बालेन सरकारको १०० दिन र जननिराशा

नेपाली राजनीतिको परम्परागत धारलाई चुनौती दिँदै ठुलो जनअपेक्षासहित गठन भएको वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको १०० दिन पुग्न लाग्दा पनि सम्झनायोग्य एउटै काम हुन नसक्नु दुःखद् छ । यस अवधिमा सरकारले राजनीतिक व्यक्ति, कर्मचारी वा व्यापारी कसैको पनि भ्रष्टाचारको फाइल खोल्न सकेको छैन । काठमाडौँको मेयर हुँदा सार्वजनिक जग्गा संरक्षण र कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेर चर्चा कमाएका बालेन प्रधानमन्त्री बनेपछि भने राष्ट्रियता र सुशासनका मुद्दामा पूर्णतः मौन देखिएका छन् ।

प्रधानमन्त्री शाहले छिमेकी देशहरूद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन पहल गर्नुको साटो उल्टै नेपालले नै भारतीय भूमि कब्जा गरेको जस्तो गैरजिम्मेवार अभिव्यक्ति दिनु विडम्बनापूर्ण छ । लिपुलेक, कालापानी र लिम्पियाधुरालाई दृढताका साथ आफ्नो भन्न नसक्नु र विगतका असमान सन्धि खारेजीतर्फ चासो नदेखाउनुले उनको राष्ट्रवाद चुनावी नारामा मात्र सीमित भएको पुष्टि गर्छ । देशभित्रै पनि माफियाहरूले कब्जा गरेका लाखौँ रोपनी सरकारी, गुठी र ऐलानी जग्गा पुनः राज्यको स्वामित्वमा ल्याउन सरकार असफल भएको छ ।

आर्थिक रूपमा देश ३२ खर्बको वैदेशिक ऋणको दलदलमा फसिरहेका बेला बालेन सरकारले पुरानै गलत बाटो पछ्याएको छ । सरकार गठन भएको छोटो अवधिमै थप ३ खर्ब ऋण लिइनु तर बन्द भएका सरकारी उद्योग तथा कलकारखाना सञ्चालनमा ल्याउन कुनै सिन्को नभाँच्नुले देशको अर्थतन्त्रलाई थप धराशयी बनाएको छ । जनताले सोचेका थिए कि यो सरकारले परनिर्भरता घटाउनेछ, तर व्यवहारमा ठिक उल्टो भइरहेको छ ।

त्यस्तै, मिटरब्याज, वित्तीय संस्था र सहकारी पीडितहरूले अहिलेसम्म आफ्नो बचत फिर्ता पाउन र न्याय पाउन सकेका छैनन् । गत भदौको ‘जेनजी’ आन्दोलनका क्रममा अर्बौंका सार्वजनिक र निजी सम्पत्ति जलाउने तथा नष्ट गर्ने अपराधीहरूलाई सरकारले कानुनी कारबाही गर्न सकेको छैन । क्षति पु¥याउनेहरूलाई कारबाही नहुँदा एकातिर व्यवसायीहरू पूर्णरूपमा निराश भएका छन् भने अर्कोतिर भविष्यमा यस्ता अराजक र आपराधिक घटना फेरि दोहोरिने खतरा बढेको छ ।

अन्ततः, हिजो चुनावअघि कामको मत माग्ने बालेन कुर्सीमा पुगेपछि केवल प्रचारमुखी र ‘नौटंकीबाज’ सावित भएका छन् । देश र जनताको हितमा साहसिक निर्णय लिनुको साटो पुरानै राजनीतिक दलहरूकै शैलीमा सरकार चलाउनु नागरिकप्रतिको धोका हो । तसर्थ, प्रधानमन्त्री बालेनले कि त जनभावना अनुरूप तत्कालै परिणाममुखी काम गरेर देखाउनुपर्छ, होइन भने आफू असफल भएको स्वीकार गर्दै मार्ग प्रशस्त गर्नुपर्छ ।

धनप्रसाद शर्मा चालिसे

पर्वत,

प्रतिक्रिया