२८ जिल्लामा पहिलोपटक निर्वाचित नेतृत्व

काठमाडौँ । शनिबारदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन आइतबारसम्म जारी रह्यो । आइतबार २८ जिल्लामा पहिलो जिल्ला अधिवेशन सम्पन्न भएको छ । कोसी प्रदेशका ४, मधेसका ४, बागतमीका २, गण्डकीका ४, लुम्बिनीका ३, कर्णालीका ६ र सुदूरपश्चिमका ५ जिल्लामा आइतबार अधिवेशन भएको हो । रास्वपाका अनुसार उदयपुर, सोलुखुम्बू, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्तापूर्व) र गोरखामा अधिवेशन भएको छ । लमजुङ, अर्घाखाँची, रूपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), मुगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरामा पनि अधिवेशन भएको जनाइएको छ ।

कहाँ को निर्वाचित भए ?

शनिबार भएको निर्वाचनमा आइतबार साँझसम्म आएको मत परिणाममा झापामा ओम भण्डारी सभापति निर्वाचित भएका छन् । त्यस्तै, मोरङमा भरत कँडेल, तेह्रथुममा सुमन खत्री, ताप्लेजुङमा राजनकुमार गुरुङ, भोजपुरमा ख्यामबहादुर भुजेल, संखुवासभामा भक्तनारायण श्रेष्ठ, ओखलढुंगामा कृष्णबहादुर थापा र सुनसरीमा सागर दाहाल सभापति निर्वाचित भएका छन् ।

त्यसैगरी, दोलखा सभापतिमा दिनेश बस्नेत, काठमाडौँमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल, मकवानपुरमा सन्जीव पाठक र काभ्रेपलाञ्चोकमा प्रविन ढकाल र सिन्धुलीमा अविनाश बस्नेत सभापति बनेका छन् । स्याङ्जामा रुक्मांगत भण्डारी (विश्वास), कास्कीमा यदुनाथ अधिकारी, पर्वतमा जलबहादुर पुर्जा, म्याग्दीमा युवराज रोक्का, गुल्मीमा हरि श्रेष्ठ, पाल्पामा विष्णुप्रसाद भण्डारी, दाङमा किरण खनाल, रोल्पामा विष्णुप्रसाद भण्डारी, हुम्लामा लक्ष्मण ऐडी र बैतडीमा भीम नाथ सभापतिमा निर्वाचित भएका छन् ।

केही जिल्लामा स्थगित

शनिबार नै सुरु भएको रास्वपा सिन्धुपाल्चोक जिल्लाको अधिवेशन स्थगित भएको छ । शनिबार सुरु भएको अधिवेशन नेतृत्व चयन प्रक्रियामा सहमती जुट्न नसक्दा स्थगित भएको जनाइएको छ । अधिवेशनको नयाँ मिति तय गरिएको छैन । नेतृत्वका आकांक्षीबीच सहमतिमा नेतृत्व चयन गर्ने कि निर्वाचन प्रक्रियामा गएर नेतृत्व चयन गर्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा महाधिवेशन अगाडि बढ्न नसकेको बताइएको छ ।
त्यसैगरी, रास्वपा महोत्तरी जिल्ला अधिवेशन पनि स्थगित भएको छ । शनिबार नै उद्घाटन सत्र सुरु गरिएको थियो तर आपसी सहमति जुट्न नसक्दा आइतबारलाई बन्दसत्र सारिएको थियो । तर आइतबार पनि बन्दसत्र सुरु भइ नेतृत्व चयन हुन नसकेको हो । तदर्थ समितिका सभापति शुभम साहलाई पार्टीले कारबाही गरेको विषयमा विवाद भए पनि अधिवेशन हुन नसकेको जनाइएको छ ।

त्यस्तै, सर्लाहीको जिल्ला अधिवेशन पनि स्थगित गरिएको छ । जिल्ला निर्वाचन संयोजक डा. जयप्रकाश महतोले मतदाता नामावली, पालिका अधिवेशनसम्बन्धी कागजात र निर्वाचित प्रतिनिधिहरूको विवरण अद्यावधिकको काम पूरा नभएको भन्दै तत्कालन निर्वाचन कार्यक्रम सुरु गर्न नसक्ने बताएका थिए ।

प्रदेश अधिवेशनको तयारी

रास्वपाले २६ जेठमा बागमती प्रदेशको अधिवेशन तय गरेको छ । त्यस्तै, २७ जेठमा कोसी, २८ जेठमा मधेस, २९ जेठमा गण्डकी, ३० जेठमा लुम्बिनी, ३१ जेठमा कर्णाली र १ असारमा सुदूरपश्चिमको अधिवेशन तय गरिएको हो । पार्टीको शीर्ष नेतृत्व, सम्बन्धित प्रदेश कमिटी र निर्वाचन आयोग लगायतका पार्टी संयन्त्र अब प्रदेश अधिवेशनको तयारीमा लागेका हुन् । बाँकी रहेका १० जिल्लाको राष्ट्रिय महाधिवेशनपछि नै जिल्ला अधिवेशन गर्ने निश्चित भइसकेको छ । रास्वपाले ‘प्रदेश अधिवेशन कार्यविधि, २०८३’ समेत तयार गरिसकेको अवस्था छ । कार्यविधिमा अधिवेशन प्रतिनिधिको छनौट र मापदण्ड निर्धारण गरेको छ ।

कार्यविधिका अनुसार प्रदेश समिति पदाधिकारी तथा सदस्यहरू सबै महाधिवेशन प्रतिनिधि हुनेछन् । प्रदेश सल्लाहकार परिषद्का पदाधिकारी तथा सदस्यहरू, प्रदेश अनुशासन आयोग, प्रदेश लेखा आयोगका पदाधिकारी तथा सदस्यहरू, प्रदेश विभागको प्रमुखसहित ९ जना, प्रदेश विभागको प्रमुखसहित ९ जना, प्रदेश सम्पर्क विभागको प्रमुखसहित ७ जना र जिल्ला समिति पदाधिकारी तथा सदस्यहरूलाई अधिवेशन प्रतिनिधि बनाउने कार्यविधिमा उल्लेख छ । त्यस्तै, जिल्ला अनुशासन आयोग र जिल्ला संगठन विभागका पदाधिकारीहरू, जिल्ला सम्पर्क विभाग र जिल्ला ¥याटको प्रमुखसहित ३ जना, निर्वाचन क्षेत्र संयोजक र उपसंयोजक, पालिका सभापति वा सभापति सहभागी हुन नसक्ने अवस्थामा समितिले तोकेको समितिको १ जना, पार्टीको तर्फबाट निर्वाचित वा समायोजनबाट आएका प्रदेशसभाका सदस्य तथा पालिका प्रमुख उपप्रमुखहरू, प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरू र प्रदेशबाट केन्द्रीय विभागमा प्रतिनिधित्व गर्ने सदस्यहरू, पालिका अधिवेशनले छनौट गर्ने प्रतिनिधि र पार्टी समायोजन प्रतिनिधिहरू अधिवेशनको प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया