आशा जगाउने, नयाँ नेपाल बनाउने र सबै नेपालीलाई शान्त, सभ्य, सुखी बनाउने विषयमा केन्द्रित हुन्छन् । त्यही भरोसामा प्रत्येक पुरानो एवं प्रत्येक अग्रपिढी तिरस्कृत भएर नवागत पंक्ति सत्ताको ‘स्वागत द्वार’ मा खडा हुन्छ । नयाँ भित्र पस्छ । केही बेर अघिल्लालाई दोष थोपरेर अब हामी छलाङ मार्छौं, परम्परा तोड्छौँ र नयाँ युगमा, नयाँ उन्नतिको मार्गमा नेपालीलाई जोड्छौँ भन्ने वाचा घोषणा हुन्छ । तर कुरा मात्र ‘अति’ हुन्छ गति मति केही हुँदैन, उल्टो हिजोको भन्दा ज्यादा खति हुँदै जान्छ । ‘कुरा अति, काम नास्ति’ को यो स्थितिले केही कालवेला ‘क्रमभंगता’ देखाएर अवस्था फेरि अधोगतितर्फ नै लाग्छ ।

आयो गयो, के गयो के आयो, के भयो ? कागलाई बेल पाकेर के हर्ष ? अब आएको त्यो उपक्रम भंगित बन्दै जान्छ र अर्को उपद्रोतिर, अर्को पंक्ति र अर्को पुस्ता अघि सर्दै गएर तात्कालिक त्यो ‘क्रमभंग’ ले विश्रान्ति लिन्छ, त्यो एउटा राजनीतिक चर्तिकलाको समाप्ति हुन्छ । कुरा कुरामै, काम पुरानै, अब अर्को विरानोतिर अर्को यात्रा चल्छ । यस्तै तदर्थताको चलनचल्तीमा चलिरहेछ हाम्रो राजनीति र राज्य प्रणाली ।

हामीले अब गर्ने, अहिले गर्ने

प्रत्येक परिवर्तनको उल्लासमा उत्फुल्ल भएर भनिन्छ, अब नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ? हो, प्रत्येक नवागत क्षेत्र, रूप–रंगका नयाँ राजनीतिक शक्ति र तिनका नेताले भन्ने सुनाउने मूल मन्त्र त्यही हो तर मन्त्र अनुरूपको तन्त्र त्यस्तो हुँदैन, तन्तु उता गएर जोडिन्छ, कसरी तोडिँदै जान्छ , अत्तोपत्तो हुँदैन । के.आई. सिंहका पालामा मोहर पाथी चामल भनियो, अरू प्रत्येक चरणमा त्यस्तै–त्यस्तै अनेक राहत, कल्याण, उत्थान र उमंगका अद्भूत आश्वासन भयो, सबैसबैले क्रमभंगताको कर्मकाण्डी औपचारिकता प्रस्तुत गरे । प्रस्तुति भयो, पूजापाठ चल्यो, शंख घण्ट बज्यो, न शुद्धि न सिद्धि, त्यो सबै आफँै सांगोपांग समाप्ति भएर गयो, अब गर्ने, अहिले गर्ने र हामीले नै गर्ने स्तोत्र स्वयं सुकेर गयो ।

राजनीति र राज्य व्यवस्थाभित्र संस्कार बस्नुपर्छ, त्यो अभ्यासमा अभ्यस्त हुँदै त्यसले संस्कृति, पद्धति र स्वस्थ प्रवृत्ति कायम गर्दै लानुपर्छ । तर हामीकहाँ र हाम्रो राजनीतिक पथ र राज्य प्रबन्ध परिपाटीको हरेक विरासती सहानी पुरानोको प्रतिस्थापित अर्को ‘क्रमभंगित उत्तेजना’ भएर चम्किने अनि छिट्टै अस्ताउने स्थितिमा रह्यो । सत्तामा आकार बदलिएर केही हुने होइन, संस्कार, संस्कृति र पद्धति बस्नु ठूलो कुरा हो, अनि देश र समाजको मुहार चहकिलो हुँदै जानु मुख्य विषय हो । पोसाक–साजसज्जा र रूप बदलिएर होइन, सार उत्रनु पर्छ, राजनीतिक आदर्श, मान्यता, जनआकांक्षा र राष्ट्रको स्वरूप साकार भएर उत्रनुपर्छ, अनि न प्रत्येक जस्तो आगतको स्वागत हुन्छ ।

