खोरेत नियन्त्रणको अवस्था, सम्भावना र चुनौती

विश्व व्यापार संगठन र विश्व पशु स्वास्थ्य संगठनको प्रावधानअनुसार खोरेत ग्रसित देशले पशुजन्य उत्पादन सहजै निर्यात गर्न पाउँदैनन् । यसैकारण नेपालले युरोप, अमेरिका र अस्ट्रेलियामा दुग्ध तथा मासुजन्य पदार्थ सिधै निर्यात गर्न सकेको छैन

डा. गंगाराम यादव

दुइटा खुर भएका पशुहरू (गाई, भैँसी, बंगुर, भँेडा, बाख्रा) मा लाग्ने खोरेत एक तीव्र संक्रामक विषाणुजन्य रोग हो । हावाको माध्यमबाट प्रतिघन्टा ६० किलोमिटरसम्म फैलिन सक्ने यो रोग पिकोर्नाभिरिडे परिवारको एफ्थोभाइरसबाट लाग्दछ । विश्वभर यसका सात प्रजाति (सिरोटाइप) पाइए पनि नेपालमा विगत केही वर्षदेखि ‘ओ’ सिरोटाइपको प्रकोप मात्र देखिएको छ । रोग लाग्दा पशुको मुखमा फोका उठ्ने, फुट्ने, र्याल चुहिने, अत्यधिक ज्वरो आउने, खुरको कापमा घाउ भई खोच्याउने, गर्भिणी पशु तुहिने र उत्पादकत्व घट्ने हुन्छ । विषाणुजन्य रोग भएकाले यसको निश्चित उपचार छैन, लक्षणका आधारमा उपचार र प्रत्येक ६–६ महिनामा नियमित खोप नै यसको मुख्य रोकथाम हो ।

नेपालमा यो रोग स्थिर (एन्डेमिक) अवस्थामा छ । एक अध्ययनका अनुसार खोरेतले वार्षिक औसत ६.४४ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति गराएको छ भने दूध उत्पादन ३२ प्रतिशतसम्म घटाएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा कर्णालीबाहेक ६ प्रदेशका २८ जिल्लामा यसको प्रकोप देखियो, जसमा कोसी प्रदेशका झापा, खोटाङ, मोरङ, ओखलढुंगा, सुनसरी र उदयपुर प्रभावित थिए ।

सम्भावना र अवरोध

विश्व व्यापार संगठन र विश्व पशु स्वास्थ्य संगठनको प्रावधानअनुसार खोरेत ग्रसित (रातो जोनमा रहेका) देशले पशुजन्य उत्पादन सहजै निर्यात गर्न पाउँदैनन् । यसैकारण नेपालले युरोप, अमेरिका र अस्ट्रेलियामा दुग्ध तथा मासुजन्य पदार्थ सिधै निर्यात गर्न सकेको छैन । नेपालमा प्रतिव्यक्ति मासु र दुधको उपलब्धता क्रमिक रूपमा बढ्दो छ । कोसी प्रदेश वार्षिक ५ लाख १४ हजार ७५२ मेट्रिक टन उत्पादनसहित दुधमा आत्मनिर्भर भइसकेको छ । यहाँबाट वार्षिक करिब ४ अर्ब रुपैयाँ बराबरको डग चिउ (छुर्पी) निर्यात हुन्छ, जसमा कोसीको हिस्सा ८० प्रतिशत छ ।

तर, खोरेतमुक्त प्रमाणपत्र नहुँदा यो व्यापार अनौपचारिक माध्यमबाट भइरहेको छ । अमेरिकी बजारमा १ केजी डग चिउको मूल्य १३ देखि १४ हजार रुपैयाँ पर्दा नेपाली कृषकले बढीमा १ हजार ६०० रुपैयाँ मात्र पाइरहेका छन् । यदि नेपाललाई खोरेतमुक्त बनाएर सिधै निर्यात गर्नसके कृषकले प्रतिकेजी ६–७ हजार रुपैयाँसम्म मूल्य पाउनेछन्, जसले अर्थतन्त्रमा ठुलो टेवा पुर्याउनेछ । नेपाललाई तत्कालै पूर्ण रूपमा खोरेतमुक्त बनाउन नसके पनि विश्व पशु स्वास्थ्य संगठनको ‘जोनिङ तथा कम्पार्टमेन्टलाइजेसन’ (क्षेत्रीकरण) सम्बन्धी प्रावधान पालना गरेर डग चिउ जस्ता पशुजन्य उत्पादन निर्यात गर्न सकिन्छ । संगठनको ‘टेरेस्ट्रियल एनिमल हेल्थ कोड (२०२४)’ अनुसार रोगको जोखिम कम र निर्यातको सम्भावना बढी भएको क्षेत्रलाई ‘जोन’ निर्धारण गरी रोग नियन्त्रण कार्यक्रम चलाउन सकिन्छ । केही वर्षसम्म रोग नदेखिएमा संगठनमा आवेदन दिई ‘रोगमुक्त क्षेत्र’ घोषणा गराउन मिल्ने प्रावधान छ ।

