
काठमाडौँ । गुणस्तर परीक्षणको नाममा भारतले नेपाली चियालाई अवरोध गरेपछि पूर्वी नेपालका चिया उद्योग संकटमा परेका छन् । भारतले गुणस्तरको बहाना बनाएर महिनौँ दिनसम्म चिया नाकामै अडकाएर राख्ने गर्न थालेपछि नेपाली उद्योग बन्द हुन थालेका हुन् । चिया उद्योगीहरूका अनुसार निर्यात ठप्प हुँदा उत्पादित चियाले बजार नपाएपछि उद्योग नै बन्द गर्नुपरेको हो । नेपाल टी एसोसियसनका अध्यक्ष कमल मैनालीका अनुसार पूर्वी इलामका ५३ अर्थोडक्स चिया उद्योग सोमबारदेखि बन्द गरिएका छन्, भने झापाका ३० र पश्चिम इलामका २५ वटा उद्योग अगामी ४ गतेदेखि बन्द गर्ने तयारी गरिएको छ । त्यस्तै नेपाल चिया उत्पादक संघका बरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले झापाका सिटिसी चिया उत्पादन गर्ने ३० वटा उद्योग असार ४ गतेदेखि बन्द गरिने प्रस्ट पारे । कूटनीतिक पहलको लागि संघीय सरकारसमक्ष पटकपटक आग्रह गर्दा पनि केही सीप नलागेको उद्योगीहरूले बताएका छन् ।
नेपाल चिया उत्पादक संघका अनुसार भारतले हालै लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया निर्यात प्रक्रिया जटिल बनेको छ । भारतीय भन्सारमा चियाको नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाउने र प्रतिवेदन आउन १५ देखि २० दिनसम्म लाग्ने व्यवस्थाले भारतीय आयातकर्ताहरू नेपाली चिया खरिद गर्न अनिच्छुक बनेका छन् ।
भारतीय चिया बोर्डको नीतिका कारण नेपाली चियाको प्रमुख बजार नै प्रभावित भएको छ, भने भारतीय आयातकर्ताले परीक्षण प्रक्रियाको अनिश्चितता र सम्भावित जोखिमका कारण नेपाली चिया खरिद गर्न छाडेका छन् । उद्योगीहरूका अनुसार भारततर्फ निर्यात हुन नसक्दा करिब १० लाख किलोभन्दा बढी तयारी चिया उद्योगमै थन्किएको छ भने भारत पुगेको झन्डै २ लाख किलो चिया भारतीय आयातकर्ताको गोदाममै रोकिएको छ । लामो समयसम्म भण्डारण हुँदा चिया बिग्रिने र ठुलो आर्थिक क्षति हुने जोखिम बढेको छ ।
उद्योगहरू बन्द हुँदा त्यसको प्रत्यक्ष असर उद्योग, किसान र मजदुरमाथि परेको छ । हजारौँ मजदुर तथा चिया किसान प्रत्यक्ष प्रभावित भएका छन् । पूवी नेपालका सबै उद्योग बनद भए करिब ५० हजार रोजगारी गुम्ने खतरा रहेको छ, भने २० हजार किसान प्रभावित हुनेछन् । इलाममा वार्षिक करिब ६५ लाख किलो र झापामा करिब २ करोड किलो चिया उत्पादन हुने गरेको छ । उत्पादित चियाको झन्डै ९० प्रतिशत भारत निर्यात हुँदै आएको छ ।

१० महिनामा सवा ३ अर्बको चिया निर्यात
चालु आर्थिक वर्षको १० महिनामा ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको ११ हजार ४०० टन चिया निर्यात भएको छ । गत आर्थिक वर्ष २०८१–०८२ मा साढे ४ अर्बको चिया निर्यात भएको थियो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार आवमा १ करोड ५६ लाख केजी चिया निर्यात गरेर नेपालले ४ अर्ब ५९ करोड रुपैयाँ वैदेशिक मुद्रा आर्जन गरेको थियो । यसअघिका वर्षहरू आर्थिक वर्ष २०७५–०७६ मा ३ अर्ब २९ करोड रुपैयाँ बराबरको १ करोड ५० लाख केजी चिया निर्यात भएको थियो ।
आव २०७६–०७७ मा २ अर्ब ७८ करोड रकम बराबरको १ करोड ११ लाख केजी, आव २०७७–०७८ मा ३ अर्ब ७९ करोड रुपैयाँ बराबरको १ करोड १९ लाख केजी, आव २०७८–०७९ मा ३ अर्ब ४३ करोड रुपैयाँ बराबरको १ करोड २४ लाख केजी, आव २०७९–०८० मा ३ अर्ब ९३ करोड रुपैयाँ बराबरको १ करोड ६५ लाख केजी र आव २०८०–०८१ मा ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको १ करोड ३९ लाख केजी चिया निर्यात भएको थियो ।
९ करोडको आयात
त्यस्तै, गत आर्थिक वर्ष २०८१–०८२ मा ९ करोड रुपैयाँ बराबरको १ लाख १३ हजार केजी मात्र चिया नेपालमा आयात भएको छ । नेपालमा चिया खेतीको इतिहास १६३ वर्ष पुरानो रहेको छ । आव २०८१–०८२ को तथ्यांकअनुसार नेपालमा कुल २० हजार ६०२ हेक्टर जमिनमा चिया रोपण गरिएको छ ।
संसद्मा उठ्यो संकटको विषय
सांसदहरूले चिया उद्योगमा देखिएको संकटसमाधानको लागि तत्काल कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरूले समस्या समाधानका लागि प्रभावकारी पहल गर्न माग गरे ।
प्रतिनिधिसभामा सांसद नरेन्द्रकुमार केरुङले भारतीय पक्षको अवरोधका कारण चिया उद्योग बन्द हुने अवस्था आएको भन्दै सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने माग गरे । उनले उद्योग बन्द हुँदा श्रमिकको रोजगारी गुम्ने र उत्पादित चिया खेर जाने अवस्था सिर्जना भएको बताए ।
राष्ट्रियसभा बैठकमा सांसद सोमनाथ पौडेलले पूर्वी नेपालबाट भारत निर्यात हुँदै आएको चियामा भारतीय पक्षबाट अवरोध सिर्जना हुँदा चिया उद्योग संकटमा परेको बताउँदै समस्या समाधानका लागि कूटनीतिक तथा प्रशासनिक पहल गर्न सरकारसँग आग्रह गरे ।
प्रतिक्रिया