तर हाम्रो तदर्थवादी निरन्तरतामा आकार मात्र बदलिने, त्यसले कुनै साकार रूप नलिने, अन्ततः निराकार भएर अंगार भएर हराउने अवस्था मात्र भुल्लिरहन्छ । प्रत्येकपटक क्रमभंग, नवप्रवर्तन र सर्वसंवद्र्धन भन्दै संस्कार र परम्परालाई तोडमरोड गर्दै – परत्रको शरणागतितिर हाम्रो स्थिति चलिरहेछ बडो विडम्बनाको कुरा ।

संयोजनबिनाको भञ्जन

हाम्रा हरेक क्रान्ति, आन्दोलन, विद्रोह, विरोधको अर्थ सधैँ हुन्छ, संयोजन, उन्नयन, शान्ति–सुख र समृद्धि । त्यसका निम्ति गरिन्छ सधैँ तोडफोड, विनाश, संहार र क्षति । अनि खग्रासको त्यही अंगार र खरानीबाट उठेर भनिन्छ, अब पुनर्निर्माण, पुनर्निर्माण, जीर्णोद्धार ।

तर हुनुपर्ने संयोजन, समायोजन र पुनरुत्थान नभई अरू थोक के के अरू हुँदै जान्छ अनि त्यसले फेरि अर्को विद्रोहको आमन्त्रण गर्दछ । घुम्दै फिर्दै बदल्दै बदलिँदै फेरि, उही, फेरि उस्तै । विगत ७६ वर्षअघि हाम्रो इतिहासमा कोरिएको शब्द चित्र यही हो । नारा, भावना, योजना, घोषणा र वाचा सधैँ सुन्दर एवं चित्ताकर्षक रहे, तर हामी सधैँ अरूको असामी, अरूका दासदासी तथा प्रभावी, परनिर्भर पात्र मात्र बन्दै गयौँ । हाम्रो पौराणिक शताब्दी पूर्वको गौरव गरिमा विलीन बन्दै हामी अरूका गोटीका रूपमा चल्दै चालिँदै गयौँ ।

तैपनि यो क्रमभंगता, यो पुरातन परम्पराको परित्यक्तता र अत्याधुनिकता भन्दै हामी, रमाइरहेकै छौँ । हामी अरूका हेपाइमा यसरी किन रमाइरहेछौँ र किन बिनामेसै उफ्रिरहेछौँ ? आफैँलाई थाहा छैन । हामी संयोजित होइन विभाजित छौँ, हामी समुन्नत भइरहेका छैनौँ निरन्तर भञ्जित, तिरस्कृत छौँ, अधःपतनतिर लागिरहेछौँ, बुझी बुझी पनि लाचार हामी ।

अर्थ न बर्थको तदर्थ

अर्थ धेरै लगाइए, बर्थ (जन्म जन्मान्तर–उत्पत्ति उत्पादन) धेरै आए, धेरै थरी मत–वाद अनेक आए, विवाद धेरै भए, सिद्धान्त, लक्ष्य, आदर्श निकै निस्के । प्रजातान्त्रिक समाजवाद, समन्वयवाद, साम्यवाद, जनवाद, सर्वहारावाद, पुँजीवाद, गणवाद, नौलो जनवाद, उदारवाद र नवउदारवादका अनेक बाजा घन्के, तर हाम्रो यथास्थितिमा सधैँ हाबी भइरह्यो, तदर्थवाद । हामी उसै समाजवादी, समन्वयवादी र उदारवादी । कुनै वाद विशेषलाई राजनीतिक रङ दिएर हामीलाई रंग्याइरहनु, अल्झाइरहनु र अल्मल्याउनुको कुनै अर्थ छैन ।

अर्थ न बर्थका त्यस्ता वादविवादको रंगरोगन हामीमा कताबाट, कसरी, यसप्रकार आयो ? विचारणीय कुरा मुख्य यो हो । यसरी होइन त्यसरी जाने भनेर हामीले के कस्तो पाठ कताबाट कसरी सिक्यौँ, अनि यो भएन त्यसो गरौँ, यताबाट नहुने भो अब उता लागौँ भनेर हामी सदैव तदर्थ ढंगमै किन ढल्दै आयौँ ? किन हाम्रो कुनै स्थिति, पद्धति, नीति, मति र गति भएन ? अब यसतर्फ गम्भीर बन्नु जरुरी छ ।

