कांग्रेस यतिबेला ३ भागमा विभाजित देखिन्छ । पार्टी सभापति गगनकुमार थापा, पूर्वसभापति शेरबहादुर देउवा र नयाँ सभापति बन्न इच्छुक डा. शेखर कोइराला पनि पार्टीको नेतृत्व आफ्नो हातमा ल्याउन चाहन्छन् । नेपाली कांग्रेस विगतको अनुभवबाट केही सिक्न चाहिरहेको देखिँदैन

नेपाली कांग्रेस देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो । नेपालमा प्रजातन्त्रको स्थापना, पुनः स्थापना तथा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा यसको भूमिका अग्रणी र महत्वपूर्ण रही आएको छ । नेपाली जनताले यस पार्टीमाथि विश्वास गरी तीनपटक बहुमत पनि प्रदान गरेको हो, तर पार्टीभित्रको अन्तरकलहका कारण यस पार्टीले जनादेशको सम्मान गर्न नसकी आन्तरिक विवादकै कारण सत्ताबाट बाहिरिएको हो । जनआन्दोलन–२ को सफलतापश्चात् यो पार्टी वामपन्थी दलहरूसँगको सहकार्य र सहयात्राका कारण अर्ध वामपन्थको चरित्र बोक्न बाध्य भयो ।
जसरी नेपालका कम्युनिस्टहरू अर्धवामपन्थ र अर्धलोकतन्त्रको चरित्रलाई बोकी हिँड्न बाध्य भएका छन्, त्यसरी नै नेपाली कांग्रेस पनि अर्धवामपन्थको चरित्र बोक्न बाध्य छ । अब चाहेर पनि नेपाली कांग्रेस आफ्नो मौलिक चरित्रलाई आत्मसात् गर्न सक्दैन । आमनिर्वाचन–२०८२ मा पार्टीले ऐतिहासिक पराजय भोग्नुप¥यो । पार्टीका अधिकांश दिग्गज नेता चुनावमा पराजित भए । पार्टीको मत प्रतिशतमा पनि ह्रास आयो । ऐतिहासिक पराजयका बाबजुद पार्टीभित्र गुटबन्दी व्याप्त छ ।
कांग्रेस पार्टी यतिबेला ३ भागमा विभाजित देखिन्छ । पार्टी सभापति गगनकुमार थापा, पूर्वसभापति शेरबहादुर देउवा र नयाँ सभापति बन्न इच्छुक डा.शेखर कोइराला पनि पार्टीको नेतृत्व आफ्नो हातमा आएको हेर्न चाहन्छन् । नेपाली कांग्रेस विगतको अनुभवबाट केही सिक्न चाहिरहेको छैन । २०८२ फागुन २१ को निर्वाचन परिणामपश्चात् पार्टी एकजुट भएर चुनाव परिणामको समीक्षा गर्नुपर्नेमा पार्टीभित्र विभिन्न गुट समूहको छुट्टाछुट्टै कोठे बैठक भएको देखियो ।
नेपाली कांग्रेसले आफूलाई सत्ताको स्वाभाविक हकदार ठानेर नै अहिलेसम्म राजनीति गरेको छ र अहिले पनि उसमा यही प्रवृत्ति कायम छ । लोकतन्त्रमा जनता सर्वोपरी हुन्छन् तथा जनताको मतादेशलाई राजनीतिक दलहरूले सहर्ष स्वीकार गर्न सक्नुपर्छ । चुनावमा बहुमत प्राप्त नगरेर अर्थात् जनताले सरकार बनाउने किसिमको जनादेश नदिए पनि कथित राष्ट्रिय सहमतिको नाममा येनकेन प्रकारेण सरकारमा सहभागी भइहाल्ने नेपाली कांग्रेसको विगत २ दशकको इतिहासले पनि पार्टीलाई सत्तामुखी दलको रूपमा परिभाषित गर्यो ।
