कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, ७.२८ प्रतिशतले वृद्धि

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कर्णाली ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ । कर्णाली सरकारले आगामी आवका लागि ल्याएको बजेट चालु आवको तुलनामा ७.२८ प्रतिशतले बढी हो । चालु आवमा कर्णाली प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

कर्णाली प्रदेशसभाको सोमबारको बैठकमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहले आगामी वर्षका लागि चालुतर्फ ८ अर्ब ६० करोड ४५ लाख ५६ हजार (२४.३१ प्रतिशत), पुँजीगततर्फ २० अर्ब ७४ करोड ६७ हजार १२ हजार (५८.३१ प्रतिशत) र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५४ करोड ७२ लाख ८० हजार (१५.६७ प्रतिशत) रुपैयाँसहितको बजेट पेस गरेका हुन् ।

कर्णाली सरकारले आगामी वर्षका लागि आन्तरिक आयतर्फ ८५ करोड ५ लाख ९० हजार र चालु आवमा खर्च नभइ बचत हुने अनुमानित रकम ६ अर्ब ४१ करोड ५१ लाख ९ हजार रुपैयाँ बजेट परिचालन गर्नेछ । संघीय सरकारबाट राजस्व बाँडफाँडतर्फ १० अर्ब ६६ करोड ८५ लाख ४९ हजार, वित्तीय समानीकरणतर्फ १० अर्ब ६३ करोड २३ लाख र सशर्त अनुदानबाट ५ अर्ब ६७ करोड २५ लाख रुपैयाँ अनुदान कर्णाली सरकारलाई प्राप्त भएको मन्त्री शाहले बताए । आगामी वर्ष समपुरक अनुदान ६६ करोड ७८ लाख र विशेष अनुदान ४८ करोड ५६ लाख रुपैयाँ स्रोत परिचालन गरिने जनाइएको छ ।

मुलुक संघीयतामा गएपछिको पहिलो वर्ष अर्थात् आव २०७४/७५ मा जम्मा १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट ल्याएको कर्णाली सरकारले हरेक वर्ष बजेटको आकार बढाउँदै गएपछि खर्च क्षमता भने बढाउन सकेको छैन । आव ०७५/७६ मा कर्णालीले २८ अर्ब २८ करोड २८ लाखको बजेट ल्याएको कर्णाली सरकारको आव ०७६/७७ मा आकार बढेर ३४ अर्ब ३५ करोड ३७ लाख ७२ हजार पु¥यायो । आव ०७७/७८ मा ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको कर्णाली सरकारले आव ०७८/७९ मा ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

आव ०७९/८० मा अघिल्लो आवको भन्दा घटाएर ३२ अर्ब ६१ करोड ६१ लाख ३६ हजारको बजेट बनाएको प्रदेश सरकारले आव ०८०/८१ मा ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट ल्याएको थियो । आव ०८१/८२ मा ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट ल्याएको सरकारले चालु आव ०८२/८३ मा ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको थियो । आगामी आवका लागि तुलनामा ७.२८ प्रतिशतले बजेट बढाएर ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ ।

प्रतिक्रिया