
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेको छन् । समसामयिक राजनीतिका बिषयमा छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाइएको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । रास्वपा नेतृत्वको सरकार गठनपछि पहिलो पटक सर्वदलीय बैठक बस्न लागेको हो । बैठक आज (सोमबार) बिहान ९ बजे सार्वजनिक लेखा समितिको हलमा बस्नेछ ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबाट पार्टी अध्यक्ष÷सभापतिसहित २ जना सहभागी हुन भनिएको छ । सर्वदलीय बैठका लागि प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई पत्राचार भइसकेको बुर्लाकोटीले बताए ।
राष्ट्रियसभा र प्रतिनिधिसभामा ९ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व छ । प्रतिनिधिसभामा रास्वपासहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपा गरी ५ वटा दल रहेका छन् भने राष्ट्रियसभामा कांग्रेस, एमाले र नेकपासँगै जसपा नेपाल, लोसपा नेपाल र राष्ट्रिय जनमोर्चा गरी ६ दलको उपस्थिति छ ।
सर्वदलीय बैठक आह्वानअघि रास्वपा सभापति लामिछाने प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न बालुवाटार पुगेका थिए । स्रोतका अनुसार लामिछाने र प्रधानमन्त्री शाहबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो भने भेटमा लामिछाने भारत भ्रमणका विषयमा जानकारी गराएका थिए ।
प्रतिक्रिया