नेपाली कांग्रेस जस्तो पार्टी, प्रतिपक्षमा बसेर काम गर्नुको अर्थ लोकतन्त्रलाई बलियो बनाउनु हो, संसदीय व्यवस्था र गणतन्त्रलाई बलियो बनाउनु हो । नेपाली कांग्रेस स्वाभाविक रूपमा ५ वर्षपछि पुनः सत्तामा आउने नै हो, तसर्थ यसले ५ वर्षसम्म विपक्षमा रहेर पनि आफ्नो जनाधार विकसित गर्न सक्दछ । नेपाली कांग्रेसलाई एउटा परिपक्व, जिम्मेवार र संवेदनशील पार्टीको रूपमा नेपाली जनताले विश्वास गर्दै आएका छन् । नेपाली कांग्रेसले यस विश्वासलाई सधैँ नै कायम राख्नुपर्छ ।
जब कुनै संगठन कमजोर वैचारिक धरातलमा उभिएको हुन्छ, अनि त्यसलाई सफलता पाउन गाह्रो हुन्छ । आफ्नो गौरवशाली इतिहास, पार्टीका वरिष्ठ एवं सम्मानित नेताहरूको योगदान तथा कार्यकर्ता पंक्तिको सम्मान गर्न नसक्ने संगठन बिस्तारै–बिस्तारै कमजोर हुन थाल्छ । समस्या परेको बेलामा आफ्नो नेताको बचाउ पनि गर्न सक्नुपर्छ । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको बहस त्यतिवेला सर्वाधिक तीव्र भयो, जतिबेला पार्टी सभापतिलाई पार्टी संगठन र कार्यकर्ताहरूको सर्वाधिक सहयोगको आवश्यकता थियो ।
तात्कालिक पार्टी सभापतिले त कार्यवाहक सभापति पनि नियुक्त गरिसकेका थिए, तर पार्टीको युवा पंक्तिलाई युवा नेतृत्वको आवश्यकता थियो । आखिर हतार–हतारमा पार्टीले विशेष महाधिवेशन पनि ग¥यो, नयाँ नेतृत्व पनि ल्यायो । पार्टीको केन्द्रीय समितिमा पनि बढी नयाँ–नयाँ अनुहारहरू देखिए, तर चुनाव परिणाम भने अपेक्षित आएन । यसले के पनि सावित ग¥यो भने नेपाली कांग्रेसले आफ्नो मौलिक पहिचानलाई पूर्ण रूपमा गुमाइसकेको छ ।
नेपाली कांग्रेसले २०८२ फागुन २१ को आमनिर्वाचनमा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फको २० गरी कुल ३८ सिट जित्न सफल रह्यो । यो प्रदर्शन साढे ३ वर्षअघि भएको निर्वाचन परिणाम ८८ भन्दा निकै कम थियो । पार्टीले साढे ३ वर्षकै अवधिमा ५० सिट गुमाउनुप¥यो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सारथी भएर सरकारमा खेलेको भूमिकाको कारण नेपाली कांग्रेस पनि एमाले जति नै जनतामाझ अलोकप्रिय भएको देखियो ।
जेनजी आन्दोलनमा एमालेभन्दा बढी नै बदनामी नेपाली कांग्रेसको भएको थियो । पार्टीको विगत साढे ३ दशकका निर्वाचन परिणामको समीक्षा गर्ने हो भने यसको प्रदर्शन मिश्रित देखिएको छ । एक चुनावमा राम्रो प्रदर्शन तर अर्को चुनावमा खराब प्रदर्शन गरेको यसको परम्परा नै रहेको छ । २०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले ३७.७५ प्रतिशत मतसहित ११० सिट जितेको थियो । स्वतन्त्र रूपमा निर्वाचित २–३ सांसद पनि नेपाली कांग्रेसमै प्रवेश गरेका थिए ।