अँधेरो र अनर्थबाट उम्कनु पर्छ

हामी नेपाली आँधा र अचेत होइनौँ, प्राचीन पौराणिक एवं गौरवमय इतिहास सुन्दा हेर्दा हामी उन्नत, उज्ज्वल, सचेत, जाग्रत पुर्खाका तेज सन्तति हौँ हामी । ‘तमसो मा ज्योतिर्गमय’ भन्ने हाम्रो जाग्रत आदर्श र उच्च लक्ष्य हो । तर यता आएर हामी जसप्रकार अँध्यारो सुरुङभित्र घुसिरहेछौँ, त्यो अनर्थको र विद्यमान विकारको विषय हो । भूमिगत सुरुङबाट हामीलाई कालो, कलुषित, कल्मष खाडलतिर फँसाउने खेल चलिरहेछ, त्यो मूलतः अनर्थको जड हो ।

हामी कहाँबाट कसरी कतातिर जाँदै र के कस्तो अवस्थातिर धकेलिँदै छौँ भन्ने कुराको ख्याल अब हामीले राख्नै पर्छ । एउटै आर्थिक वर्षमा ६–७ खर्बको ऋणको भारी बोक्दै हामी कता जाकिँदै छौँ, सोच्नुपर्ने कुरा छ । ऋण लिएर ऋणकै ब्याज बुझाउनुपर्ने र ऋण लिएर दैनन्दिनी खर्च गर्नुपर्ने स्थितिमा हामी किन छौँ ? ऋण लिएर हैन उद्यम, उत्तम श्रम, सीप र आर्थिक सामथ्र्य बढाएर घ्यू पिउन सक्नुपर्छ हामीले ।

यसका निम्ति ‘अनर्थ पथ’, तदर्थ चरित्र र व्यर्थको राजनीतिक गोलचक्करबाट मुक्त हुन सक्नुपर्छ हामी । हाम्रो पुरानो उज्यालोमा अँधेरोको टाटो कताबाट आयो ? हाम्रो आत्माभित्र कताबाट नराम्रो अनर्थ हावा पस्यो ? अनि ग्रह विग्रह भएर ग्रहणको चरण किन आयो ? हामी त्यसमा चनाखो हुनै पर्छ । मूल विषय हो आजको, हामी अँधेरो र अनर्थको अवस्थाबाट उम्कनै पर्छ ।

क्रमभंगता होइन स्वस्थ निरन्तरता

यो जीवन, यो जगत् र यहाँका प्राकृतिक, राजनीतिक, सामाजिक, सांस्कृतिक गतिविधि एक सुनिश्चित गतिमा अघि बढ्दछ । राज्य व्यवस्था र राजकाजी प्रबन्ध परिपाटीभित्र पनि त्यस्तो नियमितता, निरन्तरता, गतिशीलता तथा स्वस्थता कायम हुँदै जानु पर्दछ । अनि मात्रै प्रकृति नियमसँग त्यसको तादात्म्यता रहन्छ । तर नेपालको राजनीति र राज्य गतिविधि सधँै भरी ‘क्रमभंगता’ भन्दै, हरेक चरणलाई नूतन नवीन मान्दै अघि बढाइएको छ ।

समय अनुरूप आधुनिकता, नवीनता, पुस्तान्तरण, रूपान्तरण त आफैँमा प्रकृतिसिद्ध विषय हो । चाहेर कोही वार्धक्य कालमा पुगेको व्यक्ति बालक बन्दैन, स्वभावतः उत्तरदायित्वमा उत्तराधिकारी आउने अनि जाने – फेरि अर्को पात्र, चरित्र र खण्डको उदय स्वतः हुँदै जाने कुरा हो ।

हामीले परम्परा भत्कायौँ, क्रमभंग गर्यौँ, उपक्रम ल्यायौँ भन्नुको कुनै गर्विलो अर्थ नै हुँदैन । हामीले पूजापाठ छोड्यौँ, दौरा सुरुवालबाट सुट टाइमा आयौँ भनेर गर्व गर्नुको के अर्थ ? रीतितिवाज, मान्य परम्परा, चलनचल्तीको प्रचलन छोडेर हामी आफूले कसको कस्तो पहिचान प्रस्तुत गर्न खोजेको हो ? विचार गर्नुपर्ने कुरा त्यो पो हो । जंगल क्रान्तिबाट तेज रूपमा सहर, सडक र सत्तामा आइपुग्दा प्रचण्डको तेज रूप र ‘प्रचण्ड पथ’को वेग कस्तो थियो ? २० वर्षपछि अहिले त्यो छलाङ मारेको क्रमभंगित रूपरंग के छ, त्यो नेपालभित्र मात्र होइन सर्वत्र जगजाहेर छ । अहिले पनि नयाँ तेजिला भनेर सत्तामा र त्यसको इर्दगिर्दमा आएकाहरू त्यस्तै ‘क्रमभंगता’ को अर्को संस्करण देखिन्छन् ।

