
काठमाडौँ । नेपालको कृषि क्षेत्रमा विदेशी लगानीकर्ताको रोजाइमा पर्न थालेको छ । चालु आर्थिक वर्ष २०८२–०८३ को ११ महिनामा १६ वटा कृषि उद्योगका लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको हो । संख्यात्मक हिसाबले उद्योग कम भए पनि लगानीको हिसाबले कुल लगानीको झन्डै ५० प्रतिशत हिस्सा कृषिमै देखिन्छ ।
उद्योग विभागका अनुसार ११ महिनामा कुल ४७ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त हुँदा कृषिमूलक १६ वटा उद्योगका लागि २२ अर्ब ८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । यो त्थ्यांकले कृषि व्यवसायीकरण, कृषि प्रशोधन तथा निर्यातमुखी कृषि उद्योगमा विदेशी लगानीकर्ताको चासो बढेको देखाउँछ ।
संख्यात्मक हिसाबमा आइटी र पर्यटनमा आकर्षण
विभागका अनुसार संख्यात्मक हिसाबले हेर्दा आइटी र पर्यटन क्षेत्रमा धेरै उद्येगका लागि लगानी प्रतिवद्धता आएको छ । विभागको तथ्यांकअनुसार ५७७ वटा सूचना प्रविधिसम्बन्धी उद्योगमा २ अर्ब ३६ करोड रुपैयाँ बराबरको एफडिआई प्रतिबद्धता आएको छ । त्यस्तै, पर्यटन क्षेत्रम २०२ उद्योगका लागि १२ अर्ब ९९ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । सेवा क्षेत्रका ६२ उद्योगमा ४ अर्ब ५९ करोड रुपैयाँ, उत्पादनमूलक क्षेत्रका ५२ उद्योगमा ३ अर्ब ५७ करोड रुपैयाँ तथा पूर्वाधार क्षेत्रको १ उद्योगमा १६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
चालु आवको ११ महिनामा नेपालले ४७ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको छ । साउनदेखि जेठ मसान्तसम्म स्वीकृति तथा स्वचालित दुवै प्रणालीमार्फत कुल ९१४ उद्योगका लागि उक्त परिमाणको विदेशी लगानी प्रतिबद्धता आएको हो । विभागका अनुसार यस अवधिमा प्रमाणीकरण (स्वीकृति) प्रणालीमार्फत २०३ उद्योगका लागि ३९ अर्ब ९० करोड ६७ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ भने स्वचालित मार्गबाट ७११ उद्योगका लागि ७ अर्ब ७१ करोड ६८ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
विभागका अनुसार ८९४ वटा साना उद्योग, ११ वटा मध्यम उद्योग र ९ वटा ठुला उद्योगका लागि विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ । यी उद्योगहरू सञ्चालनमा आएमा थप २५ हजार ४५० जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ ।
प्रतिक्रिया