तर पार्टीको आन्तरिक कलहका कारण नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला नेतृत्वको त्यो बहुमतको सरकार पनि सवा ३ वर्षमै पतनको सिकार भयो । मध्यावधि निर्वाचन २०५१ सालमा नेकपा एमाले प्रतिनिधिसभामा सबैभन्दा ठुलो दलको नाताले सरकारको नेतृत्व त हात पा¥यो, तर सत्तामा पुगेपछि मनपरी गर्न थाल्यो । फलस्वरूप सारा विपक्षी दलहरू एकजुट भई एमाले नेतृत्वको सरकारमाथि अविश्वास प्रस्ताव लगाए । आखिर ९ महिनामै एमालेको सरकार पनि अपदस्थ हुन पुग्यो ।
२०५१ सालको मध्यावधि निर्वाचनमा नेपाली कांग्रेसले ३३.३८ प्रतिशत मत र ८३ सिटमै चित्त बुझाउनुप¥यो । पार्टीको प्राप्त मतमा ४ प्रतिशतको ह्रास आयो । २०५६ सालको आमनिर्वाचनमा पार्टी एकजुट भएर चुनाव लड्यो । पार्टीले ३७.२९ प्रतिशत मत र १११ सिट जित्न सफल रह्यो। यो २०५१ सालको चुनावको तुलनामा २८ सिट बढी थियो । ४ प्रतिशत मतको अन्तर हुँदा २८ सिटको उतारचढाव हुने रहेछ भनी बुझ्नुपर्छ ।
दुर्भाग्य, नेपाली कांग्रेसले ३ वर्षमा ३ नेतालाई प्रधानमन्त्री बनाए पनि राजनीतिक स्थायित्व प्रदान गर्न सकेन र २०५९ सालको असोजमा तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभालाई विघटन गरी मध्यावधि निर्वाचनको सिफारिस गरे । देउवाको यही निर्णयले तात्कालीन राजा श्री ५ ज्ञानेन्द्रलाई सक्रिय भूमिकामा आउन उत्प्रेरित ग¥यो । तात्कालीन राजाको यही महत्वाकांक्षाले नेपालबाट राजतन्त्रको बिदाइको बलियो जग बसाल्ने काम पनि ग¥यो भन्दा फरक पर्दैन ।
२०६४ सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसले २१.१४ प्रतिशत मतसहित प्रत्यक्षतर्फ ३७ र समानुपातिकमा ७३ सिट जित्न सफल रह्यो । पार्टीलाई मनोनीतको ५ सिट पनि प्राप्त भएको थियो । २०७० सालमा मधेसी दलहरूमा विभाजन र नेकपा माओवादीको घट्दो जनाधारले नेपाली कांग्रेसलाई पुनः देशको सबैभन्दा ठुलो दलका रूपमा स्थापित ग¥यो । नेपाली कांग्रेसले २९.८० प्रतिशत मतसहित प्रत्यक्षतर्फ १०५, समानुपातिकमा ९१ र मनोनीत १० गरी २०६ सिट प्राप्त गर्न सफल रह्यो ।
पार्टीको मत प्रतिशतमा ८ प्रतिशतको वृद्धि हुँदा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ ५४ सिटको लाभ हुन पुगेको थियो । २०७४ सालमा वामगठबन्धन र मधेसी गठबन्धनबीच चुनावमा त्रिपक्षीय भिडन्त हुँदा नेपाली कांग्रेसलाई हानि हुनु स्वाभाविकै देखिन्थ्यो । नेपाली कांग्रेसको मत प्रतिशतमा १२ प्रतिशतको ह्रास आयो, प्रत्यक्षतर्फ ३२ र समानुपातिकमा ५७ सिट मात्र जित्न सक्यो । २०७९ सालको निर्वाचनमा कांग्रेस ५ दलसित मिलेर चुनावमा गयो भन्दा खासै फरक पर्दैन ।