प्रधानमन्त्री संसदीय विधिको महत्वपूर्ण आसनबाट उठेर हिँड्नु, नव वर्षमा देशवासीलाई शुभेच्छा सन्देश नदिनु, जातजातिका रीतिस्थिति र पर्वमा श्रद्धा शुभेच्छा भाव व्यक्त नगर्नु तथा गणतन्त्र दिवसमा बोलिनँ भन्नुलाई कसरी ‘उचित क्रमभंग’ भन्ने ? हाम्रो देशको मूल कार्यकारी पात्र जनताका नजरमा देखिनु, जनताका कानमा गुञ्जिनु के अस्वस्थ परम्परा हो र ? यो त अपेक्षित र औचित्यको विषय हो । हो, आदिमा कतैबाट खोजेर ल्याएर बिरालो बाँध्ने कुरा ठिक होइन, त्यस्तो स्वाभाविक क्रमभंगता उसै आउँछ तर स्वस्थकर, सही, सार्थक विधि–मान्यतालाई सदाशयताका साथ निरन्तरता दिनुपर्दछ । त्यस्तोमा प्रधानमन्त्रीको शिथिलताको बचाउ गर्दै, ताली ठोक्नु र घण्टी बजाउनुको कुनै अर्थ रहन्न ।

न तदर्थता न क्रमभंगता

हामी हाम्रो लामो राज्य विधि र राज्य सञ्चालित व्यवस्थामा, निरन्तर अर्थात् अनेक क्रम उपक्रमभित्र सदा नै ‘तदर्थता’ तथा ‘क्रमभंगता’ को अवस्थामा रह्यौँ । यो एक शताब्दीमा विश्वका अरू मुलुकहरूले छिटो–छिटो गति लिए, प्रगति गरे, फड्को मारे, तर हामी केही भौतिकी, केही पोसाकी र केही फुर्तीफार्तीबाहेक जहाँको तहीँ, अझ खस्कँदै गयौँ । यसो हुनुमा मूलतः हाम्रो स्वत्व हामी आफैँबाट गुम्नु, गुमाउनु र गुमाउनु मूल कारण हो । सधैँ प्रयोग, सधँै उपयोग, सधँै अभ्यास, सधैँको उपभोक्ता कार्यकारणबाटै हामी अनेक–अनेक राहका बाबजुद ‘लम्पसारवाद’ को अवस्थामा छौँ ।

त्यसैले अब त्यसको जडी तŒव तदर्थता र ‘क्रमभंगता’ को सदाबहार मार्गबाट निवृत्त भएर नेपालवादी मार्ग तर्फ प्रवृत्त हुन सक्नुपर्छ । कहिले दक्षिण, कहिले उत्तर, कहीँ बेलायती, कहीँ अमेरिकी भएर भुल्लिने भन्दा पनि नेपाली भएर टल्किने बाटोतिर लम्किनु पर्छ । न तदर्थ …

हाम्रो हितमा छ न ‘क्रमभंग’ ले नै हाम्रो कल्याण गर्छ । हामी जहाँ छौँ त्यहीँ रहौँ, जे छौँ त्यही भइरहौँ – हामी हाम्रैभित्र रमाऔँ । यसको मतलब आजको भूमण्डलीकरणको युगमा कुवा भित्रको भ्यागुतो हुने भन्ने होइन, आफ्नोपन, पहिचान, ज्ञान दिन हामी सर्वत्र प्रस्तुत होऔँ – अरूका प्रविधि, सीप, क्षमता सिकौँ – त्यसलाई आफ्नो माटोमा र आफ्नै अनुकूलको फूल फुलाएर सुगन्धित बनौँ – श्रम सिर्जनाले हाम्रो देश, हाम्रो समाजलाई उन्नत तुल्याऔँ, तब नै परिवर्तन, नवप्रवर्तन र रूपान्तरणको अर्थ रहन्छ ।

