
पोखरा । भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै नेपालको पर्यटकीय राजधानी पोखरा यतिबेला पर्यटकले भरिभराउ बनेको छ । विशेष गरी लेकसाइड क्षेत्रमा पर्यटकको चहलपहल बढेसँगै डुंगा सयर, पदयात्रा तथा अन्य पर्यटन गतिविधि पनि सक्रिय बनेका छन् ।
डुंगा व्यवसायीहरूका अनुसार फेवातालमा एकै दिन पाँच हजारभन्दा बढी पर्यटकले डुंगा सयर गरेका छन् । अन्नपूर्ण क्षेत्रलगायत आसपासका विभिन्न पदमार्गहरूमा पनि भारतीय पर्यटकको उल्लेख्य उपस्थिति देखिएको छ ।
पर्यटकको बढ्दो चापसँगै पोखराका अधिकांश होटलहरू भरिभराउ भएका छन् । सामान्यतया ‘अफसिजन’ मानिने यस अवधिमा समेत पर्यटकको संख्या उल्लेख्य रूपमा बढेपछि पर्यटन व्यवसायीहरू उत्साहित बनेका छन् ।
पर्यटन क्षेत्रका सरोकारवालाहरूका अनुसार वैशाखयता भारतीय पर्यटकको आगमन निरन्तर बढिरहेको छ । उनीहरूका अनुसार यो अवस्था नेपालको पर्यटन उद्योगका लागि सकारात्मक र सुखद संकेत हो ।
होटल व्यवसायीहरूले विगतका वर्षहरूको तुलनामा यस वर्ष भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको बताएका छन् । नेपाली नयाँ वर्षयता सुरु भएको पर्यटक आगमनको लहर जेठ महिनाको अन्त्यसम्म पनि निरन्तर कायम रहेको जनाइएको छ ।
पोखरा मात्र नभई गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू, विशेषगरी मुक्तिनाथ तथा विभिन्न पदयात्रा मार्गहरूमा समेत भारतीय पर्यटकको संख्या उत्साहजनक देखिएको छ । भारतमा बढ्दो गर्मीबाट राहत खोज्न तथा बिदाको सदुपयोग गर्न भारतीय नागरिकहरूले नेपाललाई आकर्षक र सहज गन्तव्यका रूपमा रोज्न थालेका छन् ।
पर्यटन व्यवसायीहरूका अनुसार भारतीय पर्यटकको बढ्दो आगमनले पोखरा तथा समग्र नेपालको पर्यटन उद्योगमा नयाँ उत्साह थपेको छ ।–तस्विर नेपाल फोटो लाइब्रेरी













प्रतिक्रिया