सबैभन्दा बढी सिट त पार्टीले जित्यो तर नेकपा माओवादी र एमालेको धुत्र्याइँका कारण पार्टी कि त प्रतिपक्षमा बस्नुप¥यो कि त सत्ताको सहयोगीका रूपमा रहनुप¥यो । तर आरोप भने सबैभन्दा बढी यसैले झेल्नुप¥यो । २०८२ फागुनमा भएको निर्वाचनमा पार्टीको मत प्रतिशतमा ९ प्रतिशतको ह्रास आयो । चुनावमा नेपाली कांग्रेसले ठुलो पराजय भोग्नुप¥यो तर संसद्मा मुख्य प्रतिपक्षमा भने अवश्य पनि छ । पार्टीले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्नुपर्छ ।
संसद्मा रहेका एमाले, श्रम संस्कृति पार्टी, राप्रपा र नेकपासित मिलेर एउटा संयुक्त मोर्चा बनाई प्रतिनिधिसभामा सशक्त विपक्षको भूमिका निर्वाह गर्नु आवश्यक छ । दुई–तिहाइ बहुमतको सरकार रास्वपाले अवश्य पनि बनाएको छ, तर यो पूर्ण रूपमा अनुभवहीनहरूको भिड मात्र हो । उत्साहमा आएर बालेन सरकारले एकपछि अर्को गल्ती गर्दै जाने निश्चित छ । डेढ महिनामै यस सरकारको अदूरदर्शी निर्णयका कारण देशका आम नेपाली जनता सडकमा आउन बाध्य भएका छन् ।
एउटा ठुलो गल्तीलाई सच्याउन यसले फेरि अर्को नयाँ गल्ती दोहो¥याउनेछ, तसर्थ संसद्मा नेपाली कांग्रेसको भूमिका बढी महत्वपूर्ण र जिम्मेवार हुने स्पष्ट देखिन्छ । तर यस चुनौतीपूर्ण कार्यका निम्ति सर्वप्रथम यो ऐतिहासिक पार्टी आफैँ पूर्ण रूपमा एकजुट हुनु अत्यन्त आवश्यक छ । पार्टीभित्र लामो समयदेखि कायम रहँदै आएको आन्तरिक मतभेद, गुटबन्दी र चरम विवादलाई पूर्ण रूपमा सधैँका लागि हटाउनु नै आजको प्रमुख आवश्यकता हो भन्ने कुरा सबैले मनन गर्नुपर्छ ।
कोठे बैठक र गुटगत भेलाहरूलाई पूर्ण रूपमा निषेध गर्दै केन्द्रीय समितिदेखि स्थानीय तहसम्म सुदृढ र नीतिगत एकता कायम गरिएमा मात्र कांग्रेस पार्टीले पुनः पुरानो साख र गुमेको जनविश्वास फिर्ता पाउन सक्ने स्पष्ट देखिन्छ । कग्रेसले आफ्नो परम्परागत सत्तामुखी चरित्र र जसरी पनि सरकारमा जाने प्रवृत्तिलाई पूर्ण रूपमा त्याग्नुपर्छ । हाल प्राप्त चुनावी जनादेश अनुरूप पार्टीले आगामी ५ वर्षसम्म संसद् र सडक दुवै ठाउँमा सशक्त, जिम्मेवार र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ । सरकारका जनविरोधी निर्णयहरूको सशक्त विरोध गर्दै र संसद्मा रहेका अन्य विपक्षी दलहरूसँग बलियो मोर्चा बनाई जनसरोकारका मुद्दाहरूलाई निरन्तर उठाउनु नै आजको प्रमुख दायित्व हो ।
वामपन्थी दलहरूको संगत र बैसाखीका कारण धमिलिएको आफ्नो मौलिक लोकतान्त्रिक पहिचान, समाजवाद र बिपी कोइरालाको सिद्धान्तलाई नयाँ पुस्तामाझ लैजानुपर्छ । ‘जेनजी’ र युवा मतदाताहरूको भावनालाई बुझ्न पार्टीमा युवा नेतृत्वलाई अवसर दिँदै उनीहरूको ऊर्जा र पुराना नेताहरूको अनुभवबीच सही सन्तुलन कायम गरिनुपर्छ । नीतिगत स्पष्टता र वैचारिक सुदृढीकरणले नै कांग्रेसलाई फेरि लोकप्रिय बनाउनेछ ।
प्रतिक्रिया