तसर्थ अबको प्रयत्न

यताका ७५ दिनदेखि झण्डै दुईतिहाइ जनमत प्राप्त, संसद्मा तेज रूप रहेको राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको राजकाजी अभिभारामा वालेन्द्र शाह जस्ता जाग्रत युवालाई यतिखेर मुलुकले मूल कार्यकारी शक्तिको रूपमा पाएको छ । विश्व बुझेको र नवप्रविधिसँग नाता गाँसिएको जस्तो गरी अहिलेको हाम्रो राज्य व्यवस्थामा कताकता जोश जागरण भित्रिएको अधिकतम धारणा पनि छ ।

तर बाह्य बोध र विज्ञानविद् भएर मात्र नेपाली प्रकृति, नेपालको जनमनको स्थिति तथा आमप्रगति वा सन्तुष्टि उसै वर्षिइहाल्ने होइन । देशलाई सम्झने, देश र देशवासीको दुःख–दर्द देख्ने प्रयत्नले मात्र, यो सरकारको सामथ्र्य खुल्ने हो । तदर्थता र क्रमभंगताको निरन्तरताबाट गुज्रँदै आएको यो अवस्थाबाट पार पाउन अब साँचो, सत्य, सार्थक प्रयास हुनै पर्छ । यसका निम्ति हाम्रो राजनीति, हाम्रो विधि–विधान, हाम्रो शासकीय व्यवस्था, हाम्रा प्रजातान्त्रिक अवयव, हाम्रो संरचना आदि इत्यादिमा यथोचित सुधार गरिनु पर्छ ।

सत्ताको सिँढी चढ्दा–चढ्दै वर्तमान सरकारले नेपालको संविधानमा समय सुहाउँदो संशोधन गरेर राज्य व्यवस्थामा सुधार गर्ने जमर्को गरेको छ । साढे १० वर्ष पार गरेको नवनिर्मित हाम्रो संविधान, अनुभव, अनुभूति, परिस्थिति र गतिविधिका कारण, अब करेक्सनको चरणमा छ । अब हामीले हाम्रो संविधानलाई लोकतान्त्रिक, गणतन्त्रात्मक भनेर बुट्टा गाँसेर, सिउर हालेर, जरी भरेर मात्र अब पुग्दैन ।

सुनिएको छ, असीम शाहको संयोजनमा रहेको, संविधान संशोधन कार्यदलले केही कार्यक्रम मन्द तवरले चलाएको छ । बुझिन्छ, केही २०–२५ हजार राय सुझाव पनि आएको छ । तर कुनै दल वा केही दलको कार्यदलका भरमा मात्र संविधान संशोधनको गहनतम कार्यविधिले पूर्णांक प्राप्त गर्दैन । यसका लागि व्यापक, बृहत्, सांगोपांग प्रयत्न हुनुपर्छ ।

किन हाम्रो अवस्था, सदा तदर्थमा रह्यो, के कस्ता संवैधानिक त्रुटिका कारण हामी सधैँ क्रमभंगित मात्र हुँदै गयौँ ? त्यसको सूक्ष्म विश्लेषण गरिनु पर्छ । हाम्रो भूगोल, हाम्रो धर्म, संस्कृति, प्रकृति र प्रचलित आस्था, आशा, अपेक्षा, प्रथा, जनमनोभाव जस्ता यावत् विषयलाई बुझेर गहिरो गरी संविधानका कैयौँ प्रावधानमा सुधार गरिनु पर्छ ।

दल, नेता र सीमित कार्यकर्ताको टाउको मात्र छामेर होइन, हिमाल, पहाड, तराई सबैतिरका घरघरबाट, कुरा के मिल्न बाँकी छ, कुरा के मिलाउनुपर्ने हो, सबै बुझेर अनि सर्वपक्षीय गोलमेज सम्मेलन, बुज्रुग विज्ञहरूको स्वतन्त्र, सहि, स्वच्छ, उच्चस्तरीय आयोग बनाएर मात्र संविधान संशोधनको निक्र्योल निकालिनु पर्छ । अन्यथा, ७६ पछिको ८० वर्ष उता पनि हामी फेरि त्यही तदर्थता र यस्तै क्रमभंगताको निरन्तरताभित्र रुमलिइरहने छौँ ।

प्रतिक्रिया