यसअनुरूप कोसी प्रदेशमा दुग्धजन्य पदार्थ बढी उत्पादन हुने इलामजस्ता जिल्लालाई खोरेतमुक्त जोन (हरियो जोन) बनाउन सकिने बलियो सम्भावना छ । पशु सेवा विभागको तथ्यांक अनुसार इलाममा विगत ५ वर्षदेखि खोरेत रोग नदेखिएकाले यो सम्भावना अझ मजबुत बनेको हो । तर कोसी प्रदेशमा इलाम लगायतका जिल्लालाई खोरेतमुक्त जोन बनाउन सबभिन्न चुनौतीहरू जीवित छन् । जोनिङको अवधारणा नयाँ भएकाले कृषक, व्यवसायी र जनप्रतिनिधिलाई बुझाउन कठिन छ । तीनै तहका सरकारबीच समन्वय र सहकार्य फितलो छ । रोग नियन्त्रणका लागि ठुलो बजेट आवश्यक पर्ने भए पनि प्रदेश सरकारबाट अत्यन्त न्यून बजेट विनियोजन भएको छ । खोरेत विरुद्धको खोप नेपालमा उत्पादन नहुने हुँदा आपूर्तिमा सधैँ भारतमा निर्भर रहनु परेको छ । खोप कार्यक्रम, पशुको पहिचान (ट्यागिङ) र ओसारपसार नियन्त्रण गर्ने कार्य जटिल छ ।

डेरी व्यवसायीहरूको निरन्तरको आग्रहलाई सम्बोधन गर्दै कोसी प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷०८२ को नीति, कार्यक्रम तथा बजेटमार्फत इलाममा खोरेत जोनिङ कार्यक्रम आरम्भ गरेको छ । दुग्ध तथा मासुजन्य पदार्थको उत्पादन बढाई निर्यात प्रवद्र्धन गर्न उद्योग, कृषि तथा सहकारी मन्त्रालयमार्फत ‘खोरेत रोग नियन्त्रण आयोजना’ कार्यान्वयनमा ल्याइएको छ । यस आयोजनामा संघीय मन्त्रालय, पशु सेवा विभाग, प्रयोगशाला र क्वारेन्टाइन कार्यालयको प्राविधिक सहयोग छ भने प्रादेशिक निकाय र स्थानीय तहले कार्यान्वयनको मुख्य जिम्मेवारी सम्हालेका छन् । साथै, हाटबजार समिति, सहकारी, निजी चिकित्सक र कृषकहरूको भूमिका पनि महŒवपूर्ण छ । आयोजनाको मुख्य कार्य ६–६ महिनाको फरकमा वर्षको २ पटक खोप लगाउनु हो । जोन क्षेत्रमा सघन रूपमा पूर्ण खोप कार्यक्रम चलाइनेछ भने अन्य क्षेत्रमा जोखिमका आधारमा कम्तिमा ८० प्रतिशत पशुलाई समेटिनेछ ।

इलामको जोन विभाजन र कार्यविधि

आयोजनाको पहिलो चरणमा इलाम जिल्लाका १० वटै पालिकालाई समेटेर ३ वटा ‘जोन क्षेत्र’ मा विभाजन गरिएको छ । ‘जोन १’ मा सूर्योदय, माईजोगमाई, इलाम र सन्दकपुर; ‘जोन २’ माफाकफोकथुम, माङसेबुङ र देउमाई, तथा ‘जोन ३’ मा रोङ, माई र चुलाचुली रहेका छन् । आयोजनालाई व्यवस्थित गर्न ‘खोरेत रोग नियन्त्रण आयोजना सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गरी निर्देशनालय मातहत कार्यान्वयन एकाइ स्थापना गरिएको छ ।


३ वर्ष अवधिको यस आयोजनाका लागि प्रादेशिक निर्देशक समिति (कृषिमन्त्रीको अध्यक्षतामा) देखि प्रादेशिक प्राविधिक, जिल्लास्तर प्राविधिक, जिल्लास्तर प्रमुख सहजीकरण, स्थानीय आयोजना कार्यान्वयन समिति र वडास्तरमा निगरानी समूह गठन गरिएका छन् । यसअन्तर्गत पशु पहिचान, अभिलेखीकरण (ट्रेसिबिलिटी), खोप भण्डारण, रोग अन्वेषण, जैविक सुरक्षा र पशु आवतजावत नियन्त्रण जस्ता मुख्य क्रियाकलाप ‘जोनिङ तथा कम्पार्टमेन्टलाइजेसन निर्देशिका, २०७८’ बमोजिम सञ्चालन भइरहेका छन् ।

अपेक्षित प्रतिफल र निष्कर्ष

आयोजनाको सफल कार्यान्वयनबाट आगामी ३ देखि ५ वर्षभित्र इलाममा ३ वटा खोरेतमुक्त जोन तयार हुने अपेक्षा छ । ३ वर्षपछि संघीय सरकारमार्फत विश्व पशु स्वास्थ्य संगठनको मापदण्डअनुसार आवश्यक प्रमाण पेस गरी इलामलाई खोपसहितको ‘खोरेतमुक्त जोन’ को सूचीमा समावेश गरिनेछ ।

यो घोषणा भएपछि नेपाली छुर्पी (डग चिउ) ले अन्तर्राष्ट्रिय बजारमा अहिलेको भन्दा कम्तीमा ३ गुणा बढी मूल्य पाउनेछ । यसबाट चिज, घिउ र मासु निर्यातको बाटो खुल्नेछ भने कोसी प्रदेशमा समय–समयमा हुने ‘मिल्क होलिडे’ को समस्यासमेत समाधान हुनेछ । सन् २०३० सम्ममा खोरेत रोग नियन्त्रण गर्ने नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न र कृषकको आयआर्जन बढाएर प्रादेशिक अर्थतन्त्र सुदृढ गर्न यो आयोजना कोसेढुंगा सावित हुने देखिन्छ ।


(डा.यादव पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत हुन् ।)

प्रतिक्रिया